म आफूलाई निरोगी र अक्षयी स्वस्थको धनी मान्थें । यो धारणा कसरी विकास भयो म भन्न सक्तिनँ । सायद पहाडी जिल्ला खोटाङ्गमा जन्मेर त्यहाँको उकाली ओरालीहरुलाई वर्षेनी जस्तो छिचोलेको भएर होला । नभए "शरिर आत्माको दास हो, बलियो आत्मबलले जस्तै कठीनतम् कार्य पनि शरिरले सफल गर्छ" भन्ने मेरो मस्तिष्कमा गडेको विश्वासले हुन सक्छ ।
साँच्चै भन्दा मैले शरिरको ब्यायामलाई भन्दा मन मस्तिष्कको ब्यायामलाई सधैं प्राथमिकता दिएँ । फुर्सदमा या त म संगीतमा रमाउँथें या अध्ययनमा । मेरो अस्वस्थताको आभास मलाई त्यो बेला महशुस भयो जब मैले त्यस समयकी प्रेमिका, हाल कि पत्नी रेनुको प्रेरणामा बिहानी दौड लगाउन थालें। जाडोका ती झिसमिसे बिहानीहरुमा पोखराको दिपेन्द्र रंगशालाका एथ्लेटिक्सका ट्रयाकहरुमा लाहुरे भिड्ने जवानहरु डफ्फा डफ्फामा कठोर शारिरिक परिश्रम गरिरहेका हुन्थे । म र राजकुमार पनि बाइकमा हुँइकिएर त्यहाँ दौड लगाउन पुग्थ्यौं । २ वा ३ फन्को मारे पछि मेरो श्वास प्रश्वास नै बन्द होला जस्तो गरी छाति दुख्थ्यो र म थलो पर्थें, राजकुमारले भने ७, ८ फन्को आरामले लगाउँदथ्यो । मैले त्यसलाई गंभीरताको साथ लिइनँ । सोंचें शारिरिक ब्यायामको बानी नपरेकोले त्यस्तो भएको हुन सक्छ । निक्कै समय बितिसक्दा पनि त्यही समस्या दोहोरिरहे पछि मैले महेन्द्र पुलका एक मुटु रोग विशेषज्ञसँग जाँच गराएँ, इको गरेर उनले भने "तपाईंको एओर्टिक भल्भ केही साँघुरो छ, तर यो सामान्यरुपमा कति मानिसहरुमा हुन्छ नै । कठोर शारिरिक कार्य नगर्नुस् ।" यति भनेर उनले केही औंषधी दिएर पठाए । उनको सल्लाह मुताबिक मैले दौड लगाउन छोडिदिएँ, उनले दिएका औंषधी पनि केही दिन खाएर बेवास्ता गरिदिएँ । उनले यो समस्या सामान्य नै भएको आश्वसनले म पूर्ण रुपमा आश्वस्त भएको थिएँ ।
समयक्रमसँगै जिन्दगीमा स्वाभाविक बद्लावहरु आए । प्रेमिका पत्नी भइन्, देश छोडेर विदेश लागियो । हङकङमा हाम्रो "काम-घर" को दैनिक तालिका थियो, कहिलेकाहिं रेनु र म ब्याडमिन्टन खेल्न जान्थ्यौं, केही समय खेले पछि मेरो छातिको दुखाइले थलो पर्थें, त्यसै पनि राम्रो खेल्ने उनले मलाई हराइहाल्थिन् । मेरो यस्तो अवस्था देखेर उनी चिकित्सकलाई देखाउन जोड गर्थिन्, म भने "नेपाल गएको बेला देखाउँला नि, यहाँ देखायो भने त ४, ६ महीना पछिको अपोइन्टमेन्ट दिन्छ, रोगले मान्छे बितिसक्दा पनि पालो आउँछ कि आउँदैन " भनेर म टारिदिन्थें । वास्तवमा भन्ने हो भने, पोखराको त्यो डाक्टरले यो सामान्य समस्या भनेको कुरामा म विश्वस्त थिएँ । एकपटक टन्सिल भएर नजिकैको क्लिनिकमा चिनियाँ डाक्टरलाई देखाउन जाँदा छातिमा स्टेथेस्कोप राखेर " तिम्रो मुटुको कुनै समस्या छ?" भनेर सोधेपछि मैले सहज भनिदिएँ " दुई तीन वर्ष अघि जचाउँदा नेपाली डाक्टरले एओर्टिक भल्भ केही सानो छ तर यो चिन्ताको विषय भने छैन भनेर भनेका थिए ।" डाक्टरले टन्सिलका औंषधीका साथै मुटु रोग जचाउन सल्लाह दिए । श्रीमतीको परीक्षा र नेपालमा आफन्तहरुलाई १५ महीने छोरी भेट्टाउन नेपाल जाँदै थियौं, नेपालमा प्राथमिकताका साथ स्वस्थ परीक्षण गर्ने भन्ने हाम्रो सहमति भयो ।
नेपाल पनि गइयो, तर गएको केही दिनमा एक बिहान मेरो ढाड सड्के पछि ओछ्यानमा थलो परें । केही दिन डाक्टरको औंषधी खाएपछि केही सामान्य भयो । छोरीलाई काठमान्डौको चिसोले छोयो क्यार, रोएको रोयै गर्न थाली । उनलाई डाक्टर देखाउँदा र दन्तरोग विशेषज्ञ देखाउँदा र पारिवारीक भेटघाटमा बाँकी समय बित्यो ।
हङकङ फर्केपछि फेरि रेनुले करकर गर्न थाली, "खोइ त शारिरीक जाँच गराएको?" अब भने मसँग कुनै बहाना बाँकी रहेन र छुट्टीको दिन पारेर नजिकैको या मा तेइ जक्की क्लबको क्लिनिकमा देखाउन भनी गएँ । प्रारम्भिक जाँचमा इ सि जी गरेर डाक्टरले मुटुरोग विशेषज्ञलाई रेफर गरे , ४ महीना पछिको अपोइन्टमेन्ट पाउन सफल भएँ ।
No comments:
Post a Comment