Mera Kura Haru - मेरा कुराहरु

List


४२. भाषाको कुरा
४१. तेरियाको कुरा
४०. 'आज रमिता छ' को कुरा
३९. ज्ञान दाइ हराउँदाको कुरा
३८. कोकु * र नातिनीको कुरा 
३७. फेरि चाउचाउकै कुरा
३६.मुटु सम्मेलन -१ को कुरा
३५. भिनाजुको कुरा
३४.समीक्षक समाजको "पुस्तक विमर्श" कार्यक्रम -भाग १
३३. प्रश्नहरुको कुरा
३२. परेली 'र' र परेलीको आकाशको कुरा
३१. सि के राउत 
३०.  हङकङमा आन्दोलन
२९. रचिदा - हाम्री छोरी भाग १
२८. रचिदा - हाम्री छोरी भाग २
२७. मुटुको ब्यथा - १
२६. मुटुको ब्यथा - २
२५. एउटा चोरिएको गीत र थेराको कुरा
२४.  गीत फुल्ने ठाउँको कुरा
२३. किताबको कुरा
२२. राजीनामा
२१. स्वास्थ्य परीक्षा
२०. डबल भैइया
१९. आज छुट्टीको दिन
१८. राजु र अमर
१७. उनकी साथीको ड्याडी र ममीको
१६. नीति - नियमको कुरा
१५. हङकङ झापा मञ्चको प्रथम साँगीतिक साँझको कुरा
१४. बाल साहित्यको कुरा
१३. तर्क वितर्कको कुरा
१२. छोरीहरुको कुरा
११. अफिसमा एक्लै हुँदाको कुरा
१०. एउटा हँसिलो साथीको कुरा
९. पागल/बौलाहाको कुरा
८. नानीहरुको कुरा
७. "मोरीसँगका मंगलबारहरु" - एउटा बूढो , एउटा जवान र जिन्दगीको सबैभन्दा महत्वपूर्ण पाठ
६. बगैंचा डट कमको श्रृजनशील साहित्य जलयात्राको कुरा
५. सुरेशकुमार - ए ह्यापी एन्डिङ् स्टोरी
४. "बन्चरे जीवनको कुरा"
३. सागर बस्नेतजीलाई
२. सलुनका कुरा
१ . पानी परेको दिनको कुरा



४२. भाषाको कुरा

---
"ए नाति किन स्कूल नगाको?"
"जिबा, आज स्कूल नलागे"
मेरी मुवाले मेरो बारेमा प्राय: सबैलाई सधैं सुनाउनु हुने हाँसो हो यो । नेपाली मेरो मातृभाषा होइन, पहाडको राई बस्तीमा गैह्र राई पनि बान्तावा भाषा बोल्दथे । पछि चार-पाँच वर्षको हुँदा मधेस बसाइ सारिएपछि, पर्वते भाषा सिक्नु पर्यो । अनि म धेरै हाँसोको पात्र भएँ ।
हामी जस्तो विकाशशील मुलुकको विकाशशील जातिले एकै भाषा सिकेर जिउनु संभव छैन । त्यसैले नेपाली भाषा जानेपछि फेरि अंग्रेजी भाषा पनि सिक्नुपर्यो । अङ्ग्रेजी सिक्ने क्रममा कक्षा ३ हुँदा "Certainly sir" लाई "Curtainly Sir" भन्दा बुवाको थप्पड भेटेको पनि छु । अरुबेला साह्रै रिसालु भए पनि मातेको बेला बुवा साह्रै असल, मधेसमा बाटोमा मातेर हिँड्दा "ओ भैइया, क्या भ्या?" भनेर हिन्दी बोलेको किस्सा पनि निक्कै चलेको हो गाउँघरमा ।
छिमेकी देशको हिन्दी भाषा जानिएन भने नागराज, सुपर कमान्डो ध्रुव, बाँकेलाल, हवल्दार बहादुर, डोगाका कमिक्स पढ्न नपाइने, र त्यो पनि जान्नु पर्यो । तर बालापनको दिमाग तेज हुँदो रहेछ, त्यसैले नै बालबालिकालाई काँचो माटो भनिएको होला, सिके जति सन्तोषप्रद जानियो । रोजगार र अवसरको लागि हङकङ आइयो, अहिले चाइनिज कक्षा दोस्रो लेभल सकिँदा पनि साधारण संवाद गर्न जानिएन । चाइनिजको प्रसंगमा, निर्माण क्षेत्रमा काम गर्ने साथी विकास भर्खर हङकङ आउँदाको अनुभव यसरी सुनाउछन्, " काममा चिनाले तान् तान् (अर्थ: पर्ख) भन्यो, मैले यो चिनाले नेपालीहरुको संगतमा नेपाली पनि जानेको रहेछ
भनेर बेस्सरी तानिदिएँ, गालि गरेर झन्डै मार्यो "। स्कूल पढ्दा कक्षामा अंग्रेजी शिक्षकले "बिकज्" भन्दा जुरुक्कै उठेर "यस् सर" भन्ने विकास गुरुङको अरु गफ पनि कम रोचक छैनन् ।
"बाटोमा गाड पडन्छ" (बाटोमा खोला पर्छ) ताना शर्माको "घनघस्याको उकालो काट्दा" संस्मरणमा सुदूर पश्चिमको नेपाली भाषाको दृष्टान्तको रुपमा प्रस्तुत प्रसंगले भाषा ठाउँ ठाउँको हुन्छ भनेर देखाएको छ। इन्जिनियरिङ कलेजको चौरमा "....थिएछु"
भन्दा मेरा पश्चिमका र काठमाण्डौका साथीहरुले मेरो कम गिल्ला गरेका होइनन्, "थिएछु होइन रहेछु" भन्नुपर्छ भनेर मैले कसो स्कुलमा नसिकेको रहेछु, नत्र "भाइ लोट्छ"भनेर वाक्य बनाएकोले सुरजको कम बेइज्जत गरेकी होइनन् ७ कक्षामा शान्ता मिसले
। अहिले आएर पढ्दा धेरै पूर्वेली साहित्यकारहरुले "थिएछु" प्रयोग गरेको भेट्छु र मलाई म सहि नै "थिएछु" भन्ने लाग्छ ।
"agreement of the verb with the subject" को बारेमा पूर्वेलीहरु बडो उदार भेटिन्छन्, "बाउ आयो, आमा आयो, गाइ आयो" सबै ठिक हुन्छ, शान्ता मिसको क्लासमा नगएसम्म
"British English, American English, Indian English, Chinglish, भने जस्तै नेपाली भाषालाई पनि दार्जिलिङ नेपाली, धरान नेपाली, पश्चिम नेपाली, सुदुर पश्चिम नेपाली आदि क्षेत्रीय हिसाबले मान्यता दिनुपर्छ" भन्थे छेवाङ दाइ । तेसो हुने भए शान्ता मिसको कहरबाट विद्यार्थीहरु बच्थे कि?
भाषाको उपादेयता बढि महत्वपूर्ण हो, मैले जन्मेर बोलेको बान्तावा भाषा बोल्न मैले निकै कष्ट उठाउनुपर्छ र बोल्ने साथी खोज्नुपर्छ । त्यसैले अन्तराष्ट्रिय माहौलमा उनले बाँच्नुपर्ने भएकोले हाम्री छोरीलाई हामीले अङ्ग्रेजी मात्रै सिकायौं, "तेरो छोरीसँग हामी नबोल्नू?" भनेर मुवाले गुनासो गर्नुहुन्थ्यो । तर जब उनी किन्डरगार्डेन गइन् साथीहरुले गर्दा उनले नेपाली भाषा सिकेर
आइन् । अहिले उनी "पापा, तपाईंले मलाई किन आइसक्रिम किन्डेनौ?", "कोकु तिमी हातले होइन चम्चाले खाऊ न" भन्छे, मलाई रमाइलो लाग्छ । "तँ, तिमी, तपाईं, हजुर" म उनलाई सिकाउन चाहन्नँ, मलाई विभेदकारी सम्बोधन मनपर्दैन तर उनले बिस्तारै अरुबाटै बुझ्दैछे ,"तँ" bad language हो भनेर, उनले कुनै दिन "हजुर"को चामात्कारि महत्व पनि थाह पाउलिन । मिश्रित समुदायले गर्दा उनी २ चाइनिज भाषा, नेपाली, अङ्ग्रेजी र हुँदा हुँदा उर्दू पनि बोल्न थालेकी छे । अस्ति पाकिस्तानी केटी अल्फाले हातमा मेहेन्दी लगाएर स्कूल आइछ, इर्ष्याले जलेर उनले भनी रे,"मेहेन्दी क्यूँ लगाइ है, टिचर तुमको मारी है" , बाजेकी नातिनी!
धेरै भाषा जान्नाले दिमागको देब्रे हिस्साको ग्रे म्याटर बढ्छ भनेर सुनेको छु, त्यस हिसाबमा हामी विकाशशील राष्ट्रका विकाशशील जातिको ग्रे मेटर तुलनात्मक रुपमा सबैभन्दा बढि हुनुपर्ने हो । चिनिया, कोरियन, जापानीहरु विरलै अङग्रेजी बोल्दछन् । अस्ति भर्खर हङकङको संसदमा एक नेताले "try my best" भन्न खोज्दा "try my breast" भनेछन् 



४१. तेरियाको कुरा

--------------------
मर्निङ् वक पछि कफी खान बस्दा तेरिया को कुरा निस्कियो, जे डि तामाङ दाइले तेरियाको बेस्सरी तारीफ गरे । फेसबुकभरिएको छ तेरियाको डान्सले मलाई किन हो किन जाँगर चल्दैन हेर्ने, प्रशान्त तामाङको इन्डियन आइडल त नबिराई हेरेको हुँ , बढ्दो उमेरको लक्षण हो कि ।
"एउटा दार्जिलिङको पनि रैछ त टप फाइभमा, यो चोटि नेपालीहरुको भोट बाँडिन्छ, नेपालीले जित्न मुश्किल छ"
"तेरिया गज्जब नाच्छे, क्या फिनिसिङ् दिन्छे, दार्जिलिङको त मैले हेरेको छैन", ज्ञान दाइले पनि थपे ,जे डी दाइ आइ फोनमा तेरियालाई खोज्न थाले र दिनेश दाइलाई तेरियाको एरियल डान्स देखाइहाले ।
"तेरिया त ठूली पनि त रहेछ, दार्जिलिङको त सानो उमेरको छ, उसको पनि हेरौं न" दिनेश दाइको मातृभूमि मोह देखियो, हामी सबैले त्यो महशुस गर्यौं कि मैले मात्र गरेँ खै, कसैले केही भनेनौं तर । हुन पनि जन्मभूमिप्रति मान्छेको चाहेर नचाहेर लगाव रहने नै भयो । प्रशान्त तामाङले जित्दा पनि उदित नारायणले खुलेरै प्रशान्तको पक्ष लिएकै हो । नत्र लाटोलाई पनि थाह छ, प्रशान्त उनका प्रतिद्वन्द्वीहरु जति योग्य थिएनन्, हामीलाई पनि थाह थियो तर हामी निष्पक्ष भएनौं । कला हार्यो, राष्ट्रियता, जातित्व जित्यो त्यस बखत, हामी खुशी भयौं, न्याय हार्यो ।
"फेरि हिन्दी पनि पूरै बोल्छे त हो उताकै जस्तो भैरहवाको मान्छे रे" ज्ञान दाइले थपे,
"अनि उता भैरहवा बुटवलको मान्छे त पूरै भारतीय जतिकै छन् त अस्ति जे बी ले भनेन?" दिनेश दाइले भने । मैले रेनुकी साथी मञ्जुलाई संझेँ उनले अम्बर गुरुङ, प्रेमध्वज प्रधान नचिन्दा म छक्क परेको थिएँ ,"तिमी नेपालकै मान्छे हौ? नारायण गोपाल अरुणा लामा चिन्छौ?" भन्दा उनले आफ्नो क्षेत्रमा नेपाली गीत संगीत नसुनिने बताएकी थिइन् । अहिले तेरियाले हिन्दी बोलेको सुन्दा मलाई अचम्म लागेन । उहिले भूपि शेरचनले कत्रो आँटले भैरहवाको बारे निन्दा गर्दै लेख्न सकेका होलान् भन्ने लागेको थियो, "भैंसी भै र तातो हवा ‌‌- भैरहवा" । भैरवहेलीहरुले भूपिको उछितो किन काढेनन् भन्दा त नेपाली साहित्य नै नचिन्दा रहेछन् अनि भूपिले जे लेख्दा पनि के फरक पर्यो र!
"कताबाट भोट गर्ने हो?" दिनेश दाइले जे डि लाई सोधे, जे डी ले तरिका बताए । हामीले तेरियालाई कम से कम एक भोट दिने निश्चय गर्यौं ।
घर आएर फेसबुक खोलेँ, तेरिया र फुटबल छरपस्ट थिए । "ताइ न तुइ को फुटबल हेर्नु भन्दा तेरियालाई भोट गरेर उनलाई जिताऊँ" तेरिया पक्षधरहरु लेख्दै थिए ,फुटबल समर्थकहरुले कोक्रे नानीहरुलाई पनि फुटबल जर्सी लगाइदिएर फुटबले उत्सव मनाउँदै थिए । म पनि त रोबर्टो बाजियो को फ्यान, इटलीको जर्सी लगाएर हेर्न बस्नु पर्ने, रातिको बाह्र, बिहान को तीन या छ बजे । तर अहिलेसम्म एउटै म्याच हेरेको छैन, साँच्चै बुढो भएछु । अरबमा काम गर्ने सान्दाइ र मुकेशभाइ मलाई मेसेज पठाएर अनलाइन हेर्न सकिने लिंक माग्दै थिए, तर मलाई साँच्चै थाह छैन ।
तेरियाको भिडियो हेरेँ, पानीमा नाचिसकेपछि उनले आफ्नो गुरुलाई बुध्द मूर्ति दिए र आफ्ना आफन्तहरुलाई नेपालमा भेटेको आमाको हातको मोमो खाएको देखेर मलाई पनि छोयो, आँखा ओसिलो भयो । तर उनलाई भोट गर्ने जाँगर चलेन, मलाई नृत्य थाह छैन, पूरै कार्यक्रम पनि हेरेको छैन र अरु उनको प्रतिश्पर्धीको बारे पनि थाह छैन । हिन्दी भाषा र संस्कृति विरोध पनि होइन, रेनुले "कमेडी नाइट विथ कपिल" हेर्दा म पनि साथ दिन्छु । मलाई पुष्पा बस्नेत सि एन एन हिरो जित्दा पनि खुशी लागेन, मैले भोट पनि गरिनँ । ७ वर्ष देखि १४० कारागारका नानीहरुलाई भरनपोषण गर्नु ठूलो कुरा हो तर उनले त्यो उपाधि जित्दा १० वर्ष देखि २ हजार भन्दा किशोरी आमाहरुलाई सेवा प्रदान गर्ने एस्कोबारमाथि, अफ्गानिस्तानको जोखिममा महिला शिक्षामा काम गर्ने रजिया जान माथि वा ८ सालदेखि हेइटीका ४ हजार भन्दा बढि रेप भिक्टिमहरुलाई सहारा दिने माल्या माथि अन्याय भएको महशुस गरेँ । अनुराधा कोइरालाले सि एन एन अवार्ड जित्दा मैले उनका प्रतिश्पर्धीलाई यसरी हेरेको थिइनँ तर उनीसँगै म पनि भावविव्हल भएको थिएँ । हामी भोटिङ् गर्नमा अब विश्वमै परिचित हुने भयौं, रविन्द्र मिश्रलाई समाजसेवा गर्ने पैसा चाहिए पनि भोट गरिदिन्छौं, कुनै परियोजनामा, कुनै पनि आफूसँग सम्बन्धित/असम्बन्धित, आफूलाई थाह भएको/नभएको प्रतियोगितमा पनि भोट गरिदिन्छौं । भोटिङ गरेर देश विकसित हुने भए नेपाल अमेरिकालाई उछिनिदिन्थ्यो ।
ममा राष्ट्रियता ह्रास त हुँदै छैन कतै?
"सुरेश गुरुङले जितेछ नि चिनालाई लडाएछ बक्सिङमा" म गर्वका साथ भन्छु,
"त्यो त हो, तर तेसरी नेपाली झन्डा ओडाइ चाहिँ नहाल्नुपर्ने" ज्ञान दाइ चिन्ता ब्यक्त गर्छन् ।
हामी यहाँ हङकङमा बसेर चिनाहरु समान अधिकार पाउनुपर्ने वकालत गर्छौं फेरि भाववेशमा आएर नेपाली झन्डा फहराउन पछि पर्दैनौं, एकैछिन स्थानिय चिनाहरुको ठाउँमा आफैंलाई राखेर सोँच्दा पनि अमिलो लाग्छ । कुनै समय एकराज जी, देवराजजीहरुले नेपाली सप्ताह गर्दा म्युजिक भिडियो शुट गर्ने अवसर लिन खोज्दा वहाँहरुले "प्लीज नेपाली झन्डा चैं नबोक्नुस्" भन्दा मन कति अमिलो भएको थियो मेरो । खै कति दिन हो नेपालबाहिर बसे, स्वत: गैह्र आवासीय नेपाली भइने सरकारी नीति छ भन्दै एन आर एन का साथीहरु सदस्यता बाँड्दै थिए । हामी यहाँ कुहिरोको काग भएका छौं , नेपालका ले जा जा विदेशले आइज आइज भन्दैछ, फेरि नेपाली झन्डा छोड्ने पक्षमा पनि छैनौं, नेपालका तराइवासीले भारतीय झन्डा लिएर खेल मैदानमा आए हामीलाई सह्य होला? बिचरा चिनाहरु भित्रभित्रै त मु्र्मुरिए होलान् नि, नेपाल सरकारको प्रतिनिधित्व गर्दै उनी खेलेका हुन र? सुरेशले गल्ति नै गरे कि जस्तो लाग्यो । नयनराज पाण्डेको उपन्यास "लु" मा पात्रले भारतीय झन्डाको कट्टु लगाएको प्रसंगले दार्जिलिङे कवि मनोज बोगटीको चित्त बिझाएको प्रसंग लेखेका छन् कान्तिपुरको एक लेखमा । सिमानाका नेपालीको कथा ब्यथा पढेर पीडित पात्रले तिरंगाको कट्टु लगाएको उनलाई कस्तो लाग्यो कुन्नि सोध्न पाएको छुइनँ । तर राष्ट्रियता संवदेनशील र विवादास्पद कुरा हो, मनोज आफैले पनि काफरे अमेरिका लेखेर, वाचेर वाहवाही लुटेका छन् त ।
मेरो अन्तर्मनको दुविधालाई सागर बस्नेतको फेसबुक स्ट्याटस्ले केही राहत दियो, उनले लेखे "मैले तेरियालाइ भोट गरिन, मलाइ अन्तमनले नै नगर भन्यो। कारण थाह छैन! दुईचार चोटि लाइक गर्ने ठाउसम्म पुगेर पनि फर्किए। अब मलाइ मान्छेहरुले राष्ट्रघाती, देशद्रोही पनि भन्न सक्छन, भनुन। मेरो पाप, धर्म मै सङ्ग छ। तेरियालाइ भोट र प्रचार नगरे बापत कुनै दण्ड सजाय पाईन्छ भने भोग्छु, सहन्छु तर मनले नमानेको कुनै काम लहैलहैमा गर्दिन। स्वतन्त्र देशको सार्वभौम नागरिक हु ।"
उनको उज्वल भविष्यको निम्ति पनि हामीले भोट गर्नुपर्ने तर्क दिँदै थिए । मैले कल्पना गरेँ उनको प्रतियोगिता पछि उनको भविष्य, तेरियालाई महँगा होटलहरुमा नाच्दै गरेकी, संभ्रान्त र सम्पन्नहरुको ब्यापार वृध्दिको साधन भएकी, भद्दा कपडा र भद्दा अभिव्यक्ति दिँदै धन र चर्चा बटुलेकी । काठमाण्डौकी कुमारी राख्ने प्रचलन भन्दा भयानक तेरियाको त्यो भविष्य उज्जवल लागेन मलाई, मैले बुझेको धर्म त्यस्तो होइन, कला त्यस्तो होइन । सायद म मूर्ख हुँ ।



४०. 'आज रमिता छ' को कुरा

-------
सन् १९५८ मा लेखिएको उपन्यास आज बल्ल २०१४ मा पढिभ्याएँ । सुब्बा सापको "आज पनि रमिता छ" ले यो उपन्यास पढ्न लालयित बनायो नत्र धेरै वर्ष अघि केही पन्ना पल्टाएर छोडेको हुँ । केही कुरा तपाईंको कसैले बुझिदिएन भने हैरान नहुनुहोस् उचित समय र परिस्थितिमा उसले बुझ्ने रहेछ , पन्ना पल्टाएको डेढ दशकपछि मैले यो कथा पूरा पढेँ र बुझेँ । केही दिन पहिले प्रखर कवि मनोज बोगटीले आइ बि राई सम्बन्धि छलफल चलाउनु भएको थियो फेसबुकमा , त्यसले पनि मलाई आइ बि राई पढ्न उत्प्रेरित गर्यो । आइ बि राई हस्ताक्षरित ' इन्द्र संपूर्ण ' जुटाइदिनुहुने समर गुरुङ दाइप्रति धन्यवाद छ।
पढिसकेर मैले भन्न सकिनँ मलाई कुन पात्र सर्वाधिक मन पर्यो, सबैका कथा रोचक र मन छुने । मूल पात्र जनक, उसकी पत्नी सीता, छोरा रवि, छिमेकी एम के, सबै सबै आँखामा सजीव भएर आउँछन् । चलचित्रको पक्षपाती मलाई यो उपन्यासले उपन्यास चलचित्र भन्दा कैयौं गुना उपल्लो स्तरको कला हो भन्ने मान्न कर लाग्यो ।
एम के लाई डिप्रेशन छ र हुँदोखाँदो जागिर छोडिदिन्छ । एम केले नेपालबाट शिक्षक खोज्न आएका ब्यक्ति सँग गर्ने संवादले नेपालको ६ दशक अघि र वर्तमानमा फरक नआएको महशुस गराउँछ । अझैसम्म महिनौंसम्म तलब नपाई पनि काममा जोतिइरहनुपर्ने अवस्था छ । फेरि उधारी र बेकारीमा पत्नीसँग झगडा गरिरहने एम के नियुक्तिपत्र पाएपछि त्यही पत्नीलाई भन्छन्,' ताजमहल बनाउने पैसा पो छैन, प्रेम त म शाहजहाले भन्दा धेरै गर्छु ।'
रविको एकतर्फी प्रेम र उसले पार्थिवसँग गर्ने संवादहरु रोमाञ्चक छन् । फेरि उग्रजातिवादी भुदेव झिंगामा पनि भेद देख्छन् र भन्छन्,'इन्डिया का झिँगाहरु फोहर खाएर किटाणु सार्ने हुन्छन् तर हाम्रो पहाड को दही दूधमा खेल्ने झिंगा त्यस्ता होइनन् ।'
साडे पाँच दशक अघि प्रकाशित आज पनि कति सान्दर्भिक छ हेर्नुहोला नमुना पंक्ति :
नेपाल तराईमा शालको वन छिचोल्नासाथ भारत शुरु हुन्थ्यो । बुढाखाडाहरुलाई पछि पारेर जनक र सीता अघि अघि हिंड्न लागेका छन् । भरियाहरु अझै पछि थिए । स्वर्णिम पंख फिंजाउँदै एउटा भाले मुजुर अघिदेखि बाटो देखाउँदै झैँ हिँडिरहेको छ । पावा कोष बाटो हिँडिसकेर पनि त्यो यताउताको बाक्लो वनमा पस्दैन । खसिराखेको बाटोको थुर टिपेर जनकले झटारो हाने झैं गर्यो । भाग्दैन । निर्भय छ त्यो मुजुर यात्रीहरुदेखि,सायद क्लान्त पथिकहरुको ममतासँग त्यो परिचित छ । भारतको भूभाग शुरु भयो ।
जनक दगुरे एक्कासि । सीता छक्क परिन् । हेर्दाहेर्दै जनक देखिएनन् ।
पछाडिएका सबै आइपुगे । कसैले भन्यो :
' नेपाल राज सकियो अब पक्रदैन भनेर मुजुर समात्न दुगुरेको ।'
धेरै पछि स्याँ स्याँ भएर फर्के जनक । सबका आँखाले तिनलाई प्रश्न गरे ।
'त्यो मुजुर देख्नुभो ,कस्तो पाजी' रनक्क रिसाउँदै भने जनकले ' हामी त पस्यौं पस्यौं स्वदेश छोडेर, त्यो मुजुर पनि हामी जस्तै मुग्लान पस्न लागेको!खुब चक्कर लाएर खेदेर नेपाल भित्रै हालिराखेको छु । हामी त प्रवास पस्यौं पस्यौं वनका पशुपंक्षीले पनि यसरी स्वदेश छोड्न थाले कति दिन रहन्छ नेपाल ?'


३९. ज्ञान दाइ हराउँदाको कुरा

--------------
सदा झैं भ्यार (बियर, हङकङमा चल्तिको भाषा) खाएर फुलिएको भ्यागुते भुँडीलाई थोरै भए पनि कटौति गर्न काउलुन पार्कमा सिट अप गरिओरी के एफ सिको कफी र क्रोसेन खान पुग्यौं ज्ञान दाइ र जे डी दाइसँग । जे डी दाइले तेरियाको कुरा निकाले अनि सानी केटीको सफलतालाई राजनैतिक रंग दिइएकोमा खेद ब्यक्त गर्न थाले, ज्ञान दाइ भन्दै थिए "तेरिया वास्तवमै जितको हकदार थिइन्, चार भोट त मैले पनि हालेँ" । जे डी दाइ, हामीलाई तेरियाको बालापनदेखिको संघर्षको कुरा देखाउँछु भनेर फोन कोट्याउन थाले, म पनि कफी पिउँदै फेसबुकमित्रहरुसँग कमेन्ट् साटासाटमा भुलिएँ । ज्ञान दाइ उठेर हिँडे, शौचालय गएको अनुमान गर्यौं हामीले ।
मैले सुब्बा सापको भ्यार खाएर फुलेको ट्युब जस्तो भुँडी समुद्रमा हामफालेर आत्मदाह गर्न खोज्ने स्पेनी फुटबल फ्यानको बाधा भयो भन्ने चाउचाउ कविता वाचन गरेर जे डी दाइलाई सुनाएँ, उनी हाँसे, यसरी सुब्बा सापले हाम्रो तनावपूर्ण जिन्दगीमा साहित्यको माध्यमले थोरै भएपनि राहत बाँडेका छन् । उनले मलाई तेरिया गाथा सुनाए, क्रोसेन सकियो,कफी सकियो । निक्कैबेर भयो ज्ञान दाइ हराए । फोन रिङ नो आन्सर् , बारबार प्रयास । आधा घन्टा भइसक्यो, क्रोसेन खाइसकेर गएका ज्ञान दाइ फर्केनन्, उनको कफीको कप भरिको भरि थियो । अब हामी गंभीर हुन थाल्यौं, के एफ सी को स्टाफ ट्वाइलेटमा खोज्ने कोशिस गर्यौं, बन्द थियो । बाहिर तिेर निस्केर फोन गर्ने प्रयास गरिरह्यौं।
"यस्तो त दाइले नगर्नुपर्ने, कम से कम जाँदैछु त भन्नुपर्ने"
"कि तपाईंले दाइलाई रीस उठाउनु भयो? मेरो त खुट्टा छोटो छ, कतै तपाईंले दाइको खुट्टा त किल्चिदिनु भएन?"
ठट्टा गरे पनि विषय अब साँच्चै गंभीर भइसकेको हामीले महशुस गरिसकेका थियौं, फोन उठ्दैन, मान्छे लापता भएको आधा घन्टा भन्दा बढि भइसकेको थियो ।
"लु अब उनको पसलमा जाऊँ"
"होलान् र त्यहाँ? त्यसरी हामीलाई छोडेर गए होलान् र?"
ज्ञान दाइ मुडी गायक हुन् के थाहा, उनलाई मुड चलेन भने खुट्टै ढोगे पनि गाउँदैनन् । उनका बाजाहरुलाई ज्यानभन्दा प्यारो गर्छन्, त्यसैले दुर्घटनाको संशयले जो कोही उनको बाजा छेउ जानै डराउँछ । उनी गंभीर कलाकार हुन् ।
"हामी फोनमा बिजी भएर पो माइन्ड गरे की? तेरिया तेरिया मात्रै भन्यौं, मुलाहरु मेरियाको कुरा गर्दैनन् भनेर हिँडे कि?"
मैले भनेँ ।
" तर दाइले नै हेर्ने भनेर मैले फोन कोट्याएर कत्रो मिहेनतले खोजेको ।" जे डी दाइले भने।
"तर हुन पनि हो है, चन्द्रमाको उज्यालोको बखान गरेर नजिकमा बसेर उज्याल्ने बत्तीलाई हेला गर्ने हाम्रो बानी हुन्छ रे ।" जे डी दाइले थपे ।
"हङकङ नेपालीका वरिष्ठ गायक हुन् ज्ञान दाइ, यसरी हराए भने त हामी पो फन्दामा पर्छौं है" मैले भनेँ ।
"त्यही त, फिल्ममा ब्ल्याकमेलरको निर्देशनमा हिँडे जतिकै बिना सुचना यसरी गायब भए त" । हङकङ सुरक्षाको हिसाबले अति सुरक्षित सहर भए पनि "ताइलो"हरुको चकचकी यदाकदा पढेकै हो ।

कुरा गर्दै अनेक शंका, उपशंका अनि मजाकहरु थप्दै संगम स्टोर पुग्यौं, यताउति हेर्दै छोरीलाई मैले सोधेँ,
"ज्ञान दाइ हुनुहुन्छ?"
"हुनुहुन्न"
त्यसपछि जे डी दाइ र म मुखामुख गर्यौं, "के गरौं त?" एक घन्टा भइसक्यो दाइ हराएको । ताज्जुब मान्यौं, संभावनाहरु केलायौं । " अब के पुलिसलाई खबर गर्ने त?"
"त्यति साह्रो त नपर्ला कि अहिले नै । बरु छुटौं भरेसम्म खबर आएन भने सोचौंला ।"
ज्ञान दाइको फोन बज्यो, हत्तपत्त उठाएँ ।
"हेलो, रबिन । म त ट्वाइलेट खोज्दा खोज्दै घर आइपुगेँ हौ । लु भोलि भेटौं है ।"
हङकङमा प्रशस्तै सार्वजनिक शौचालय छन् र पनि केही समय अघि पारिका एक चीना दम्पतिले सडक किनारामा आफ्नो शिशुलाई शु गराएको विषयमा हङकङवासी र चीनवासी बीच ठूलै रडाको मच्चिएको थियो । वारीकाले पारिकालाई असभ्य भने, पारिकाले वारिकालाई सानो बच्चा प्रति पनि सहानुभूति नराख्ने हृदयहीन भनेका थिए । पारिका मूल चिनाहरुले विरोध स्वरुप हङकङका नेताहरुलाई विष्टा नै पार्सल गरेर पठाएका थिए । झगडाले गर्दा हङकङ सरकारले शौचालय संख्या बढाउने घोषणा गरिसकेको छ । के साँच्चै हङकङमा शौचालयको कमी भएकै हो त नत्र ज्ञान दाइ त्यसरी भरि कफी कफ छोडेर किन हराए?
जे भने नि उनी भेटिए, मलाई सानो छँदा खरायो हराउँदा चिन्ताग्रस्त बालकको गीत याद आयो,
"मेरो सानो खरायो
आज कता हरायो?
हिँजो सँगै खेलेथ्यौं
स्याल आइ लग्यो कि
खाटमुनि लुक्यो कि?"
यो गीतमा जति प्रयास गरे पनि बिचरा त्यो बालकले खरायो भेट्दैनन्, भेट्नू नि भन्ने मलाई सधैं लागिरहन्छ ।
"लु अब, मेरो बेइज्जत गर्यौ रबिन, तिमीले त्यस्तो नलेख्नुपर्ने" भन्लान् दाइले त्यसैले उनको गीतको प्रचार गरेर उनलाई खुशी बनाउने कोशिस स्वरुप उनको स्वरको यो गीत ।
Lyrics : Dr.Yubaraj Bhattarai Music : Dinesh Subba Director: Alok Nembang Artist : Gyan Subba (Thebe), Neelam chand and anil Thapa Rights for this video for ...
YOUTUBE.COM




३८. कोकु * र नातिनीको कुरा 

-----------
खै किन हो मेरी छोरी नेपाली भाषामा विशेष अभिरुचि देखाउँछे ।
' कोकु कोकु, नुडल्स लाई नेपालीमा लेख त ' मेरी फुपूलाई उ भन्छे ।
' नुडल्सलाई नेपालीमा चाउचाउ भन्छ छोरी' म दख्खल दिन्छु ।
' तिम्रो चाइनिज मा abcd लेख त'
'त्यस्तो त हुँदैन । तपाई लेख न नेपालीमा abcd' । चिनियाँ भाषामा साँच्चै अक्षर हुन्नन्, शब्दहरू हुन्छन् ।
'नेपालीमा त कखगघ हुन्छ ।'
'ककगग लेख त'
फूपू के सोचेर नेपाली गन्ती सिकाउन खोज्नुहुन्छ ।
' मलाई थाह छ , एक डुइ तीन चार पाच छौ एघार दस नो' फूपू हाँस्नुहुन्छ ।
रेनु परीक्षा दिन नेपाल गएकी छे, त्यस समयमा हामीलाई साथ दिन फुपू नेपालबाट आउनुभएको छ ।आएदेखि नै रचिले फुपू लाई रुचाएकी छे, ५ पुग्न आँटेकी उनलाई साथी हरदम चाहिन्छ । केही साल अघि जवान छोरा गुमाएकी फुपूलाई उ आफ्ना कुराहरुले एकान्त हुनै दिन्न ।
' कोकु, हामी खेलौं न' मरमेड डल फुपूलाई दिई आफू बार्बी समाउँछे अनि काल्पनिक संवाद शुरु हुन्छ , कहिले आमा छोरीको भुमिकामा, कहिले बिउटीसियन र ग्राहकको भुमिकामा ।
' कस्टमरलाई तपाईं , आउनोस् बस्नोस् भन्नुपर्छ अनि पो सधैं आउँछ त।'
'रचिदाको ममी कहिले आउँछिन्?' स्कुलकी शिक्षिका चिन्ता जनाउँछे । हामीले उनको गयल हाजिरी मा केही होमवर्क छुटाएका छौं र चिना भाषालाई बेवास्ता गर्न बाध्य छौं किन कि मलाई चाइनिज लेखन ठ्याम्मै आउँदैन । तर मलाई खुशी छ फुपूको हङकङ भ्रमणले उनलाई यथेष्ट बौद्धिक खुराक मिलेको छ । केही दिन अघि स्कुल जाने हतारोमा रुमभित्रै साँचो छुटेर हतासिएको मलाई उसले देखेकी छे, आजकाल बाहिर निस्कँदा सधैँ याद दिलाउँछे।
'म तिम्रो पापाको पापाको सिस्टर हो ।'
'मेरो पापाको पापा फार्मर हो? फिल्डमा के के छ?' बाजेको स्वरुप ओल्ड मेकडोनाल्ड छ उनको दिमागमा ।
'पिग,चिकेन.....'
' रेबिट छ कि छैन? आर फर रेबिट आर फर रचिदा । मेरो फेबरेट त रेबिट हो ।'
'छ, म नातिनी लाई राख्देऊ भनिदिन्छु । तिमी नेपाल जाँदा दिन्छ ।'
'मलाई त फोर रेबिट चाहिन्छ । किनभने हाम्राे फेमिलीमा त थ्री मात्रै छ ।' हाम्रो परिवार संख्या सानो भएको आफू 'लोन्ली 'भएकोगुनासो फुपूलाई सुनाउन पनि भ्याउँछे । यो सहरकै समस्या हो लोन्लीनेस् ।
फुपूले तिम्रो घरमा क्यामेरा जोडेको छ, रेनुले तिम्रो गतिविधि सबै देख्छे भनिदिनु भएछ ।कहिलेकाहीँ 'रेनु राई आइ मिस यु' भनेर हावामा फ्लाइङ् किस गर्छे अनि 'हामी चैं उनलाई किन देख्दैनौ?' भनी विद्रोह गर्छे, म अवाक् हुन्छु ।
'डल्लेे लाई बोलाउनु पर्छ हदुल बदु भन्छ' फूपू काठमाडौंमा वहाँसँगै बस्ने दुई वर्षे भाञ्जाको कुरा सुनाउनु हुन्छ ।
'डल्लेले क्याटलाई त ट्याट भन्छ होला' रचि थप्छे ।
डल्लेका आमा बुवा दुवै वैदेशिक रोजगारमा छन्।
गत साल रचिकी साथी सुजन गुरुङकी आमाले सुजनलाई बाबुको भर छोडेर जाँदा उनी जिङ्खुरिएर बोल्नै छोडेकी थिइन् । ' अब त मपनि ममी बिना बस्न सक्छु । मेरो कोको छ कि छैन?' सुजन बाबुलाई सोध्दिरहिछे ।
'नेपाली भाषा सिकेर हाम्रा बच्चालाई के लाभ हुन्छ? खुलस्त बताउनोस् ।' शारदा मिसले बाल नाटकको लागि सुझाव माग्दा प्रश्न गरेको थिएँ ।
'उनीहरुले हाम्रो धर्म संस्कृति राष्ट्रियता को जानकारी राख्छन् ।'
यसलाई कसरी नाटकमा ढाल्न सकिन्छ भन्ने बारे मैले नेपालबाट आउने हजुरआमा र नातिको नाटक लेख्ने सुझाव दिएको थिएँ । आजकाल मेरो घरमा त्यो नाटक प्रत्यक्ष चलिरहेको छ । र केही दिनमा फूपू फर्किँदा यो वियोगान्त हुने पक्का छ।
*चाम्लिङ राई भाषामा बज्यै


३७. फेरि चाउचाउकै कुरा

-----------
अस्ति प्रथम मुटु सम्मेलनमा नरेश दाइले कुरा राख्नुभएको थियो "एक समय यस्तो भइसकेको थियो हाम्रो होङकोङमा, साहित्यकार हुँ भन्यो भने मान्छेले घृणा गर्ने, हेयको दृष्टिकोणले हेर्ने",
जुनकिरीले थपे "मिरिकमा एक कवि थिए जो आउनासाथ भागम् भाग हुन्थ्यो, उनी पनि कम्ता का थिएनन्, सेलुनमा कपाल कटाइरहेका मान्छे पक्डेर आफ्नो कविता भट्याइहाल्थे"
साहित्य र समाजबीचको विषमतामा चाउचाउले सोहार्दता ल्याएको कुरामा नरेश दाइ, अशोक दाइ जस्ता गंभीर कविहरुको पनि सहमति रह्यो (चाउचाउ प्रतिपादक अगाडि मात्रै हो कि?  ) ।
"यो शुरुवात हो, यहाँबाट हामी तपाईंहरुका कविताहरुमा आउँछौं, समय लाग्छ " मैले पनि ढाडस दिएँ ।
अनि कन्ठाग्र सुब्बा सापको चाउचाउ कविता वाचन गरेँ
"धेरै जुत्ता लायो भने
खुट्टा पिल्सिदों रछ
चप्पलसित हिंड्दा खेरि
कसैले पो नपत्याउँदो रछ
खाली खुट्टा हिँड्दा पनि
काँडाले हाउ बाटो ढुक्दो रछ
खुट्टै मेसिनमा हुल्न पाए
बरु ट्वेन्टी मिलियन दिदों रछ !"
यो कविताले जबर्जस्ति अपाङ्ग भएर कम्पनीबाट क्षतिपूर्ति दाबी गर्ने हङकङेली नेपाली प्रवृति उजागर गरेको छ, हाँसो भए पनि यस्तो परिस्थिति आउनूको कारण खोतल्न यसले बाध्य बनाउनेछ चिन्तनशीलहरुलाई । सरल, सरस लेखन र गम्भीर भावार्थ चाउचाउ लेखनको विशेषता हो ।
विकास र सान्सीले उनीहरुको घरमा डिनर खान बोलाउँदा म फोन खोतल्छु र पढेर सुनाइदिन्छु,
"कत्ति पैसा काट्छस्
काट् हाउ काट्
होङ्कोङ छोड्ने बेलामा
मैले पनि जानेको छु
तेरिमा क्रेडिट कार्ड !"
उनीहरु हाँस्छन् । विकास र सान्सी साहित्य भन्दा धेरै पर बस्ने हङकङवासी हुन्, यो कवितामाथि विकासले सहि थप्दै धेरै गन्यमान्य भनिने नेपालीहरुले हङकङ छोड्ने बेला बैंकलाई डुबाएको र त्यसले एक जमानामा नेपालीहरुलाई बैंक खाता खोल्न पनि झन्झटिलो भएको प्रसंग थप्छ ।
बिनोद भाइको म्युजिक भिडियो बनाउन अनुबन्धित मोडल रोशनी श्रेष्ठ बहिनी, क्यामेरामेन म । हामी सुटिङको लागि जाँदै गर्दा वर्ल्डकपको कुरा हुन्छ, म फुत्त झिकेर सुनाइदिन्छु ,
"आँच् !
स्पेन वर्ल्ड कपबाट
आउट भए पछि
उसको डरलाग्दो फ्यान्
पीरले डिप्रेस्ड भएछ !
अनि हाम्फालेछ
सुसाइड गर्नु समुन्द्रमा !
तर जतिसुकै
प्रयास गरे पनि
त्यो स्पेनको रोमियो
समुन्द्रमा डुबेन छ !
किनभने उसको
भ्यार् खाएर फुलिएको भुँडीले
ट्युबको काम जो गरेछ !"
२२-२४ वर्षकी रोशनी हाँस्छे, सुब्बा सापको चाउचाउ कवितामा रुचि देखाउँछे ।
निकास हाङखिम नयाँ र राम्रो गीतकार हुन् , रोशा बैनीको कराओकेमा बियर पिउँदै हामी चाउचाउ साहित्यको गहनताको कुरा गर्छौं । कन्स्ट्रक्श्नको कठीन र अस्वस्थ वातावरणमा काम गर्ने हामी नेपालीहरुलाई पर्न जाने दूरगामी असरलाई चाउचाउ कविताले यसरी लेख्छ;
"पहिले पहिले त
सियो खस्दा पनि
पुछर काटेको
कुकुरको जस्तै
कान ठाडो हुन्थ्यो !
हिजो आज त
साथीहरुले
गु निस्किन्जेल कराउँछन्
हाउ ताइलो
हाउ सिफु
हाउ गुरुजी !
यत्ति सारो बोलाउँदा बरु
पुछर काटेको बङ्गुरले भन्छ
'हुँ..... हुँ !'
म त मरिगए कान सुने पो
यो सहरको हो-हल्लामा
मेशिनहरुको बीचमा
काम गर्दा गर्दा मेरो कानले
फेल खानु थालेछ !
फेरि ठट्टा पनि उतिकै छ ,
"टावलले अनुहार बेर्ने हो
अनि कालो चश्मा लाउने हो
जति सुकै घाम चर्कोस् न
मान्छे गोरोको गोरै हो !"
निकासलाई म फेरि "मोहम्मद आलमको कविता" पनि सुनाइदिन्छु, हामी भावुक हुन्छौं किन कि हामी भोलिका मोहम्मद आलम हौं ।
फेरि जकीक्लबमा घोडा रेसमा जुवा हान्नेहरुलाई यस्तो भन्छ चाउचाउ कविले,
"नेपालबाट फोन आयो
तेत्रो तलब काँ जान्छ ?
मैले भनें घोडा पालेको छु
अन्त घोडाले दाना खान्छ !"
जकीक्लबले घोडामा मात्रै होइन फुटबलमा पनि सट्टाबाजी गर्छ, बीसौं हजार फुटबलमा बाजी थापेर हार्नेहरुको भुक्तभोगीहरु यहीँ छन्:
उता ब्राजिलमा
खेलाडीहरु
मरिमरी खेल्ने !
यता होङ्कोङमा
हामी नेपालीहरु
फाताक् फुतुक् गल्ने !
विस्वो कप
दुई हजार चौध
जकिकल्बको खुत्रुके
चानचुन जम्मा गर्ने !
अनि यो हङकङमा, बीसौं वर्षदेखि हराएका छन् कवि,कलाकार, पत्रकार सबैजस्तै :
अस्तिको राती शुक्रबार
गाको घुम्नु लान् क्वाई फोङ्
गिजिङ् मिजिङ् बारै बार
हाम्त तिहिंनेर हरै गए छुङ्
दुई जना टुरिष्ट गोरा गोरेनी
ती पन् हराएर भै रा फनफनी
बोलाए 'यु लुक् तेन्जिङहिलारी !'
'हाउ टु गो चिम्चाचोई सेल्स्बरी ?'
मैले भनें तिनेरुलाई
आई एम् सोरी गोरा भाई
यु लस्ट इन लान् क्वाई फोङ्
आई एम् लस्ट इन् होङ्कोङ्
यु लस्ट फ्रोम ट्वाइन्टी मेनेट्स
आई एम् लस्ट फ्रोम ट्वाइन्टी यियर्स !
[ जिन्दगी जिन्दावाद ]
अब गंभीर गहन दर्शनका कविता पनि आएका छन् चाउचाउका नाममा;
नमूना -१
---
उसको हातमा आइफोन
तेस्को हातमा आइफोन
जसको पनि हातमा आइफोन
तर मेरो हातमा
उही पुरानो नोकिया भोडाफोन
यहाँनेर म
अलिकिती दु:खी भएँ ।
दुई दिनको ज़िन्दगानी
मरिलानु के छ र
आज घाम भोलि पानी
यसो भन्दै किनें
आइफोन मैले पनि,
यहाँनेर म
अलिकिती खुशी भएँ ।
तर अस्ति त हरायो
मेरो आइफोन
म सारै दु:खी भएँ ।
फेरि अहिले त म
एकदम खुशी छु
किन भने यतिबेला
मसित
न छ आइफोन
न छ नोकिया भोडाफोन,
म सारै खुशी छु
किनभने
अब मसित
हराउनुको लागि कुनै वस्तु छैन । — feeling आइफोन हराएको खुशीयालीमा.
नमूना- २
----
परार साल
ऊ मुस्कुरायो
म रिसाएँ
ऊ रिसायो
म झन् रिसाएँ ।
पोहोर साल
ऊ मुस्कुरायो
म मुस्कुराएँ
ऊ रिसायो
म पनि रिसाएँ ।
यो साल त
ऊ मुस्कुरायो
म मुस्कुराएँ
ऊ रिसायो
तर म मुस्कुराई रहें ।
अर्को साल
सायद
ऊ पनि
म जस्तै मुस्कुराई रहन्छ होला । — feeling शुभ बिहानी.
चाउचाउ साहित्य १० मिनेटमा लेखिने ५ मिनेटमा पढिने भए पनि यसको प्रभाव दीर्घकालीन् छ । वरिष्ठ पत्रकार जेबी पुन मगरलाई अराजक हाङयुग अज्ञातका कवितामाथि लेख्नुछ, "सामग्री बटुल्देऊ न" भन्दै थिए । जेबी लाई चाउचाउ पच्दैन, अर्गानिक चाहिन्छ तर मलाई, मगेन दाइलाई सुब्बा साप अवतार नै बढि मन पर्छ । उनले हाङयुगमाथि लेख्नु अघि मैले प्रेमिल सुब्बा साप माथि लेखिदिएँ ।
जीवन र विकास सर्वत्र द्रुततर भइरहेको छ, त्यसैले नेपालबाट बादल पनि चाउचाउमा रुचि देखाउँछन् ,
चाउचाउको विस्तार अहिले भारतीय नेपालीहरुमा पनि छ, संगीतकार शरद सिन्हाले त चाउचाउ लेखनको वकालत गर्नु भएको छ भने साहित्यकार पुष्कर पराजुली, शीला तामाङ नियमित प्रतिक्रिया दिइरहनुहुन्छ । चाउचाउ लेखनले बिना डलर वितरण यतिको ब्यापकता लिनु भनेको शुभ संकेत हो ।
कवयित्री प्रगति राई चाउचाउलाई कोरियामा प्रवेश निषेध गर्नुहुन्छ, त्यसैमा हाङयुग अज्ञात भन्छन्
"चाउचाउ साहित्यले ब्रम्हाण्डको कुरा लेख्छ, तिमी चाउचाउको खोल हेरि राख"
जिन्दगी जिउन अलिकति अराजक हुनैपर्छ कि क्या हो?
मेन्जो मेन्जो सेवारो !
चिन्दागी फान्नु
तङ्बाको छक्रा
तान्दै कायो
सकिन्दे चान्छ !
जिन्दगी भन्नू
तोङ्बाको छोक्रा
तान्दै गयो
सकिदैं जान्छ


३६.मुटु सम्मेलन -१ को कुरा

---------------------------
"हाम्रो समुदायलाई मस्तिष्क सम्मेलनको खाँचो छ, कहाँ तपाईंहरु मुटु सम्मेलन गरेर बस्ने? मुटुले त सबै कुरो बिग्रिरहेको छ त"
पत्रकार जे बी पुनले ठोके । कुरो हो जस्तो पनि लाग्यो, हामी भावुकतामा बहकिएर कति निर्णय गरिरहेका हुन्छौं, विचारहरु पोखिरहेका हुन्छौं । फेरि कला, साहित्य, संगीतमा मुटुकै प्रधानता हुन्छ होला कि । गायक दिपक लिम्बुको गीत"मुटु माग्यौ तिमीले मैले बाँच्नु पर्छ" लाई लक्ष्यित गरेर साहित्यकार खगेन्द्र पन्धाकले "मुटु भन्ने कुरा बगरेको पसलमा बेच्न राखेको राँगा, सुँगुर, खसी, कुखुराको मुटु जस्तो किलो र धार्नीमा बेचिने "अर्थ राखेको गीत भनेर ब्यंग्य पनि कसेका थिए यसै संजालमा । कविता दिदीले "मुटु सम्मेलनमा मुटु मात्रै हो कि मन पनि छ?" भनेर प्रश्न पनि तेर्साउनु भएको थियो । जेबीलाई जवाफ दिन नसके पनि कविता दिदीलाई भने जुनकीरीको गीत " मुटुभित्र के छ के छ? टुक्र्याई हेरेँ मन रहेछ" भनेर जवाफ दिन सकेँ । यसरी साहित्यमा मन,मुटु, हृदय, हुँदा हुँदा कलेजो (कलेजीमा घाउ लाग्यो ) जस्ता शरिरका आन्तरिक अंगको प्रयोग भएको पाउँछौं, शरिरका बाह्य अंगहरु आँखा, ओंठ, केश, इत्यादिका कुरा श्रृंगार रसमा छँदैछन् ।

केही हप्ता पहिले सुब्बा सापले कवि अशोक राई अमेरिकाबाट हङकङ आउनुभएको मौकामा भेटघाटको निम्तो दिनुभएको थियो । त्यहाँ नेत्र जुनकीरी, नरेश सुनुवार, मनु कन्दङवा र सुब्बा सापसँग म थियौं । समर गुरुङदाइलाई निम्तो दिँदा वहाँ "धेरै ब्यस्त छु, संभव छैन" भन्नु भएको थियो । नेत्र जुनकीरी भर्खर नेपाल भारत पुगेर आएकाले सबैलाई पुस्तक उपहार टक्र्याउँदै थिए,
"अब यो पुस्तक उपहार दिने परम्परा चलाउनु पर्यो हाम्रो समुदायमा । साथीहरु नेपालबाट खैनी, चुरोट मात्रै उपहार ल्याइदिन्छन्" नरेशदाइले भने ।
" हो नि, एउटा साथीले त खैनीको माला बनाएर लाइदेको थियो मलाई" इमानसिं चेम्जोङको किराँत लोककथा सम्बन्धि पुस्तक लिंदै सुब्बा सापले थपे । केहीबेर साहित्य, समाज, खुटगोल र यताउतिका गफ चलेको थियो , समर दाइले फोन गरेर ," भाइहरुकहाँ बसेको हो?" भनेर फोन गरे, एक मात्र नारी सहभागी मनुजी जान्छु भन्नुहुँदै थियो समर दाइलाई भेटेर जानुस् भनेर रोक्यौं । हङकङको बहुचर्चित परिकार भालेको अण्डा,चटपटे र म:म: सँग हामी ब्ल्यु गर्ल बियर पिउँदै थियौं, अमेरिकी कवि अशोक रेड वाइनमा , सुब्बा साप र मनुजी कोकमा भए पनि "मैले उहिले पिएको मदिराको नशा अहिलेसम्म असरदार छ, जस्तो गफ गर्नोस् म त्यस्तै मिलाइदिन्छु", सुब्बा साप गफ दिँदै थिए । अशोक दाइ "मसँग मम सेयर गरेर खानेलाई घाटा लाग्छ है" भन्दै थिए ।
यो ममलाई उहिले उपत्यकामा "म:म: पसल" लेखिन्थ्यो अनि स्कूले जीवनमा अरुण, सुशील, दिप हामी छलफल गर्थ्यौं "किन म कोलन म कोलन लेखेको होला हगि?"
"महमह भन्नुपर्छ यसको सहि उच्चारण"
"हैन, यो मम नै हो, त्यो थोप्लाहरु चाहिँ ममको चित्र हो"
"अनि किन चारवटा मात्रै त? प्लेटमा त दश हुन्छ "
"हैन, यो सँस्कृत शब्द हो, त्यसैले म:म: बाहुनले खानु हुन्छ " राँगाको मासु राखिने भएकोले त्यो जमानामा बाहुनहरु म:म: पसलमा विरलै प्रवेश गर्थे । साथी अशोक शर्माले म:म: पसलमा मम खाँदा सबैले उसलाई घुरेका थिए रे, किन होला भनेर उसले यसो विचार गर्दा, उसको हाफ सर्टको बाहुलाबाट उसको जनै देखिरहेको थिएछ रे । आजकाल त्यो जमाना गइसक्यो रे, नजाओस् पनि कसरी खसीको मासु कीलोको सात सय उपर गइसक्यो रे ।
"समर दाइ भन्ने को हुन? एक जना दाइ मैले धेरै वर्ष अघि भेटेको थिएँ, कविता सुनाउँछु भनेर शुरु गरे 'मोजा हरायो' भनेर अड्केको अड्केकै भए, तिनै हुन् कि जस्तो लाग्यो" अशोक दाइले सोधे ।
मन परेका मान्छेलाई मुटुले हिर्काइदिने समर दाइ आइपुगे, "दाइले मलाई चिन्नुभयो? तपाईं हामी भेट भएका थियौं तपाईंले मोजा हराउनुभएको थियो अनि 'सम्हाल पछ्यौरी त्यो लत्रिसक्यो भूईँमा' गीत गाउनुभएकको थियो" । अशोक दाइ र समर दाइको पुरानै परिचय रहेछ । मनुजी केही छिनमा हिंड्नुभयो । हाम्रो भने दाउरे र बञ्चरोको धाराप्रवाह जोक गइरह्यो , सुब्बा सापले साँच्चै हाम्रो नीली केटीको लयमा कुरा मिलाए । "कोही कोही यहाँ मदिरा नपिइकनै मातेका छन्" केही ब्यक्ति र प्रवृति प्रति पनि ठोके उनले ।
यसरी बिहान ६ बजे काम जानुपर्ने मान्छेहरु ४ बजेसम्म सहृदयताका साथ बस्यौं । भोलिपल्ट सुब्बा सापले कविता लेखेछन्,'
"मुटुहरुको सम्मेलनमा
उपस्थित भएर आएको
मेरो सानो मुटु
यो चोटि पनि
बिना उत्तर फर्किएको छ !
मेरो मुटुले यहि सोधेको
महान् मुटुहरुलाई
कि किन दुख्छ मुटु मेरो ....
ओइलिझर्ने फूल देखेर
बगिजाने खोली देखेर !"
अनि नीली केटीले हात हल्लाइदिएर ब्लर भएका फोटोहरु अपलोड गरेर क्यापसन दिएँ "मुटु सम्मेलन" !


३५. भिनाजुको कुरा

-------
'भाइ, सपरिवार तल झर डिनर खाऊँला तिम्रो घरमुनिको वसन्त दाइको रेस्टुरेन्टमा'
जुनकीरी भन्दै थिए ।
' अहो, हामीले त भ्याइसकेको । अब एकछिन टहल्नु निस्किन लागेको । आउनु न कम्पनी दिऊँला ।'
'दस मिनेटमा आइपुग्छु' भनेर फोन राखे ।
पछिल्लोपटक उनी आउँदा बसन्त दाइको बि एन्ड बि रेस्टुरेन्टमा परिकार किन्न पस्दा उनले नयाँ खुलेको भनेर जिल्लावासी जुनकीरीसँग पैसा लिन नमानेकोले एक दिन उनकोमा बसौं है भन्ने सल्लाह थियो ।
रेनुले ढिलो गर्न लागेकीले रचि र म तल गई कुर्न लाग्यौं । जुनकीरी कबुल मुताबिक नआएपछि रचि व्यग्र हुन लागि । रेनु पनि झरे पछि हामी पार्कतिर लाग्यौं ।
पार्क पुगेको केहीबेरमा फोन आयो, ' भाइ ,झट्ट आऊ, तिमीलाई सरप्राइज स्वरूप मेरो भेना पनि लिएर आएको छु ' ।
'को र?'
'दिप दाइ'
' हुन्छ '
अब कहाँ दिपदाइलाई भेट्न चप्पल र कट्टु लाएर जानू भने जस्तो लाग्यो । फेरि दिप श्रेष्ठ जस्तो ब्यक्तित्वलाई भेटेर वहाँको कुरा सुन्ने लालसा पनि थियो । आखिरमा म लागेँ नै । जुनकीरी पनि कामबाट फिर्दा कट्टुमै रहेछन् । अचानक बाटोमा गणेश पराजुली दाइसँग आफ्ना भिनाजुलाई भेटेर ल्याएका रहेछन् । अनुभव सुन्न र सुनाउन जुनकीरीको विशेष रुचि रहन्छ सधैं ।
विविध विषयमा कुरा गरेपछि पिउने कुरामा हामीलाई आफ्नो अनुभव सुनाउन थाले ।
'अल्कोहळे गायनमा मद्दत गर्ला कि नगर्ला?' भनेर पराजुली दाइले सोधे ,
'म कार्यक्रम हुनुभन्दा २ हप्ता अघिदेखि पिउँदिन । मेरा वाद्यवादक पनि मेरो सामु पिउँदैनन् ।"
पिएर गाउनु नहुने दिप दाइको जिकिर थियो । जितेन्द्र बर्देवा, नवीन बर्देवा जस्ता गायकको उदाहरण दिँदै पिउने कला नजान्नाले धेरै गायकहरुको जीवन क्षतिग्रस्त भएको उनको भनाइ थियो ।
' म किन पिउँछु, स्वादको लागि सन्तुष्टिको लागि पिउँछु । त्यो पनि मेरो बजेट हेरेर पिउँछु । मेरो कमाइले ब्ल्याक लेबल पिउनु सक्छु तर म एक बोतलले १ हप्ता पुर्याउँछु । साथीहरू एकै छाक पार्न खोज्छन् । त्यसरी त त्यो ४ हजार पर्ने रक्सी कसरी पिउन सक्नु । आखिर नपिइकन मरिने पनि होइन। '
' मलाई त गायनको बीचमा एक दुई पेग खाएपछि स्फूर्ति हुन्छ' गणेश दाइले थपे ।
'रक्सीले मान्छेलाई अर्कै दुनियाँमा लैजान्छ नि , संगीतको दुनियाँ भन्दा पर । त्यसो गर्नु उचित होइन ।'
'संगीत सरस्वतीको वरदान हो । अध्यात्मिक कारण पनि हो कि?' जुनकीरीले सोधे ।
'अध्यात्मिक मात्रै होइन यो वैज्ञानिक पनि कुरा हो । यसले हाम्रो मस्तिष्कमा भ्रम पैदा गर्छ ' दिप दाइ कुशल वक्ता हुन् निश्चय नै ।
' नारायण गोपाल त पिएरै गाउँथे भन्छन् त' साहुजी बसन्त दाइले पनि सोधे ।
'नारान दाइ त एक्सेप्सनल हुन् नि । जति पिए पनि हार्मोनियमको अघि राख्दिएपछि अद्भुत गाउँथे ।'
'त्यस्तो हुन्छ नि । मैले यस्तो ट्रक ड्राइभर देखेको छु मातेर खुट्टामा उभिन नसक्ने हालतमा स्टेरिङ अघि बसाल्दिएपछि मज्जाले गाडी हाँक्ने ।'
जुनकीरीलाई प्रसंगमा प्रसंग जोड्न कसले सक्ने र !
' हो त्यस्तै नारान दाइ । म भोटेबहालमा डेरा गरि बस्दा शनिबार बिहानै आउने । मासुपसल धेरै थियो वरिपरि । 'आधा किलो हेमा मालिनी र एक पाउ धर्मेन्द्र देऊ' भनेर मासु किन्थे नेवारीमा । हेमा मालिनी भनेको पोथी ,धर्मेन्द्र भनेको सुँगुर । अनि धर्मेन्द्र चैं मेरो डेरामा पकाएर खुवाउँथे आफैले ल्याएर आएको इ ग्रान्डरको क्वार्टरसँग । पेमला भाउजू मेरो गायनको फ्यान हुनुहुन्थ्यो । फोन गरेर म तिम्रै फेभरेट गायककोमा छु ढिलो हुन्छ भन्थे । साह्रै मीठो पकाउन जान्ने उनी ८ बजेदेखि नै पिउँथे । सकेपछि अब तिम्रो पालो किन्ने होइन भन्थे, दस बजेपछि म पनि पिउँथें ।उनी त अचम्मको मान्छे हुन् नि लवाइमा ध्यानै नदिने, नलजाउने, नडराउने । सधैं उनको त्यो रातो हाफ स्वेटर लाएर हिँड्ने , सुटबुट लाएको कहिल्यै देखिनँ ।जहाँ पनि हिरो होन्डा सि जी १२५ गुडाएर हिंड्ने जुन मैले पछि १८ हजारमा किनेँ । '
डबल ब्ल्याक लेबलले दिप दाइलाई अतीतका सुनौला संझनातर्फ डोर्याइरहेको थियो, मलाई भने ३ क्यान बियरले छोएको थिएन होला त्यसैले म नेपाली संगीतको जिउँदो जाग्दो शिखर पुरुषको छेउमा चप्पल र हाफ पेन्ट लाएर बसेको भुलेको थिइनँ ।दाइले आफ्ना हिट गीतभन्दा हिट नभएका गीत राम्रा छन् भन्दा मलाई शरद सिन्हासरले रविन शर्मासँग मगाएर पठाउनुभएको दिपदाइको गीतको याद भयो ,
'कहाँबाट ल्याऊँ म सपनाको देश
जब लाग्छ तिमीलाई मेरो आँगन परदेश'
मैले यो गीतको दृष्टान्त दिँदै राम्रा गीत कुहाउने मिडियालाई दोष दिएँ।
भ्यारले नछोएकोले म कमै बोलेँ बरु जुनकीरी, गणेश दाइ र बसन्त दाइ प्रश्न सोध्दै थिए ।
'नारानदाइको प्रोग्राम थियो दार्जिलिङमा बिहे भएको थिएन त्यस बेला । कर्म योञ्जन दाइ
आयोजक थिए अनि भनिरहेका थिए 'नारान मैले भुलेको छैन है । गाऊ गाऊ म ब्यवस्था गर्छु ।' बसन्त क्षेत्री र म फटिग गर्ने, पानी ल्याउने, यताउता मिलाउने । उनले ६ वटा गीत लगातार गाए, पर्दा बन्द भयो । कर्मदाइले रम किन्न पठाए, बसन्तको बाबाको पान पसल थियो , दगुरेर गएर रम लिएर आयौं । नारानदाइले बोतल ठ्याक्कै खोले अनि ठाडो घाँटी लाए । एकै सासमा बोतल भ्याए अनि पर्दा खोल्न लाए । १२ वटा गीत लगातार गाए । रेकर्डमा के गाए र ,लाइभमा त्यस्तो अलौकिक गाए । गाइसकेपछि पर्दा बन्द हुनासाथ सिधै ढले । आफ्नै आँखाले देखेको भएर रक्सी देखि डर लाग्छ। '
दिप दाइ आजकाल हरेक दिन १ घन्टा योग र २ घन्टा ब्याडमिन्टन खेल्दारहेछन् ।
'भेना, कति पुग्नुभयो?'
'गेस्'
३० सालमा रेडियो नेपालको प्रतियोगिता जितेका भनेपछि, २० वर्षको उमेरमा जिते होलान् भन्ने हिसाबले मैले ६० भनेँ ।
'६४' दिपदाइले सगौरव भने ।
'तपाईंले १०-१५ वर्ष उमेर घटाउनु भएको छ।' जुनकीरीले फुर्काए भिनाजुलाई ।
'सुगम संगीतको सक्रिय हस्ती दाइमात्रै हुनुहुन्छ । हामीलाई दाइको आशिर्वाद चाहिन्छ । प्रेमध्वज अम्बर गुरुङ हरु आजकाल गाउन सक्नुहुन्न,नारायण गोपाल, गोपाल योञ्जन बितसक्नुभयो ।' मध्यरात भइसकेको थियो, छुट्टिनु अघि गणेश दाइले भने ।
' हो, वहाँहरुको कमी खट्किन्छ, तिमीले राम्रो गर्यौ स्याबास वा ठिक भएन भनेर सुझाव दिने वहाँ हरु हुनुहुन्न । वहाँ हरु अहिलेसम्म सक्रिय भएको भए नेपाली संगीत धेरै माथि पुगिसकेको हुनेथियो ।'दिपदाइले भने ।
बसन्त दाइले मरे पैसा लिन माने पो! जुनकीरी र म अलमल्ल पर्यौं । 'अब खाएको पैसा लिन्नन् हामीले गिफ्ट केही दिनुपर्ला यो बसन्त दाइलाई ।'जुनकिरीलाई सहि थपेँ र हामी सबै छुटियौं।


३४.समीक्षक समाजको "पुस्तक विमर्श" कार्यक्रम -भाग १

------
पूर्व सल्लाह अनुसार स्व. देवकी लिम्बूलाई श्रध्दाञ्जलि दिइकन हामी हुङहोम युनिभर्सल पार्लरबाट कुद्यौं रेलतर्फ ।
"स्वार्थी मानिसहरु!" जेबी पुनले श्रध्दाञ्जलि कार्यक्रममा भेला भएको भीडप्रति प्रतिक्रिया दिए,
"किन स्वार्थी?" मैले सोधेँ ,
"स्वाभाविक मृत्युमा किन जम्मा हुँदैन यस्तो ठूलो भीड?"
" जानकारीको कमीले होला । मृतकप्रतिको संवेदनाले पनि सहभागिता बढेको होला ।" म आफूलाई पनि स्वार्थी भनिएको ठानी होला बचाउ गर्न खोज्दै थिएँ । यस्ता घटनाहरुले निश्चय नै समुदायमा अलार्म् को घन्टी बजाएको छ, हामीले हाम्रो स्ट्रेसपूर्ण जीवनशैलीलाई पुनर्मूल्याङ्कन गर्नुपर्ने भएको छ ।

"हामीले कार्यक्रम समयमा शुरु गरेर नमूना देखाउनुपर्छ" जेबी भन्दै थिए,
"हो, तर म त मर्निङवाकमा निस्केको दाँत पनि माझेको छैन, मुख पनि धोएको छैन"
"समय छैन, के हुन्छ र एक दिनले?" जेबीले भने,
"मलाई त केही हुन्न अरुलाई होला नि, नुहाइ धुवाइ त अरुको लागि गर्छु म त"
अशोक दाइ हाँसे, हाम्रो संवाद सुनेर ।

केही समय अघि चुनवानमा आफ्नै दिदीको छोरोद्वारा घाँटी छिनाली हत्या गरिएकी देवकीको मृत्युको कारण विश्लेषण गर्दै हामी हतारका साथ फर्किरहेका थियौं, "पुस्तक विमर्श" कार्यक्रमको लागि जुन ठिक २ बजे शुरु गर्ने भन्ने हाम्रो प्रतिबध्दता थियो, र अस्टिन स्टेशनमा ओर्लँदा १:४५ भैसकेको थियो । दाइहरु नेपालबाट मगाइएको "करङको हिरासत" लिन गोर्खा स्टोरतिर लागे, म चाहिँ घरतिर लागेँ ।
ट्याक्सीले लान नमानेपछि एम टि आर बाट जाँदै थियौँ, कविहरु हाङयुग, अशोक, बज्र र पत्रकार जेबीको साथमा । मलामी चोख्याउने जिम्मा पाएका संयोजक हेम लावती दाइ चुनवान बाट कुध्दै थिए, " ८०० मलामीको अनुमान गरिएकोमा ४ हजार को संख्यामा आएकोले बन्दोबस्त गर्नु हम्मे पर्‍यो ", फोनमा हेम दाइ सुनाउँदै थिए । टेनिसको महत्वपूर्ण टु्र्नामेन्ट भएकोले मगेन दाइले उपस्थिति जनाउन नभ्याए पनि फोनबाटै सभाकक्षको ब्यवस्था गरिदिइसकेका थिए ।

घर आएर नुहाई धुवाइ गरेँ, रेनुले पनि कार्यक्रममा अभिरुचि देखाएकीले रचि सहित हामी तीनै कार्यक्रम स्थल नेपाल फाइनान्स गयौं । अचम्म! कार्यक्रम शुरु भइसकेको थियो, संयोजक हेम लावती दाइ ठाँटका साथ उभिएर समीक्षक समाज किन चाहियो,पुस्तक विमर्श किन गर्नुपर्‍यो भनी प्रकाश पारिरहेका थिए । कम से कम १,२ घन्टा ढिलो गरेर शुरु हुने नेपाली कार्यक्रमहरुको परम्परा विरुध्द यो कार्यक्रम तोकिएको समयमा शुरु भएकोले धेरै झुक्किए, कति सम्म भने कार्यक्रमको ब्यानर नै आइपुगेको थिएन । नेत्र जुनकीरी र म पानीको ब्यवस्था गर्न लाग्यौं, गजलकारको रुपमा बढि परिचय बनाएका बज्रजीले केही समय पहिले साब्लाबुङ प्रकाशनद्वारा प्रकाशित टि बि याक्खाको "आँधी रोकिएपछि"को समीक्षा प्रस्तुत गर्न थालिसकेका थिए , वान्चाइमा तेक्वान्दो खेलेर टिबि जी दौँडदै हुनुपर्छ । बज्रजीको समीक्षामा टिबिको लागि तारिफै तारिफ थिए । समीक्षाको अन्त्यमा, संग्रहको "बोक्सी" कविता वाचन गरिदिए ,
"हो म सत्य युगकी एउटी देवी हुँ
सुपुत्रहरुको लागि एउटी असल माता हुँ
तर ओछ्यानमा चाटेर
रछ्यानमा फाल्ने
कलीयुगका कृतघ्न आँखा अगाडि
दूधको मू्ल्य तिर्न नसक्ने
कुपुत्रहरुका आँखा अगाडि
एउटी बोक्सी हुँ बोक्सी
जो गाउँ बिगारेको अनि देश भाँडेको
आरोप खेपिरहेकी छे
"
यतिखेरसम्म कवि याक्खा आइसकेका थिए । पालो मेरो आयो, मैले १९९७ मा पहिलो पटक प्रकाशित मिच अल्बोमको "ट्युज् डेज विथ मोरी" मा मेरो पाठकीय प्रस्तुत गरेँ । जीवन-मृत्यु सम्बन्धिको यो पुस्तक सानो र प्यारो पुस्तक हो, पुस्तक सरल,सहज र सरस छ । मैले पुस्तकका प्रसंगहरु उदधृत गर्दै आफ्नो पाठकीय पढेर सुनाएँ ।

"जब मृत्युको समय आउँछ तब नै किन मान्छेले यस्तो कृतिहरु लेख्छन् होला? जस्तो जगदीश घिमिरेको अन्तर्मनको यात्रा", दर्शकबाट प्रश्न आयो ,
"कहिले मरिन्छ भन्ने थोरै भाग्यमानीले मात्रै थाह पाएर होला नि", मैले जवाफ दिएँ । हामी मर्छौं भन्ने बिर्सेर नै हाम्रा ब्यवहार, आचारणहरु र सम्बन्धहरु कटु हुन्छन् भन्ने पुस्तकको तर्क रहेको मैले दिएँ ।
नेपाल फाइनान्सको सभाकक्षमा सोफामा कार्यक्रम संयोजकसँग बसेर बिना माइक बातचितको शैलीमा गरिएको कार्यक्रममा भाग लिन निक्कै रमाइलो महशुस गरेँ, साइडमा ल्यापटप लिएर बसेका जेबी पुनबाट बीच बीचमा आउने धारिला प्रश्नलाई कसरी भाँति पुर्‍याएर जवाफ दिन सकिएला भन्ने चुनौति लागिरह्यो । मेरो लेखनको बारेमा उनले आलोचना गर्दा त भनि नै दिएँ ," म तपाईँ जस्तो दिमागबाजको लागि लेख्दिनँ, किन कि म धेरै मुटुले र थोरै मात्रै दिमागले लेख्छु ।" म जस्तै लेख्ने नेत्र जुनकीरी, समर दाइ र कविता मेडम जस्ता मुटु सम्मेलकहरुको उपस्थितिले मलाई यति बोल्ने आँट दियो । मस्तिष्कबाज भनी कहलिएका किन्दर राई, मध्यमार्गी कवि अशोक चाम्लिङ, र मुटुबाट मस्तिष्क तर्फ उन्मूख मनु कन्दङवा र निरज राईको उपस्थितिले पहिलो मस्तिष्क सम्मेलन मानिएको यो कार्यक्रम पनि मुटुमय नै हुनेछ कि भन्ने लाग्यो ।
कार्यक्रमको चौथो प्रस्तोता भनिएका दिनेश दाइ भर्खर मात्रै आए, आइतबार दिनेश दाइको संगीत कक्षा लिनेहरुको भीड रहन्छ ।
"ए, तिम्रो मैले त सुन्नै पाइनँ नि," दिनेश दाइले भन्दा पाठकीयको फोटोकपी थमाइदिएँ । अनि शुरु भयो, कार्यक्रमको मुख्य र रोचक आकर्षण "करङको हिरासत" मा चर्चा, जुन २ घन्टा भन्दा बढि चल्यो । एभरेस्टका सम्पादक किशन दाइ पनि कार्यक्रमको ब्यानर लिएर फोटो पत्रकार जगत अम्बुका साथ आइपुगे ।
क्रमश:

समीक्षक समाजको "पुस्तक विमर्श" कार्यक्रम -भाग २
"
...तिमीले जन्माइसकेकी छौ
एउटा यस्तो कुपुत्र
जसले मार्छ इन्दिरा गान्धी
'जोकास्टा आमा' कवितामा जुन कुपुत्र भनेर पहिचानको माग गर्ने शिखहरुलाई कविले कुपुत्रको संज्ञा दिएका छन्, जुन सृजनशील अराजकताले वकालत गर्ने पहिचानको मुध्दाको विरोधाभाष देखिन्छ । हुन त कविता विम्बको भाषा हो, तर कविहरुले विम्ब प्रयोग गर्दा त्यसको पृष्ठभूमिको अध्ययन गर्न जरुरी छ । "
साहित्य लेखनमा सचेत अध्ययनको जरुरी रहन्छ भन्दै पत्रकार जेबी पुन हाङयुग अज्ञातको "करङको हिरासत"को विवेचना गर्दै थिए ।
"हिंसा निश्चय नै गलत कुरा हो , तर इन्दिरा गान्धीको हत्या पनि उनले चालेको हिंसात्मक कदमकै परिणति थियो । स्वर्ण मन्दिरमा सरकारको बन्दूकले भुटिएका आन्दोलनकारी र सर्वसाधरणको रगतले इन्दिरा गान्धीलाई भेट्यो । उनकै शिख सुरक्षागार्डहरुले उनको हत्या गरे । त्यसपछि फेरि कसरी शिखहरुमाथि मानिसहरु खनिए, देशभरि शिखहरुलाई मार्ने पिट्ने, उनीहरुका नारीमाथि बलात्कार गर्ने घटनाहरु भए । सबैभन्दा अचम्मको कुरा त सरकारले त्यसको समर्थन गर्‍यो, एक जना पनि गिरफ्तार गरिएन । जब कविले यो कवितामा शिखलाई इंगित गरेर कुपुत्र भन्छन्, मलाई चित्त बुझ्दैन ।"
पत्रकारको कोणबाट आफ्नो कविता संग्रहलाई जँचाउने हिम्मत गरिरहेका कवि अज्ञात स्पष्टिकरणमा केही बोल्न खोजे , "तपाईंको समय पछि आउनेछ, धैर्य गर्नुहोस् ।", संयोजक हेम लावतीले रोके ।
"यसै कवितामा श्री ५ हाङयुगको महावाणी लेखिएको छ, यो निश्चय नै साहसिक र सृजनात्मक विद्रोह हो । श्री ५ हरु गइसके तर श्री ६ हरु अझै राज गरिरहेका छन् , हेर्नुस् त मोदनाथ प्रश्रितका जनवादी क्रान्ति ओकल्ने कलमहरु कसरी हिन्दू राज्यको माग गरिरहेका छन् र राम्ररी हेर्नुस् खगेन्द्र संग्रौला काकाका पहिलेका र अहिलेका लेखनहरु कसरी ९० डिग्रीमा परिरहेका छन् ।"
समसामयिक परिवेशमा जेबीले कवितालाई आलोचना गरे ।
"हिटलर, पोलपोट र इदी अमिनलाई समानरुपले उभ्याउनू चैं गज्जब छ । किनकि यी तीनै नश्लवाद राजनीतिका कट्टर नेताहरु हुन् । जातिय राजनीतिको उठान सजिलै गर्न सकिन्छ तर होशपूर्वक गरिएन भने यो कति खतरनाक हुन्छ भन्ने यी नश्लवादी नेताहरुले मारेका मान्छेहरुको गणना गरे हुन्छ ।" पत्रकार पुनले इतिहास सम्बन्धि ज्ञानलाई उजागर गर्दै आफ्नो अभिब्यक्ति स्पष्ट्याए ।
पत्रकार पुनले खरो आलोचना मात्रै गरेनन्, केही कविताहरु जस्तै "नामको राजनीति", "म बलिहाङको अभ्युदय","म बिर्सन सक्दिनँ", आदि कविताको खुलेर प्रशंसा गरे ।
"हेर्दाखेरि छ्याकटे यो पुस्तक पढ्न र यसले भनेका कुरा बुझ्नको लागि ठूला ठूला ठेलीहरुको अध्ययन गर्न जरुरी पर्नेछ । निश्चय नै सृजनशील अराजक कविको यो पुस्तक सबैले पढ्नुपर्ने र बुझ्नुपर्ने कृति हो ।" भनेर करिब २ घन्टा जेबी पुनले पुस्तकको चिरफार सके ।
होङ्कोङ्का वरिष्ठतम् कविलाई आज मुश्किल परेको मजस्तै सबैले अनुमान गरेको हुनुपर्छ । २ बजे शुरु गरिएको कार्यक्रम ५ बजेसम्म भनिएको थियो, पौने पाँच बजिसकेकोले समय नष्ट नगरी कृतिकार मंचमा गएर दिनथालिहाले,
" 'मेरो जोकास्टा आमा को समर्थनमा' फेमिनिस्ट कविता हो, पुरुषको नारीमाथिको दमन र अत्याचारको विरुध्दमा हो यो । यहाँ बेनजीर भुट्टोको राजनैतिक पृष्ठभूमि हेरिएको छैन र हेरिएको छैन इन्दिरा गान्धीको राजनीति पनि । नारीले दमनकारी पुरुष नजन्माएर आफू जस्तै नारी किन नजन्माउने भनेर कवितामा भनिएको छ ।"
कविले केही नसोँची विम्बको प्रयोग नगरेका होइनन् रहेछ ।
"अनि त्यो श्री ५ हाङयुग को बारे के भन्छु भने यो कविता मैले राजा ज्ञानेन्द्रको शासनकालमा लेखेको हो । म एउटा कवि, अब एउटा कविले खोस्नुपर्छ राजाको श्रीपेच भनेर मैले एउटा विद्रोह लेखेको हुँ । यो कविता लेखेको केही महिनामै ज्ञानेन्द्रको श्री ५ उड्यो ।"
"अलिक पहिल्यै लेख्नुपर्ने थिएछ नि त, कविज्यू", गजलकार बज्रले दर्शकसाइडबाट प्रतिक्रिया दिए, वातावरण हाँसोमय भयो । सघन विषयमा छलफल गरिँदा बिच बिचमा यस्ता हल्काफुल्का ठट्टाहरुले वातावरण रोचक भएको थियो । समय तोकिएको भन्दा १५ मिनेट बढि भइसकेको थियो, संयोजकले कार्यक्रम समापन गरे ।
"नियामपति, जेबीजीलाई चाहिँ २ घन्टा, मलाई चाहिँ स्पष्टिकरण दिन आधी घन्टा पनि नदिने?" कवि हाङयुग विरोध गर्दै थिए,
"बाँकी स्पष्टिकरण बि एन्ड बि मा दिनुहोस् न त , भोक पनि लागिसक्यो ", हेम दाइले भने । दिनेश दाइले अम्बर गुरुङको पुस्तक "कहाँ गए ती दिनहरु" माथि संगीतात्मक चर्चा गर्ने भन्ने अर्को कार्यक्रमलाई सर्‍यो ।
"अमेरीकामा केही विद्रोहीहरुले सामूहिक आत्महत्या गरेको खबर पढेर मैले 'आऊ हामी सामूहिक आत्महत्या गरौं' लेखेको थिएँ । कविहरुको जमघटमा कोटेश्वरमा कवि श्रवण मुकारुङलाई सुनाए पछि, 'म त मर्दिनँ बरु बौल्हाउँछु हौ, मर्नु भन्दा त बौल्हाउनु निको" भनेका थिए । त्यसैको पृष्ठभूमिमा 'बिसे नगर्चीको बयान' कविता लेखियो ।..... "
बि एन्ड बि मा हाङयुग अज्ञातको स्पष्टिकरण र साहित्य चर्चा २ बजेसम्मै चल्यो । दिउँसो २ देखि बिहानको २ गर्दा समीक्षक समाजको पहिलो कार्यक्रम जम्मा १२ घन्टा चलेछ , औपचारिक कार्यक्रम भने समयमा शुरु गरी समयमै सिध्याई संयोजकले आफ्नो खुबी दर्शाए ।
समाप्त !


३३. प्रश्नहरुको कुरा

------
नयाँ स्कूलमा सारेपछि उनी दिउँसोको सिफ्ट बाट मर्निङ स्टुडेन्ट भएकी छ । बिहान चाँडो उठ्नु पर्छ भनेर म उनलाई पाठ दिनको लागि भन्छु,"अर्ली बर्ड क्याचेज् द वर्म"
"त्यो भनेको के?"
"बिहान चाँडै उठ्यो भने फाइदा हुन्छ । बिहान चाँडो उठ्ने चराले किरा समात्न सक्छ । "
"ए, अर्ली क्याट् क्याचेज् द रयाट्"
युकेजी पढ्ने मेरी छोरी आफ्नै उखान बनाउँछिन् । प्रश्न गरेर आएको उत्तरलाई आफ्नै साँचोमा ढाल्छे, यो अवसरमा मिले पनि कहिले एकदमै हाँस उठ्दो बन्छ ।
एक जोक याद आउँछ, ' pregnant को अर्थ carrying baby भन्ने सिकेर विद्यार्थीले वाक्य बनाएछ, a fireman went into the burning house and came out pregnant '।
पहिलेको स्कुल विपरीत नयाँ स्कूलमा रचि मात्रै गैर चिनियाँ हुन् । उनको पहिलो दिन हामी दुवै जना उनलाई छोड्न गयौं । नयाँ माहौलमा खिन्न मान्लिन् भनेर मलाई निक्कै पीर भयो । नयाँ वातावरणमा घुलमिल हुन सधैं पीर हुन्छ, सानो छँदा नयाँ स्कूलमा सर्दा कति डर हुन्थ्यो , आजकाल पनि नयाँ काममा जाँदा त्यस्तै हुन्छ ।
" नयाँ स्कूलमा चाइनिज साथीहरूले मलाई चाइनिज सिकाउँछ , म चैं उनीहरूलाई इङलिस सिकाउँछु ।" रचिले आत्मविश्वास देखाउँछे । म एक्लैले पुर्याउन जाँदा भने छुट्टिने बेलामा उनी आँखा टिलपिल पार्छे, गह्रौं मन लिएर म फर्किन्छु ।
नयाँ स्कुल क्रिश्चियन स्कुल हो, त्यहाँ खाजा खाने बेला प्रभुलाई संझिइन्छ, प्रार्थनामा प्रभुको कीर्तन गरिन्छ । हामी जति नै जातियता, परम्परा को कुरा गरे पनि यो हाम्रो वास्तविकता हो । स्कुल, अस्पताल जस्ता अत्यावश्यक कुरामा उनीहरूले सेवा दिएका छन् र धर्म प्रचार पनि गरेका छन् । अरु थुप्रै अभिभावक जस्तै मसँग पनि विकल्प छैन। मैले मेरी छोरीलाई जानेका बुझेका धर्म र ज्ञान मैले उनलाई बाँड्नु पर्छ तर क्रिस्चियनमै उनको आस्था बसेछ भने पनि मेरो गुनासो रहने छैन ।
जन्मजात मान्छेको धर्म हुनुपर्ने कुरा म मान्दिनँ , धर्म जस्तो गहन र खतरनाक कुरा बालिग भएपछि नै रोज्न दिइनुपर्छ भन्ने मेरो नीजि विचार हो । गोर्खा चिल्ड्रेन स्कूलमा उहिले ब्रुनाइमा प्राइमरी पढ्दा आङकाजी सरकै नेतृत्वमा पल्टनको मन्दिर गइन्थ्यो हरेक आइतबार । पण्डितले पुराण र ग्रन्थबाट नीति कथा सुनाउथे जो बहुतै रोचक हुन्थे ।आङकाजी सर र हेडसर शिवकुमार राई सर पालैपालो हार्मोनियम बजाउँदा हामी भजन गाउँथ्यौं
'घनन घनन घंटी बज्यो पशुपति मन्दिरमा ',
त्यतिखेरसम्म मैले पशुपति देखेको थिइनँ , मलाई धर्मको ज्ञान पनि थिएन । जीवन सुखमय र मीठो थियो, पञ्चामृत र प्रसाद जस्तै । आजकाल आङकाजी सरलाई हिन्दूहरुले एक नम्बर शत्रुको रुपमा हेर्छन् , आङकाजी सर हिन्दू एकात्मकता प्रखर विरोधीमा चिनिन्छन् । हिजो आङकाजी सरले सिकाएका सबै कुरा गलत थिए त?
"काटमार नै नगर्ने भए त सागपात पनि त खानुभएन नि, बिरुवामा पनि त ज्यान हुन्छ। यो वैज्ञानिकहरुले सिध्द गरेका छन् । किराँतहरु प्रकृति पूजक हुन् र हामीले प्रकृति विरुद्धमा जानु हुँदैन । फुड चेन प्राकृतिक पध्दति हो ।"हेजेन राईले अस्ति किराँतहरु बीच बलि दिने र नदिने प्रथा विवादमा तर्क दिनुभयो । साधु धर्म मान्ने किराँतीहरु दिपा एवाइ र निरज राईले विरोध गर्नुभयो ।
मलाई त धर्मको नाममा धेरै विभाजन र विभक्ति आएको झैँ लाग्छ , धर्म र एउटै धर्मभित्रै पनि विभिन्न गुट , उपगुट ।
"मान्छेलाई फैलिन मनपर्छ किनकि उसमा इश्वर को अंश रहन्छ , सर्वब्यापकता ईश्वरको गुण हो।"
ज्ञानी साथी भन्थ्यो । मान्छेलाई टुक्रिन पनि मनपर्छ , टुक्राटुक्रा हुन पनि प्रकृति नै हो । के टुक्रिनु पनि इश्वरीय गुण हो त? के गीतामा कृष्णले अर्जुनलाई हिँसा गर्न उकासेका होइनन् र? फेरि बुध्दले त्यत्रो अहिंसाको नीति अपनाए , उनी कसरी दशावतरमा दरिए ? अवसर अनुसार धर्मको ब्याख्या गरिन्छ, लीला को कुरा गरिन्छ , के अवसरवाद नै धर्म हो?
सबै प्रश्नै प्रश्न छन्, तर जीवन प्रश्न मात्रै होइन । टाइफुनपछि छोरीलाई पार्कतिर लैजान्छु, हुरीले रुखका हाँगाहरु भुइँभरि झारेको छ । एउटा जुरेली हाम्रो छेउ आउँछ,
"ड्याडी, हेर त ह्याट लाएको चरा । यसको नाम के हो?" जुरेलीलाई इङ्लिसमा के भन्छ मलाई थाहै रहेनछ ।
प्रश्नहरुको लागि जीवन छोटो छ।



३२. परेली 'र' र परेलीको आकाशको कुरा

-------------------------------------------
"परेलीको आकाशमा " र "मलाई सोध्दै ", मेरी सबैभन्दा मनपर्ने गायिका बहिनी अनुपमा प्रधानले आफ्नो फेसबुकमा दुई गीत प्रचार गरिन् । सुमित विश्वकर्माको नाममा अनलाइन रिभर्बमा रहेका ती गीतहरु बजाएपछि मैले ठानेँ नयाँ गायक रहेछन् यी सुमित, "कस्तो रबिन शर्माको जस्तै ठ्याक्कै स्वर मिलेको त", भन्दै रेनु, रचि र मैले ती दुई गीत सुनिरह्यौं बारम्बार । बिल्कुलै नयाँ किसिमको संगीत संयोजनमा चिरपरिचित रबिन शर्माको टोन सुनेर म नोस्टाल्जिक् भएँ, यी नयाँ साजमा सजिने आवाज रबिन शर्मा नै हुन् भन्ने थाह पाएपछि भन्ने थाह पाएर झन् अचम्म र खुशी लाग्यो, वर्षौं पुरानो साथी भेटे जस्तो ।
एक युगमा रबिन शर्माले गाएका सबै गीत हिट हुन्थे,
"कुन मन्दिरमा जान्छौ यात्री"
"आफैंलाई भार भयो आज आफ्नै जिन्दगी"
"हर्षले मन मेरो झुमेको छ"
"जुनी जुनीलाई मेरी उनीलाई"
"तिमी त्यसै लजायौ म उसै धकाएँ"
"फूल झरे पनि काँडा झर्दैन"
"जब भँवराले फूल चुम्छ"
"ऐनै ऐेनाको रहेछ यो मेरो घर"
"साँझको बेला सुकुमारी केटी"
"बसन्तले सजिएकी मेरी मायालु"
"हृदयको पानाभरि खुशूको रंगले पोतिदिएँ", इत्यादि गीतहरु रेडियोमा गुञ्जिरहेका हुन्थे । रबिन शर्माको गीत दैनिक दिनचर्यामा मिसिएकै हुन्थ्यो । बिचमा यी गायक संगीतबाट यसरी हराए कि कुनै थाह पत्तो भएन । अंग्रेजी समाचार पढ्ने र नेपालको एफ एम इतिहासमै प्रथम पटक उद्घोषण गर्ने यी उद्घोषक छायाँमा परे । बत्ती मुनिको अँधेरो भने झैं संचारकर्मी यी गायक आफै बेखबर भए ।
एल्बम "सिलसिला" निकालेको लगभग ११ वर्षपछि जब वापसी गरे, डा. पुष्कर पराजुली र डा. शरद सिन्हालाई लिएर आए । यी डाक्टरहरुले रबिन शर्माको संगीत सृजनात्मक खडेरीलाई अन्त्य गरे, माथि उल्लेखित दुई गीतको माध्यमद्वारा । रबिन शर्मा शब्द संगीत चयनमा विशेष ध्यान राख्दछन् भन्ने उनका गीतका फेहरिस्तबाट पनि थाह लाग्छ । रबिन शर्मालाई सिल्गुडी बोलाएर ४०-५० गीत सुनाएपछि उनले माथि उल्लेखित २ गीत छानेछन् । सायद बेजोड शब्द कालिगढी र सुमधुर संगीतले रबिन शर्मालाई पुन: गायनमा ल्याउन उक्सायो र कलकत्तामा संघर्षशील कलिला संगीत संयोजक सुमितसँग सहकार्य गर्न पनि राजी गरायो । २ गीत प्रकाशन गरेको केही महिनापछि ३ गीत थपेर "परेलीको आकाश" बजारमा आएको खबर पढियो ।
अहिले यी दिग्गजहरुसँग मित्रवत सम्बन्ध छ फेसबुकको माध्यमले। मेरै विशेष अनुरोधमा केही प्रति सिडी होङकोङ मगाइयो र रसस्वादन गरियो । मलाई थाह छ, वहाँहरु मेरो इमान्दार प्रतिक्रियाको प्रतीक्षामा हुनुहुन्छ । म वितरकको जिम्मेवारी निभाइरहेकोले सुन्ने अरुले नै कलम चलाइदिऊन् भन्ने आश गर्दा पनि कसैले कलम नचलाइदिँदा मै टाइप गर्नु अघि सर्नु पर्‍यो ।
"दाइलाई कुन विधामा कलम चलाउन मनपर्छ?" भनेर बादल भाइले एकबाजि सोधेको थियो,
"म त कलम चलाउन मन पराउँदिनँ भाइ, टाइप गर्न रुचाउँछु " भनेर मैले जिस्क्याएको थिएँ , ती कर्मठ भाइ आजकाल नेपालको कुनै बेकरीमा पाउरोटी बनाउँदै होलान् तर फुर्सदमा यो आलेख पढ्नेछन् ।
होङ्कोङको ब्यस्त जीवनका कारण सुन्ने साथीहरुले समीक्षा गरेर सरहरुको तीता प्रतिक्रिया सुन्ने अपेक्षा पुर्ति नगर्नु भएकोमा मैले नै यहाँ टाइप गर्नु पर्‍यो । यो र्‍ "परेली र" शरद सरको प्रिय 'र' होला, टाइप गर्दा यसको दुरुहताले गर्दा म 'पर्यो' लेखिदिन्छु, वहाँ मलाई मेसेज पठाएर युनिकोडमा "परेली र" लेख्ने विधि पठाउनुहुन्छ । "परेलीको आकाश" एल्बमको शीर्षक,
सायद त्यही परेलीको मोह पो हो कि? 
पुष्कर पराजुलीको कलम नेपाली संगीतको लागि अनुपम उपहार हो, उनका सरल प्रस्तुतिमा पाइने गंभीर जीवन दर्शनले जो कोही लाई पनि आकर्षित गर्दछ । यो एल्बम सुनेर मैले के जानेँ भन्दा आफ्नो जीवनले भोगेको र महशुस गरेको कुरालाई इमान्दार रुपमा अभिब्यक्त गर्दा नै कालजयी गीत बन्दछ । सिमुलेट गरेर कृत्रिम भावना पैदा गरी लेखिएका गीत हृदयको भित्री तह सम्म पुग्नै सक्दैनन् ।
"शिरमाथि फैलिएको बुढ्याइँको पाल छ
यो मन कुद्न खोज्छ तर तनको ढिला चाल छ
वैरी भए सबै कुरा एकान्तको साथ छ
ढुकढुकीमा सल्बलाउने आफन्तको याद छ"
( गीत क्र सं. ३, "पछि फर्केर")
जीवनको अर्धशतक बनाउन अग्रसर स्रष्टाहरुलाई यो गीतले पूरै बोकेको छ , अर्धशतक उक्लिसकेका गायकले त्यही अनुरुप भाव प्रदान गरेका छन् ।
"कस्तो होला जिन्दगानी हामी दुईको संसारमा
पिरतीको भुमरी भई घुमिरहला दोभानैमा
मेरो भोक तिम्रै भयो ,निद्रा सुख तिम्रै भयो
बाँकी जुनी तिम्रै भयो"
( क्र सं. २, "म त परेँ माया जालैमा")
पुष्करका शब्द चित्रात्मक छन्, गीत सुन्दा त्यसले दृश्य पनि मस्तिष्कमा कोरिदिन्छन् । कम्प्युटरका डाक्टर शरद सिन्हाले संगीतमा कति दख्खल राख्दछन् भन्ने यो एल्बममा सिध्द गरेका छन् । उनले यो पंक्तिकार जन्मिनु अघि देखि नै तबला ठोकेका हुन् र यो ताल बाजामा संगीत प्रभाकारको डिग्री पनि हासिल गरेका छन् । तर आफ्नो ज्ञानको अनावश्यक प्रदर्शनी नगरेर, शब्दको भाव अनुसार धुन सिर्जना गरेर शरदले शालिनता देखाएका छन् । ब्लुज शैली, पाश्चात्य कन्ट्री सङ्को झल्कोमा रञ्जित गजमेरको झझल्को दिलाउने नेपाली लोक मेलोडीको सन्तुलित सम्मिश्रणले गीतहरु प्रयोगात्मक र सुमधुर बनेका छन् ।
हुन पनि यी संगीतकार रंजित गजमेर र गोपाल योञ्जनलाई आदर्श मान्दछन् ।
धुन कतिसम्म 'क्याच्ची' छन् भने मेरी ५ वर्षिया छोरी पनि गुनगुनाउँदछे,
"परेलीको आकाशमा डुलिरहने तिमी जून हौ
तिमी मेरो संझनामा खेलिरहने मीठो धुन हौ"
मलाई गर्व लाग्छ, मैले सुनेको छु - हाम्रो जे डी दाइले नेपाली गीत सुन्दा उनकी छोरीले "दिमाग खुस्क्यो कि क्या हो, ड्याडी?" भनेको । मलाई आशा छ, यस्ता गीतहरुले हामी र हाम्रा सन्ततिका बीचको जेनेरेसन् ग्यापलाई भर्ला ।
"मलाई सोध्दै" महत्वाकाङ्क्षाको पछाडि भाग्दा भाग्दै जीवनदेखि टाढा भएको पात्रको कथा हो । जब सम्पन्नताले कदम चुम्छ, तब त्यो पात्रलाई थाह हुन्छ,जीवन त महत्वाकाङ्क्षा होइन रहेछ , माया पो रहेछ । अनि एक्लोपनाले मातेर ऊ आफ्नो घरसँग सोध्न थाल्दछ,
"बाँडू भनी कति खुशी भित्रै साँचेको छु
घरबाहिर आफ्नो नाउँ लेखी टाँसेको छु
त्यहाँ कुनै डुल्ने आँखा पर्‍यो परेन
मलाई सोध्दै आज कोही आयो आएन
सोधेँ घरलाई घरले केही भन्नै सकेन"
(क्र. सं. ५, मलाई सोध्दै)
यही गीतले गायक रबिन शर्मालाई हिट्स एफ एम अवार्ड दिलायो , ५ विधामा(उत्कृष्ट गीत, रचना, संगीत, गायन, संगीत संयोजन) नोमिनेशन भएर यसले २ विधा (गायन र संगीत संयोजन)मा सफलता हासिल गर्‍यो । रबिन शर्मा, दिप श्रेष्ठ जस्ता स्थापित धरोहर गायकको नाम जब कुनै अवार्डको नोमिनेशनमा पर्छ तब त्यो विधाको पुरस्कार उनीहरुकै पोल्टामा पर्छ, स्भाविकै हो, त्यो उनीहरुको गौरवशाली इतिहासले गर्दा हो । सामान्यतय, यहाँ कालिप्रसाद रिजालसँग प्रतिस्पर्धा गरेर पुष्कर पराजुलीलाई पुरस्कार पाउँदैनन् तर सुमित विश्वकर्मा जस्तो नयाँ नामले संगीत संयोजनमा नेपालमा पुरस्कृत हुनु भनेको अरु प्रतिद्वन्द्वीको तुलनामा अत्यधिक राम्रो गरेको भन्ने बुझ्नुपर्छ । सुमितले निश्चय नै राम्रो एरेन्जमेन्ट गरेका छन्, उनका बाजाहरुले हल्ला गर्दैनन्, गीतको भाव र लयको मिठासलाई प्रधानता दिई संगीत भनेको संगति हो भन्ने दर्शाएका छन् ।
यो समीक्षा प्रचारबाजी नहोस् भनेर मैले केही समय कुरेर प्रकाशन गर्दैछु । हिँजो मात्रै गायिका कला चेम्जोङले "दाइ, रबिन शर्माको सिडी सकियो?मलाई २ वटा चाहिएको थियो । रबिन शर्माका डाइहार्ड प्रशंसक साथीहरु हुनुहँदो रहेछ ।" भनेर २ प्रति सिडी लिनुभएसँगै सिडी सकियो, र मेरो वितरणको अभिभारा सकियो र यो चाउचाउ लेख तैयार गरेको हुँ ।
उनका प्रशंसकको लागि गायक रबिन शर्माको वापसी धमाकेदार भएकोमा कुनै शंका छैन । पेशेवर नभई शौकिन् गायक भएकाले रियाज कम भएको हो कि भन्ने आभाष मिल्दछ । उनले नै स्थापित गरेका माइलस्टोन गायकी (आफैँलाई भार भयो, हर्षले मन मेरो, कुन मन्दिरमा)को तुलनामा उनको हालको गायकी पक्कै छैन । तर आफ्नो पेशाबाट अवकाश लिएका यी भाग्यमानी लिजेन्डले बाँकी जीवन संगीतमै होम्ने प्रतिबध्दता जनाएकाले संगीत पारखीले मज्जाले आशा गर्न सकिन्छ । पुष्कर, शरद र सुमितसँग आफ्नो गौरवशाली संगीत यात्रालाई पुन: निरन्तरता दिनु खोज्नु निश्चय नै विवेकशील निर्णय हो ।
नेपाली बजारमा चलिरहेका "अजिनोमोटो संगीत"* हरु भन्दा बिल्कुलै फरक धारमा आएको यो एल्बम श्रवणीय छ र संग्रहनीय छ।
*अजिनोमोटो संगीत दिनेश सुब्बाद्वारा प्रतिपादित विशेषण


३१. सि के राउत 

 

डा. सिके राउतको कुरा - भाग १
---------
एउटा मेधावी मधेसी केटो चन्द्रकान्त राउत विद्याले नै उसले भोगेको संपूर्ण विभेद र कष्टबाट मुक्ति मिल्नेछ भनेर खालि खुट्टा, फाटेको हाफ पेन्ट लाएर स्कूल धाउँछ । जहाँ पढाइन्छ, नेपाली भाषा, संस्कृति र इतिहास जुन उसले बाँच्ने जीवन र समाजको लागि बिल्कुलै भिन्न छ । टिफिन टाइममा भोकलाई ट्युबबेलको पानीले सेक्दै भए पनि उसले त्यो शिक्षा रट्छ किन कि उसलाई पाउनुछ गरीबीबाट उन्मुक्ति । आमाले सर्वत्र चुहिने झुपडीमा ओसिएको गुँइठोँ बालेर खाना बनाउँदा भोकले आफ्नो पेट थिच्दै सन्दुकमाथि लेटिरहन्छ। स्कूल फी तिर्न नसक्दा बारम्बार परीक्षा दिनबाट निलम्बित हुन खोज्छ, एकदिन त आजित भएर आफ्नै साथीसँगीहरुको बाटो इन्डियातिर भाग्न पनि पछि पर्दैन ।
विद्याले नै उसलाई मुक्ति देला भनेर भरमग्दुर कोशिस गरेर एस एल सी मा उच्च अंक पाउँछ, ओभरसियरमा पनि टप गर्छ ।
तर काठमाण्डौले उसलाई उसको कालो वर्णको लागि माफ गर्दैन । पाइला पाइलामा अपमानको विष पिउँछ, अबुझ र अज्ञानहरुकोक दुर्ब्यवहार त छँदैछ, सहपाठी र शिक्षकहरु पनि एक कदम अघि बढेर चन्द्रकान्तलाई पीडा दिन्छन् । पहाडी-मधेसी
भन्नु हुँदैन भन्ने चन्द्रकान्त 'ऋतिक रोशन काण्ड'का कारण सोँच्न विवश हुन्छ ,
"हामीमाथि आक्रमण किन? मैले के अपराध गरें? ऋतिकले, कुनै एउटा भारतीय ठिटोले, नेपाल मन पराउँदैन भने पनि मधेशीमाथि चाहिं आक्रमण किन?"
इन्जिनियरिङ पढ्न पैसाको जोहो गर्न नसक्दा आखिर पहिचानवादी साथीहरु नै उसको साथमा उभिन्छन् र बन्छ ऊ अपमानका श्रृंङखलाहरु छिचोल्दै महेन्द्र विद्याभूषण विजेता इन्जिनियर ।
चन्द्रकान्तलाई पिरोल्छ निम्न कुराहरुले :
"उसले परम्परागतरुपमा लाई आएको धोती र कुर्ता लाउँदा किन अपमानित हुनुपर्छ? दौरा, सुरुवाल, टोपी नलाइकन उसको अस्तित्व किन स्वीकार्य हुँदैन? जन्मेदेखि मैथिली भाषा मात्र बोल्न जानेको उसलाई उसको मातृभाषाबाट विमुख गरिन्छ? किन सधैँ सगरमाथा र गोर्खालीले मात्रै नेपालको परिचय दिनुपर्ने? मधेस पनि नेपाल किन भनिँदैन?"
यस्ता सवालहरु चन्द्रकान्तले भोग्ने हर सन्दर्भमा जोडेर आउँदछन् । एक मोडमा त यी सबै ब्यर्थ सवाल हुन् भनेर सांसारिक मोह त्याग गर्न सन्यासी बनेर पनि निस्कन्छन् तर उसको अन्तर्आत्माले धर दिँदैन । र, आफ्नो अस्तित्व र पहिचानको लागि लड्ने प्रण लिएर फेरि अध्ययनमा जुट्दछन् । यु के को क्यामब्रिजबाट डक्टरेट गर्छन् र यु एसको बीबीएनमा वैज्ञानिकका रुपमा कार्य गर्न थाल्दछ । महिनाको करोड रुपैयाँ कमाउने चन्द्रकान्त खाँडी मुलुकमा भएको नेपाली कामदारहरुको हत्याले नेपालमा मधेसीहरुमाथि भएको आक्रमण र मधेस आन्दोलनको क्रममा भएको राज्यको ब्यापक दमनले सुख सयलको जिन्दगी त्याग्न मजबुर हुन्छ ।
एउटा वैज्ञानिक चन्द्रकान्त राउत मधेसवादी भनाउँदा नेताहरुको असक्षमताले गर्दा मधेसको नेतृत्व गर्न अघि बढ्दछ , अनि ऊ भन्छ
" मधेश नेपालको उपनिवेश हो, ब्रिटिश शासनको अन्त्यतिर, मधेशमा सेन वंशका राजाहरूको शासन थियो। तिनीहरूले ब्रिटिश सरकार र नबावहरूलाई कर बुझाउँदै मधेशमा राज्य गर्थे। सन् १८१६ को डिसेम्बर ८ मा ब्रिटिश सरकारले नेपाल सरकारलाई वार्षिक दुई लाख रूपैयाँ तिर्नुको साटो कोशी र राप्ती बीचको मधेशको भूभाग उपभोग गर्न दिए। त्यो दुई लाख नेपाल सरकारले आफ्नो कर्मचारी र प्रशासन आफैंले धान्न नसक्दा सहयोग स्वरूप ब्रिटिश सरकारबाट पाउने गरेका थिए। राप्ती र महाकाली नदी बीचको मधेशको भूभाग सन् १८६० मा मात्र नेपालमा गाभियो। नेपाल सरकारले सन् १८५७-१८५९ मा भारतमा भएको सिपाही विद्रोह दबाउन ब्रिटिश सरकारलाई गरेको मद्दतको पुरस्कार स्वरूप ब्रिटिश सरकारले त्यो भूभाग नेपाललाई दियो। र त्यसरी मेचीदेखि महाकालीसम्मको मधेशको भूभाग नेपालमा गाभिन पुग्यो।"
इतिहासलाई आधार बनाएर अब ऊ भन्छ, मध्यदेश माथि नेपालको औपनिवेशिक राज हो । त्यसैले, उसलाई स्वतन्त्र मधेस चाहिन्छ ।
क्रमश:
Ref:
http://ckraut.com/


डा. सिके राउतको कुरा - भाग 2

---------
डा. सिके भन्छन् -" नेपाल हाम्री आमा होइनन्, नेपाल त हाम्रो रगत चुस्ने बोक्सी हुन् जसले हाम्रो भूमि, अनाज र अधिकार खोसिरहिन् र बदलामा दासता, अन्याय र गरीबी दिइरहिन्। नेपाल चोखो कुमारी रे! नेपाल त निर्लज्ज रंडी हो जो राती हरेक विदेशीसँग सम्भोग गर्छे तर बिहान आफ्नो कुमारीत्वको अभिमान गर्दै हिँड्छे। इतिहासको कुन कालमा नेपाल स्वतन्त्र र स्वशासित थियो? नेपालमा त अझै गोर्खालीको शासन छ, नेपाल अझै गोर्खालीको पराधीन छ, त्यहाँ स्वशासन कहाँ छ?"
सिकेले आफ्नो आत्मवृतान्तलाई कुशलताका साथ बुनेका छन् , उनले "‘डिनायल टु डिफेन्स्" भनेर अङग्रेजीमा लेखेर बाध्यतावश आफैले नेपालीमा उल्था गर्नुपरेकोले भाषा र शिल्प कमजोर हुने जनाए पनि यो "वैरागदेखि बचावसम्म" सामान्य त्रुटिका अलावा प्रभावकारी छ । उनको कथा पढ्दा म चन्द्रकान्त भइरहेँ र अपमानका विषहरु पिइरहेँ, उनले झेलेको तनावहरु झेलिरहेँ । यसले सिध्द गर्छ सिके सफल वैज्ञानिक मात्र नभई एक कुशल लेखक पनि हुन् ।
आफ्ना अभिब्यक्तिका कारण गिरफ्तारीमा परेका सिकेको बारेमा के भन्न सकिन्छ भने उनी कुशल राजनीतिज्ञ पनि हुन् , माथि उदधृत् प्रपोगान्डा उनले नछेडेका भए उनको आवाज कसैले सुन्ने थिएन, अरुले जस्तै मैले पनि लेख्ने थिइनँ अनि तपाईँले पढ्नु हुन्थेन । आज मलाई लाग्छ सिकेको यो आत्मवृतान्त लाखौंले पढे होलान् र उनको विचार हामीसँग आइपुगेको छ राम्रो वा नराम्रो रुपमा तर हामीलाई यो सोँच्न बाध्य बनाएकै छ कि हाम्रो प्यारो मातृभूमिको काखमा एसिड प्रहार गर्न सिके किन जन्मन्छ?
बुँदागत टिपोटहरु
# सिकेले भोगेको रंगभेदको अपमानजनक नियति श्वैर कल्पना पक्कै होइनन् ती हामीले देखे भोगेका सत्य नै हुन् , त्यो हामीले आत्मालोचना गर्नैपर्छ । सामाजिक सचेतना र जागरण नै यसको समाधान हुन सक्छ ।
# सिकेले भोगेको गरीबी र अभाव भने मधेशको मात्रै समस्या होइन, पहाडका प्रशस्त दारुण कथाहरु छन् । यो गरीब मुलुकको नागरिक हुनुको अभिशाप हो । सायद, भ्रष्टाचाररहित संयन्त्र र आर्थि-सामाजिक विकासले मात्रै यो समस्या हल होला ।
# सिकेले उठाएको पहिचानको संकट पनि टड्कारो छ। नेपालले कहिल्यै पनि मधेसलाई नेपाल भनेर चिनाएको छैन, यो सत्य नै हो , जसले गर्दा मधेसीहरु नेपाली भनेर परिचय दिँदा हीनताबोध गर्न विवश छन् । आफ्नो मातृभाषा, जातिगत पोशाकलाई अनेपाली करार गरिनुले उसको चित्त फाटेको छ । हिन्दू धर्मावलम्बी भए पनि रंगको कारण आफूलाई पहाडे हिन्दूहरुले विभेद गरेको उल्लेख गरेका छन् । "समतामूलक समाजको विकास हुनुपर्दछ ", हामी पनि त त्यही भनिरहेकै छौं, उग्रवादीहरु "हिन्दू राष्ट्र" बनाउन दबाब दिइरहेका छन्, के त्यति बेला अरु धर्मावलम्बीले छुट्टै राष्ट्र माग्नु? अब बन्ने संविधान धर्मनिरपेक्ष, पहिचानसहितको संविधान बनाएर जातिय र धार्मिक विविधतापूर्ण नेपाल बनाए सिकेले अस्तित्व संकटको स्थिति बेहोर्नु पर्ने थिएन होला ।
# सिकेले दावी गरे जस्तै मधेशमाथि नेपालको औपनिवेशिक कब्जा सिध्द भए त विखण्डनको विकल्प सायदै होला कि? संयुक्त राष्ट्र संघको उपनिवेश सम्बन्धि नीति आकर्षित होला नहोला त्यो जानकारहरुले नै बताऊलान् । तर हामीले पढेको बुझेको इतिहासले कम्तिमा त्यसो भन्दैन, तर के थाह, इतिहास जित्नेहरुको घोडा हो भन्छन् । यो शोधमूलक कुरा पनि होला ।
समग्रमा,
सिके पागल होइनन् र उनले भावावेगमा उक्त अभिब्यक्ति पनि दिएका होइनन्, कम्प्युटर प्रोग्रामिङ् का विज्ञ सिके को राजनैतिक चाल बडो चलाखीपूर्ण छ । यसलाई हल्काफुल्का रुपमा लिने धृष्टता गरे नेपालको अखण्डतामा साँच्चिकै संकट आइपर्नेछ । उनको राजनैतिक चाललाई बुझ्न नसके सिकेको विश्व प्रमाणित विद्वतताले मुलुक ह्याक हुने कुरामा कुनै शंका छैन । "सिकेलाई दशैंमा बोका छिनाए जस्तो छिनाउनुपर्छ" भन्ने जस्ता अभिब्यक्तिहरु दिइएको पाइयो, जातिय अहंकार र उग्रवादी विचारहरुले सिकेकै तर्कलाई बल मिल्नेछ । हामीले सिकेलाई बुझाउन जरुरी छ, 'नेपाल' भनेको काठमाण्डौ खाल्डो मात्रै होइन र यो हाम्रा नेता र नीति निर्माताहरुलाई झन् बढि बुझाउनु जरुरी छ । उनको चाललाई विवेक र आत्मीयताले निस्तेज पार्नु पर्नेछ र मलाई लाग्छ, सिके पनि यो खेल हार्न नै चाहन्छ । ऊ भित्रको एउटा बालक जिद्दी गरिरहेको छ, दुनियाँ देखेर भोगेर परिपक्व भएको वैज्ञानिक होइन ।
हुन त विकास सबै क्षेत्रमा उत्तिकै जरुरी छ, र विकासको कुनै विकल्प छैन । तर पनि सिकेले दाबी गरे जस्तै राष्ट्रिय नीति तर्जुमा गर्दा मधेश र मधेशीलाई उपेक्षा नगरी सर्वोपरी हितलाई सम्मान गर्दै वृहत्तर योजना ल्याइनुपर्दछ । जब बेरोजगारी, गरीबी, रोग, आदि जस्ता समस्या रहन्छन् विखण्डनको कुरा निक्लि नै रहन्छ । सिके ले माँगे जस्तो स्वतन्त्र मधेश दिए पनि यी समस्याहरु ज्यूँ का त्यूँ रहने नै छन् , अखण्ड रहेरै तिनको समाधान किन नखोज्ने?
र अन्त्यमा,
के हामी पहाडियाले मधेसीलाई विभेदै विभेद मात्रै दिएका छौं र? आत्मीयताको अंगालो कहिल्यै दिएका छैनौं र ? सिकेले पाएका आत्मीय ब्यवहार किन छैनन् पुस्तकमा? हामीले पनि त कति अपमान सहेका छौं जातिय, क्षेत्रीय कुरामा?
यसैले लेखकको आत्मकथा मिसन् गाइडेड देखिन्छ, उनका अन्तिम ३ अध्यायमा त स्वतन्त्र मधेशको पक्षमा उनका भाषण र वकालत मात्रै छ, जसले मलाई आफ्नो पक्षमा बिल्कुलै जित्न सकेन ।
म यतिखेर संझिन्छु मेरा तराईवासी मित्रहरुलाई , मेरो स्कूलको साथी अनिस चौधरी, रुपेश गामी, शक्ति प्रताप सिंह, किशोर शाह, इन्जिनियरिङ पढ्दाताका मसँग कम्बाइन्ड् स्टडी गर्ने रितेश श्रीवास्तव र मेरो रुममेट प्रमोद साह आदिलाई । साँच्ची , प्रमोद पनि त सिके जस्तै राजविराजवासी, मध्यमवर्गीय परिवारको हो । प्रमोदलाई मैले सदैव असल ब्यवहार गरेको झैँ लाग्छ, सायद त्यसैले म यहाँ विदेशमा रहँदा छँदा मेरो परिवारको लागि उसले मेरा कर्तब्यहरु निभाइदिएको छ।
प्रिय साथीहरु, मलाई थाहा छ,तिमीहरुले पनि भोगेका छौ सिके ले जस्तै अपमान र मानसिक तनाव, तर म तिमीहरुलाई सोध्न चाहन्छु,
के तिमी सिके जस्तै अलग मध्यदेश चाहन्छौ कि मुठ्ठीभर ब्यक्तिहरुले अपहरण गरी वेश्या बनाएको नेपाल आमालाई मुक्त गर्न चाहन्छौ?
अहिले म डा. रुपेश गामीले तिलिचो ताल पुगेर खिचेको तस्वीर हेरेर म गौरवान्वित भइरहेको छु, कुनै विदेशीद्वारा हिमालबारे प्रश्न गरिँदा उसले सिके र मैले जस्तो उसले लज्जाबोध गर्नुपर्ने छैन ।
समाप्त


३०.  हङकङमा आन्दोलन


म राजनीति जान्दिनँ । मैले बुझेको यति हो कि हङकङका नागरिकमाथि अन्याय भएको छ र उनीहरूले आवाज उठाउँदा मैले समर्थन गर्नु मेरो नैतिक दायित्व हो । यो आन्दोलनले सबैलाई जस्तै मलाई पनि नोक्सान गरेको छ र भोलि असल वा खराब के होला मलाई थाह छैन तर आज म हङकङेहरुसँग आँखामा आँखा मिलाउन सक्छु किनकि उनीहरूको शान्तिपूर्ण आन्दोलनलाई मैले समर्थन गरेको छु ।
के ' हामीलाई आफ्नो नेता स्वतन्त्रतापूर्वक छान्न देऊ '
भन्नु गलत हो? सर्वशक्तिमान चीनले यो माग कदापि दिने छैन ,त्यति नबुझेका होइनन् आन्दोलनकारीले र मैले पनि । तर मान्छे न्यायप्रेमी जन्तु हो , अन्यायको विरोध गर्नु मानवीय चरित्र हो। मैले आज साथ नदिए भोलि मलाई अन्याय पर्दा मैले अरुबाट सहायताको अपेक्षा गर्ने नैतिकता गुमाउनेछु । आफ्नो हित नहेरी समर्थन गर्ने म मूर्ख हुँला तर कुनै राजनीतिक पार्टीको झोले वा कसैको हन्डी खाएर फुलेल जुका होइन ।
त्यसैले म आफ्नो विचार राख्न स्वतन्त्र छु र म यो कालो टि सर्टमा पहेंलो रिबन सिउरिन्छु , अन्यायको कालरात्रिको विरुद्धमा एउटा सुनौलो आशाको झुल्का ।
तिमी , म र उ / चाउचाउ कविता
-----
तिमीसँग मेरो न त बोली मिल्छ न नै भाषा
मिल्छ तर हाम्रो न्याय र स्वतन्त्रताको परिभाषा
तिम्रो भाषण नबुझे पनि आशय बुझेँ र मैले ताली पिटेँ
मेरो पसीना देखेर तिमीले चिसो रुमाल दियौ
मैले पसिना पुछेँ
मेरो थकान तिमीले बुझ्यौ
तिम्रो भावना मैले बुझेँ
मैले साथ दिएँ
तिमीले आँसु पुछ्यौ
सँगसँगै अस्तित्वका लडाइँमा मोर्चा कस्यौँ
यसरी हाम्रा जीवनका मूल्यहरु मिले
कति सजिलो छ कुराहरु मिलाउन ।
उसँग मेरो बोली मिल्छ र मिल्छ भाषा
तर मिल्दैन न्याय र स्वतन्त्रताको परिभाषा
ऊ जुन तालमा मादल बज्छ त्यही तालमा नाच्छ
ऊ त्यसलाई कला भन्छ म अवसरवाद भन्छु
ऊ चाकडी गरेर हक निगाह माग्दछ म दुत्कार्दछु
ऊ मलाई अबुझ ठान्छ म उसलाई लालबुझक्कड भन्छु
उसँग मेरो नाक नक्सा मिल्छ
तर किन मिल्दैन केही पनि
म उसलाई संझाउन खोज्छु उ मलाई
हामी मिल्दैनौं तर कतै पनि
उसले आफूले पाउनु र नपाउनुको नापजोखमा
तिम्रो अधिकार देख्तैन
मैले तिम्रो अधिकारको नापजोखमा केही पनि देख्तिनँ
त्यसैले उसँग मेरो कुरा मिल्दैन
कति गाह्रो कुराहरू बुझाउन ।

chau chau poem । चाउचाउ कविता
----
Neither the barricades broken
Nor the tyres burnt
vehicles were undamaged
Resistors were unharmed
Still you voiced out
very clear and aloud
You proved your point
without a single drop of bloodshed
left the devil in thirst and desperate
They say "Buddha was born in Nepal"
I now believe
Buddha is born in Hong Kong
not in one but in thousands.
न रेलिङ् भत्काइयो
न गाडी जलाइयो
न टायर बालियो
न तोडफोड गरियो
तैपनि आन्दोलन भयो
आन्दोलन यसरी पनि हुँदोरहेछ त
हिस्रिक्क परे रक्त पिपासुहरु
कस्ता होङ्कोङ्का मानिसहरू
बुध्द त यहीँ पो जन्मेका रहेछन्
हजारौंको संख्यामा ।



२९. रचिदा - हाम्री छोरी भाग १

उनको आगमन हाम्रो निंति ब्यग्र प्रतीक्षीत थियो । पहिलो गर्भाधान आकस्मिक रुपमा विफल भएपछि, रेनु र म धेरै दुखी भएका थियौं । 
"ज्वाईं सा'प, सानो मन नगर्नूस्। सकुशल जन्मेको पो सन्तान हुन्छ त, अहिले त केवल रगतको डल्ला हो । हामी पनि त्यो मोडबाट गुज्रिसकेका हौं । रेनुलाई सम्हाल्नुहोस् ।"
भोगेन दाइले फोनमा त्यसरी संझाउँदा केही राहत मिलेको थियो मनलाई । आफू त बाबु भइयो तै, रेनुलाई कसरी संझाउन सक्नू भनेर म त्यसै आतिन्थें ।

"कतै अल्पसंख्यक जनजातिको संख्या नियन्त्रित गर्ने चीन सरकारको षड्यन्त्र त होइन? नत्र किन नेपालीहरुका बच्चा यति विघ्न अल्ट्रा साउन्डमा असफल सावित हुन्छन् त?"
अधिराज दाइले त्यसो भन्दा मनमा चिसो लागेर प्राइभेट नर्सिङ होममा समेत जाँच गरेका थियौं। तर पहिलो जाँच आशाजनक देखाए पनि दोस्रो जाँचमा डाक्टरले अनुवंशीय दोष रहेको निर्क्यौल गर्यो । हामी संसारका सबै भन्दा दुखी र दुर्भागी आत्मा  भयौं।

ती दिनहरु भयावह सपना जस्तै थिए, तर एक अर्का प्रतिको माया र आड भरोसाले हामीले ती उच्छ्वासमय दिनहरु छिचोलेका थियौं केवल सुखद भोलिको कल्पनाले । र, उनी त्यही सुखद भोलिको पदचाप लिएर आई, हाम्रो विश्वास मुताबिक । उनको आगमन त्यसैले ब्यग्र प्रतीक्षीत थियो । 

उनको आगमनको तैयारीमा रेनुले विशेष त्याग र समर्पण  गरी । पैसा र पेशाको मोह नगरी ब्यक्तिगत र पेटमा रहेकी रचिदा को स्वास्थ्यलाई पूर्ण स्याहार गरी । उनको स्वानुशासन र समर्पणप्रति म नतमस्तक छु , उनी एक पूर्ण आमा र पूर्ण पत्नी हुन ।

रचिदा जन्मिंदाको रात अझै याद आउँछ, राति अस्पतालमा फोन गर्दा रेनुको मोबाइल स्वीच अफ थियो, भोलिपल्ट बिहान भेट्न भनेर कुमारी छ्यामा र म जाँदा उनी प्रसुति कक्षमा रहेको जानकारी वार्डको नर्सले दिइन् । मुटु जोडले धड्किरहेको थियो, त्यहाँ गएर इन्टरकममा सोध्दा बच्ची र आमा सकुशल रहेको र सी २ कक्षमा सार्ने तैयारी भइरहेको जानकारी  पाएर हर्षित भएको थिएँ । केही क्षण पछि , सानी छोरीलाई च्यापेर ट्रलीमा सुतेकी रेनु गुड्दै ल्याइन । म हर्ष विभोर हुँदै ट्रली सी २ मा नघुसे सम्म पछ्याएँ । बेलुकी भेटघाट गर्ने समयमा आउनू भनेर नर्सले त्यहाँबाट पठाई । बेलुकी भेट गर्ने समयमा कुमारी छ्यामा र म फेरि अस्पताल दगुर्यौं । छोरी कोक्रोमा सुताइएकी थिइन्, म
फोटो र भिडियो खिच्नमा ब्यस्त भएँ । सेप्टेम्बर ५ तारीखको त्यो साँझ नै भेट गर्न रेनुकी फिलिपिनो साथी ले पनि आएकी थिइन् ।
"रविन र रेनु दुवैको मिश्रण रहेछ, रचिदाको रुप " उनले भनिन्, मलाई भने छोरी ज्यादा रेनु जस्तो देखिई ।
 रेनुले आफ्नो प्रसुतिको अनुभव हामीलाई सुनाई । गर्भवती रहेकी कुमारी छ्यामाको सातो गयो होला । त्यही रात मध्यरात तिर नेपाल बाट आइपुग्ने सासुलाई लिन एयरपोर्ट दौडिएँ ।
 फोटोहरु


२८. रचिदा - हाम्री छोरी भाग २

रचिदा आज १७ महिनाकी भई । यो समयावधीमा उनको शारिरीक र मानसिक विकास ले हामी अचम्भित भएका छौं । उनले बिना सहारा हिंड्न थाल्दा हामी खुबै खुशी भएका थियौं । दिनहुँ पार्कमा लगेर उनलाई अभ्यास गराउँदथ्यौं । आफू हिंड्न सकेकोमा उनी आफै गौरवान्वित भए झैं देखिन्थी । आज उनी दौडिन थालेकी छिन् । अहिले उनी खेल्न वा कुद् भन्दा खाइरहेका वा झोला भिरेका अपरिचितहरुका पछि लागेर हैरान पार्दछे । उनको आशे बानी देखेर हामी हाँस्नु न रिसाउनू !




उनी संगीतप्रेमी छिन् , मैले निर्माण गरेका म्युजिक भिडियोहरु युटुब मा लगाइदिंदा उनले निर्निमेष हेरेकी थिइन् रे । सायद अतीतमा कतै सुनेका धुन झैं लागेको पो हो कि? आखिर मैले ती उनी केही ३, ४ महिनाकी छँदा निर्माण गरेका हुँ । खाना खाँदा पनि टि भीमा च्यानल नम्बर ५०० (स्थानीय
संगीत च्यानल) लगाइदिएमा दंग पर्दछे । स्टार प्लसमा हिन्दी सिरियलहरुका शीर्षक गीतहरु आउँदा पनि उनी बिछट्टै रमाउँदथी । चाइनिज, अंग्रेजी,नेपाली, हिन्दी, जे सुकै भाषाको गीत भए पनि उनलाई मतलब हुँदैन । त्यसैले नै संगीतलाई शाश्वत भाषा भनिएको होला । आजकल त उनी नाच्न
पनि थालेकी छे । जब उनी अलिकति घुँडा खुम्च्याएर हात हल्लाउँदै उनी नाच्न थाल्छे, मलाई मेरी बहिनी दिनाले त्यस्तै उमेरमा डाँडाको मावल घरमा तिहारको बेला नाचेको संझना हुन्छ । बच्चालाई पनि अनुशासनमा राख्न खोज्ने आफ्नो मूर्खता त्यसबेलाको आफ्नो सोंच प्रति ग्लानि हुन्छ । आज म
रचिदाका सबै चकचकी हाँसेर सहन सक्छु तर रेनु हैरान हुन्छे, किन कि उनको बिगार रेनुले नै सपार्नु पर्छ । म भने केवल हाँसिरहन्छु, बाल कौतुहलता देखेर ।



रचिदा क्रमश‍ आत्मनिर्भर बन्दैछे, उनी खाना पनि आफै खान थालेकी छे। आधा भन्दा बढी खाना छरे पनि चम्चाले आफै खान सकेकीमा उनी गौरव गरेकी झैं लाग्दछे । पानीको बोतल बोकेर ठमठम हिंड्दै, पिउँदै, पोख्दै हिंड्छे। फोन समातेर फोनमा बोलेको नक्कल गर्दछे । सबै कुराको नक्कल उतार्दछे । अब केवल उनको बोली फुट्ने दिनको प्रतीक्षामा हामी छौं । लाग्छ त्यो दिन पनि दूर छैन ।





यसरी हरेक सन्तान दिनहुँ आत्मनिर्भर बनेर एक दिन गुँड छोडेर जाने दिन आउँदछ,यो संसारको त्यो रित संझिँदा मन गह्रुङ्गो हुन्छ । एक दिन आज हाम्रो पूर्ण आश्रयमा रहेकी रचिदा पनि आफ्नो उद्देश्य प्राप्तिका लागि हामी बाट दूर हुनेछिन् , आफ्नै दुनियाँ बसाउनेछिन् । उनको त्यो दुनियाँमा हाम्रो लागि कति र कस्तो स्थान होला जब हामी परनिर्भर हुनेछौं ।


२७. मुटुको ब्यथा - १

म आफूलाई निरोगी र अक्षयी स्वस्थको धनी मान्थें । यो धारणा कसरी विकास भयो म भन्न सक्तिनँ । सायद पहाडी जिल्ला खोटाङ्गमा जन्मेर त्यहाँको उकाली ओरालीहरुलाई वर्षेनी जस्तो छिचोलेको भएर होला ।  नभए "शरिर आत्माको दास हो,  बलियो आत्मबलले जस्तै कठीनतम् कार्य पनि शरिरले सफल गर्छ" भन्ने मेरो मस्तिष्कमा गडेको विश्वासले हुन सक्छ ।
साँच्चै भन्दा मैले शरिरको ब्यायामलाई भन्दा मन मस्तिष्कको ब्यायामलाई सधैं प्राथमिकता दिएँ । फुर्सदमा या त  म  संगीतमा रमाउँथें या अध्ययनमा । मेरो अस्वस्थताको आभास मलाई त्यो बेला महशुस भयो जब मैले त्यस समयकी प्रेमिका, हाल कि पत्नी रेनुको प्रेरणामा बिहानी दौड लगाउन थालें। जाडोका ती झिसमिसे बिहानीहरुमा पोखराको दिपेन्द्र रंगशालाका एथ्लेटिक्सका ट्रयाकहरुमा लाहुरे भिड्ने जवानहरु डफ्फा डफ्फामा कठोर शारिरिक परिश्रम गरिरहेका हुन्थे । म र राजकुमार पनि बाइकमा हुँइकिएर त्यहाँ दौड लगाउन पुग्थ्यौं । २ वा ३ फन्को मारे पछि मेरो श्वास प्रश्वास नै बन्द होला जस्तो गरी छाति दुख्थ्यो र म थलो पर्थें, राजकुमारले भने ७, ८ फन्को आरामले लगाउँदथ्यो । मैले त्यसलाई गंभीरताको साथ लिइनँ । सोंचें शारिरिक ब्यायामको बानी नपरेकोले त्यस्तो भएको हुन सक्छ । निक्कै समय बितिसक्दा पनि त्यही समस्या दोहोरिरहे पछि मैले महेन्द्र पुलका एक मुटु रोग विशेषज्ञसँग जाँच गराएँ, इको गरेर उनले भने "तपाईंको एओर्टिक भल्भ केही साँघुरो छ,  तर यो सामान्यरुपमा कति मानिसहरुमा हुन्छ नै । कठोर शारिरिक कार्य नगर्नुस् ।" यति भनेर उनले केही औंषधी दिएर पठाए । उनको सल्लाह मुताबिक मैले दौड लगाउन छोडिदिएँ, उनले दिएका औंषधी पनि केही दिन खाएर बेवास्ता गरिदिएँ । उनले यो समस्या सामान्य नै भएको आश्वसनले म पूर्ण रुपमा आश्वस्त भएको थिएँ ।

समयक्रमसँगै जिन्दगीमा स्वाभाविक बद्लावहरु आए । प्रेमिका पत्नी भइन्,  देश छोडेर विदेश लागियो । हङकङमा हाम्रो "काम-घर" को दैनिक तालिका थियो, कहिलेकाहिं रेनु र म ब्याडमिन्टन खेल्न जान्थ्यौं, केही समय खेले पछि मेरो छातिको दुखाइले थलो पर्थें, त्यसै पनि राम्रो खेल्ने उनले मलाई हराइहाल्थिन् । मेरो यस्तो अवस्था देखेर उनी चिकित्सकलाई देखाउन जोड गर्थिन्, म भने "नेपाल गएको बेला देखाउँला नि, यहाँ देखायो भने त ४, ६ महीना पछिको अपोइन्टमेन्ट दिन्छ, रोगले मान्छे बितिसक्दा पनि पालो आउँछ कि आउँदैन " भनेर म टारिदिन्थें । वास्तवमा भन्ने हो भने,  पोखराको त्यो डाक्टरले यो सामान्य समस्या भनेको कुरामा म विश्वस्त थिएँ । एकपटक टन्सिल भएर नजिकैको क्लिनिकमा चिनियाँ डाक्टरलाई देखाउन जाँदा छातिमा स्टेथेस्कोप राखेर " तिम्रो मुटुको कुनै समस्या छ?" भनेर सोधेपछि मैले सहज भनिदिएँ " दुई तीन वर्ष अघि जचाउँदा नेपाली डाक्टरले एओर्टिक भल्भ केही सानो छ तर यो चिन्ताको विषय भने छैन भनेर भनेका थिए ।" डाक्टरले टन्सिलका औंषधीका साथै मुटु रोग जचाउन सल्लाह दिए । श्रीमतीको परीक्षा र नेपालमा आफन्तहरुलाई १५ महीने छोरी भेट्टाउन नेपाल जाँदै थियौं, नेपालमा प्राथमिकताका साथ स्वस्थ परीक्षण गर्ने भन्ने हाम्रो सहमति भयो ।

नेपाल पनि गइयो,  तर गएको केही दिनमा एक बिहान मेरो ढाड सड्के पछि ओछ्यानमा थलो परें । केही दिन डाक्टरको औंषधी  खाएपछि केही सामान्य भयो । छोरीलाई काठमान्डौको चिसोले छोयो क्यार, रोएको रोयै गर्न थाली ।  उनलाई डाक्टर देखाउँदा र दन्तरोग विशेषज्ञ देखाउँदा र   पारिवारीक भेटघाटमा बाँकी समय बित्यो ।

हङकङ फर्केपछि फेरि रेनुले करकर गर्न थाली, "खोइ त शारिरीक जाँच गराएको?" अब भने मसँग कुनै बहाना बाँकी रहेन र छुट्टीको दिन पारेर नजिकैको या मा तेइ जक्की क्लबको क्लिनिकमा देखाउन भनी गएँ । प्रारम्भिक जाँचमा इ सि जी  गरेर डाक्टरले मुटुरोग विशेषज्ञलाई रेफर गरे , ४ महीना पछिको अपोइन्टमेन्ट पाउन सफल भएँ ।


२६. मुटुको ब्यथा - २

photo courtesy: Mekh Grg.
"तपाईंको प्रारम्भिक जाँचपछिको नतिजालाई मध्य नजर गरेर मुटु रोग विशेषज्ञले तपाईंलाई ३ दिनपछि विस्तृत जाँचको निंति संपर्क गर्न भन्नु भएको छ।"
चेक अप गरेर आएको भोलिपल्ट नै याउ मा तेइ क्लिनिकबाट मलाई फोन आयो ।
मनमा चिसो पस्यो तर मलाई के भने ढुक्क थियो भने उसको विस्तृत जाँचको नतिजा नेपाली विशेषज्ञको झैं नै हुनेछ ।


दिउँसो २ बजे म क्लिनिक पुगें, त्यहाँ मेरो रक्तचाप मापन गरियो । जाँच गर्ने नर्सले निधार गाँठो पारी र पुन: परीक्षण गरेर भनी ,"तिम्रो बि पी निक्कै कम छ, केही अप्ठ्यारो महशुस भएको छ?"
मलाई केही भएको थिएन, मैले छैन भनें। मैले साथै लगेको पुस्तक "छापामार" उपन्यास पढिसिध्याएँ
 र सोंचे "लेखकले माओवादी भएर कथालाई तटस्थ रहेर लेखेका भए कति सार्थक हुने थियो, त्यही घटना कथ्य ।"
इ सी जी जाँचपछि विशेषज्ञसँग परामर्शको लागि पालो आयो ।
मास्क लगाएकी महिला डाक्टरले भनी, "तिम्रो बि पी एकदमै कम छ,अनि इ सि जी को नतिजा पनि राम्रो छैन, तुरुन्तै अस्पताल भर्ना गर्नु पर्छ ।"
मैले एक पटक फेरि बि पी जाँच गराउनको लागि अनुरोध गरें। यसपटक मैले आफ्नो ज्याकेट खोलेर नाडीलाई खुकुलो राखें तर नतिजा फरक आएन ।
अनि डाक्टरले भनी "हामी एम्बुलेन्स मगाउँछौं तिमीलाई क्वीन एलिजाबेथ हस्पिटलमा भर्ना गर्न लैजानको निंति ।"
रेनुले अस्पतालबाट आउँदा अण्डा किनेर ल्याउनू है भनेको संझें, फेरि अस्पतालमा चाहिने केही सामान छैन ।
मैले भनें, " डाक्टर, म एक पटक घर पुगेर सिधै क्वी ई मा भर्ना हुन त्यहाँ पुग्नेछु ।"
"तिम्रो बि पि असाध्यै कम छ, ७०। ५५ । यो अवस्थामा तिमीलाई चक्कर लाग्ने र बेहोस हुने, र हर्ट अट्याक हुन सक्छ" डाक्टरले मनाही गरी ।

सबै कुरा मैंले रेनुलाई फोनमा भनें, दिउँसोको निंद्रा सुतिरहेकी उनी विस्मित भई र भरै अस्पतालमा भेट्न आऊँला भनी ।

एम्बुलेन्स आयो र मलाई स्ट्रेचरमा राखी गाडीमा चढाइयो । ती महिला डाक्टर पनि साथै लागी ।

त्यहाँको आकस्मिक कक्षमा मलाई अक्सिजनको पाइप नाकमा लगाइयो,सलाइन चढाइयो र मुटुको स्थिति अवलोकनका निंति छातिमा सेन्सर जोडियो । मोनिटरमा मेरो रक्तचाप, नाडीको गति लगायतका जानकारी आइरहेको थियो । मेरो ब्लड प्रेसर ७०।५५ बाट सुधार नभएको देखेर म अचम्ममा परें ।

आखिर केही त भएको छैन मलाई । महिला डाक्टरले निश्चित विवरणहरु त्यहाँ प्रस्तुत गरिन् र मलाई अस्पतालको तीन तलामाथिको इमर्जेन्सी वार्डतिर सारियो ।त्यहाँ मेरो वस्त्र खोलेर उनीहरुले मलाई अस्पतालको एप्रोन जस्तो पहिरन लगाइदिए । मलाई बेडमा सुताए, रक्त परीक्षण गरे र निरन्तर मुटुको चाल मोनिटरिङ गरे ।



बेलुकी आवश्यक सामग्रीहरुका साथ रेनु आइन् तर ती सामग्री आवश्यक भने थिएनन् । जस्तो कि चप्पल ल्याएकी थिइन् तर मलाई हिंड्न वर्जित थियो, दिशा पिसाब पनि ओछ्यानमै सुतेर गर्नु पर्ने बाध्यता थियो । आफूलाई अप्ठ्यारो लागेर शौचालय जान अनुरोध गर्दा पनि उनीहरुले मलाई मनाही गरे ।

त्यो देखेर मैले सोंचे " अहो, मेरो मुटु त बडो संकटग्रस्त अवस्थामा रहेछ । कति दिन देखि मेरो यो अवस्था थियो मलाई भने हेक्कै रहेन, सामान्यरुपमा मज्जाले काम गरिरहेकै थिएँ ।"
मेरो शरिरको सहनशीलता देखेर आफै अचम्मित भएँ ।

"अब तिमीलाई हामी सघन उपचार कक्षमा स्थानतरण गर्छौं ।" नर्सले भनी र साथै आएका श्वेत वस्त्रधारी सहायकहरुले मलाई पुन: ट्रलीमा राखी गुडाए ।


२५. एउटा चोरिएको गीत र थेराको कुरा

एउटा चोरिएको गीत र थेराको कुरा
-----
हामीले सुनेका गीतहरु र हाम्रो जीवनका विविध सन्दर्भ सँग गाँसिएर रहेका हुन्छन् । त्यस्तै एउटा गीतको कुरा आज बाँड्छु, 
"संझनाको ब्यथामा म डुबेँ
यस्तै नै जीवन पाएँ
हरेक पाइलामा पीँडा पाएँ
सपनीको गहिराइमा
आफूलाई हराएँ"


डि, इ माइनर, जी सजिलो कर्डहरु सानुभाइ दाइ गिटार बजाएर गाउँथे बेल्टारमा । कहिले डाँडाको स्कूलको प्राङ्गनमा खाटै खाट जोडेर बनाएको स्टेजमा, कहिले साझाको फिल्म हलको त्यस्तै स्टेजमा, कहिले बोर्डिङ स्कूलहरुका अभिभावक दिवसमा । उनको घरमा 'सानुभाइ' भनेर बोलाउने भएकोले उनको वास्तविक नाम नै भुलाइदियो । असाध्यै राम्रो फुटबल खेलाडी उनी कालान्तरमा सानुभाइ बाट 'सान्दाइ' मा परिणत भए । राम्रा फुटबल खेलाडीको स्किल भएर पनि उनले ठूलो स्तरमा कहिल्यै मौका पाएनन् । "थेराले सेन्टरबाट ७ जनालाई छलेर बल डि बक्समा पुर्यायो, गोलकी अगाडि आयो त्यसलाई पनि छलायो, लास्टमा बल आउट हान्यो" गलल्ल , बरु जोक बने यसरी । उनका बाबु घोपा क्याम्पमा थेरापिस्ट भएका रे, त्यसैले दाइहरु उनलाई "थेरा" भनेर जिस्काउँथे, प्राय हाँसिरहने सान्दाइ "थेरा" भन्दा भने रिसाउँथे । त्यस्तै जोक उनको संगीत ज्ञानको पनि हुन्थ्यो, डान्सर सूर्य भन्थ्यो ," यो मुला सान्दाइ हामी कट्टु नलाई हिंड्दा देखि गिटार बोकेर हिंड्थ्यो, अझै पनि त्यति मेजर र माइनर कर्डमै अल्मलेर बसेको छ" । अनेकौं संगीत समूहमा गिटारिस्ट भएका सान्दाइलाई भनाइ खाने बानी परिसकेको थियो, हाँस्थे मात्रै , मातेको बेला भए चाहिँ रिसाउँथे । म बेल्टार गएको बेला सधैं भेट्न आउँथे अनि, बजाउँथे उहि डि, इ माइनर , जी अनि बेपर्वाह गाइरहन्थे, पिनासे स्वरमा
"संझनाको ब्यथामा म डुबेँ
यस्तै नै जीवन पाएँ"

"फुटेको भाग्य मेरो
केही उपाय देऊ मलाई
चोटहरु सहने बानी परिसक्यो
अरु नै सजाय देऊ मलाई"
"नितान्त" एल्बमको विमोचन कार्यक्रममा प्रमोद लिम्बुले ओमोबिक्रमको यो गीत गाए । हङकङमा प्राय: गायकहरु चिनेको भए पनि नचिनेको राम्रो गायक भेट्दा हामी सबैलाई जिज्ञासा हुने नै भयो । छेवाड दाइले भेटको प्रबन्ध मिलाए, दिनेश दाइ र म बसेर लेमन टि पिउँदै जीवन र यावतका कुराहरु गर्दै थियौं । असिम मुखियाको कुरा निस्कियो, अनि उनले भने "उसले मेरो त्यो संझनाको ब्यथामा भन्ने गीत चोरेर आफ्नो बनायो" । दिनेश दाइ र अन्यलाई पनि उक्त ब्यक्तिले आर्थिक ठगी गरेका रहेछन् । मार्सल आर्टका विज्ञ प्रमोद दाइले आफ्नो इन्टेलेक्च्युल प्रपर्टीको रक्षा गर्न सकेनछन् । अस्ति मात्रै बज्रजी भन्दै थिए, "मेरो एउटा गजल अनलाइन बाट कपी गरेर एक चोर्नीले आफ्नो गजल संग्रहमा प्रकाशित गरिछे, त्यसले मेरो मात्रै होइन अरुको पनि चोरेकी रहिछे" ।


आज ११, १२ वर्ष पछि मलाई सान्दाइको याद आयो, आजकाल "सान्बडा" भए होलान् , भोलि पर्सि सान्बाजे होलान् । हामी गाउँबाट टाढा भएको मा छाति पिटेर विलौना गरिरहेका छौं हरेक दिन यहाँ तर हेर्नोस् त गाउँमा आखिर के छ? हामी पनि सान्दाइ भन्दा के फरक हुन्थ्यौं होला, अनि गाउँथ्यौं कि त डि, इ माइनर, जी बजाएर
"संझनाको ब्यथामा म डुबेँ
यस्तै नै जीवन पाएँ
हरेक पाइलामा पीँडा पाएँ
सपनीको गहिराइमा
आफूलाई हराएँ"
अनि रक्सी धेरै पिएर मरेको खबर बन्थ्यौं होला ।


२४.  गीत फुल्ने ठाउँको कुरा

गीत फुल्ने ठाउँको कुरा
-----------

आफ्नो फेसबुकको भित्तामा प्रिय गायिका बहिनी अनुपमाले तारीफका साथ दुई गीत सेयर गरिन् , जब मैले बजाएर सुनेँ म हतप्रभ भएँ । शब्दहरु यस्ता थिए,

"मलाई सोध्दै आज कोही आयो आएन
सोधेँ घरलाई घरले केही भन्नै सकेन
........
बाँडू भनी कति खुशी भित्र साँचेको छु
घरबाहिर आफ्नो नाउँ लेखी टाँसेको छु
त्यहाँ कुनै डुल्ने आँखा पर्यो परेन
सोधेँ घरलाई घरले केही भन्नै सकेन"

अहो, एउटा एक्लोपनले मारेको मान्छेको कथा कति विम्बात्मक! 



"परेलीको आकाशमा डुलिरहने तिमी जुन हौ
तिमी मेरो संझनामा खेलिरहने मीठो धुन हौ
म क्षितिज बनेर फैलिनु कि, पूजाको फूल भै वइलिनु कि?

दुख्दा पनि त आनन्द दिने प्रीतिको घाउ भयौ तिमी
धमिलो पानीको भेलमा अल्झेको नाउ भयौ तिमी
म माझी बनेर हेलिनु कि मायाको जालमा जेलिनु कि?"

करोडौं प्रेम गीत भइसक्दा पनि प्रेम गीत फरक ढंगले फरक विम्बका साथ लेख्न सकिने रहेछ, सायद हरेक मान्छेको प्रेमको अनुभव फरक रहन्छ, त्यस हिसाबले अरबौं गीत लेख्न सकिएला ।

सुमित को संगीत संयोजनमा, रबिन शर्माको स्वरमा रेकर्ड भएका यी दुई गीत सुनेर म अति आनन्दित भएँ ।यस प्रकारको गीत लेखन मलाई असाध्यै मन पर्यो, सर्लक्कै विम्ब आँखामा उतारिदिने अनि घरसँग बात मार्ने गीतकार पुष्कर पराजुली,संगीतकार शरद सिन्हा लाई फेसबुकमा खोजेँ। यो फेसबुक अचम्मैको आविष्कार हो , यसबाट निश्चय नै भूगोलको सीमालाई निर्वाध नाघ्ने मीठो सम्बन्ध निर्माण गर्न सकिन्छ । कम्प्युटर विज्ञानका डाक्टर भएकाले संगीतकार शरद सिन्हा पहिले भेटिए । मैले "परेलीको आकाशमा" मा आउन लागेका यी सुन्दर गीतहरुको निंति बधाइ दिएँ । तबलामा संगीत प्रभाकर र कम्प्युटरमा नेचुरल ल्याङ्ग्वजेज प्रोसेसिङका विज्ञ प्राध्यापक यी विद्वानलाई नेपाली भाषामा पनि राम्रो दख्खल रहेछ, मेरो एक चाउचाउ लेख पढेर मलाई "इमान्दारी आफैं भाववाचक नाम हुँदा हुँदै किन इमान्दारीता शब्दको प्रयोग गरेको?" भनेर प्रश्न तेर्स्याए ।

सायद डा. शरदले नै सिफारिस गरेर होला, पुष्कर पराजुली संवाद खोज्दै एकदिन फेसबुकमा झुल्किए । साह्रै विनयी संवाद गर्ने नेपालीका प्राध्यापकलाई समात्ने यही ताकमा थिएँ । भेट्न साथा अरु गीतहरु पढ्न पाऊँ भनेर अनुरोध गरेँ। उनले १० वर्ष अघि प्रकाशित गीत संग्रहको पि डि एफ पठाइदिए- "गीत फुल्ने ठाऊँ" ।

केही हप्ता पछि "कस्तो लाग्यो?" भनेर प्रतिक्रिया मागे,
"राम्रो लाग्यो तर किन राम्रो लाग्यो त्यो चाहिँ विश्लेषण गर्न बाँकी छ" भनेँ।

गीत फुल्ने ठाउँ भित्र ,शहर यस्तो देखिन्छ,

मान्छे मर्दा मान्छेले रुन बिर्सियो
दौडी दौडी जमानाले भन के दियो
साँचो निद्रा आउनै छाड्यो फूल काँडा भो
सबै भन्छन् दुनियाँ यो कति सानो भो
(दुनियाँ सानो भो रे)

ग्लोबल भिलेज भन्छन् , दुनियाँ खुम्चेर सानो गाउँ भइसक्यो भन्छन् तर मान्छे डिप्रेशनको शिकार छ, इन्सोम्नियाको शिकार छ, मानवताको बिमार छ ।

एक्लै बसी रुने रोग लाग्यो रे सहरमा
यता सबै पढ्दैछन् लौ लेख्या छ खबरमा
हाम्रो पनि कहाँ छ र शान्ति गाउँ-घरमा
(छ र शान्ति गाउँ-घरमा)

पुष्करको कलम सरल शब्द र गंभीर भावार्थ राख्नका लागि सिध्दहस्त छ । शब्दहरु पानी पिए जस्तै सजिलै दिमागमा पस्छन् र विम्बको मदतले एउटा विचारको, एउटा भावको निर्माण गर्छन् ।

"टुक्रा टुक्रा जिन्दगी छ
साँचो मनले को खुशी छ?
हास्ने मुहारभित्र पनि बाँच्ने मुटु दुखी नै छ
छातिभित्र ढुकढुकी छ लाग्छ तर प्राण छैन
छरिएको सपना छ जसको कुनै दाम छैन"
(हेर हेर हिमालमा)

म कसैको नभई बाँचेको छु
सबैको भएको छु
धेरै युध्द मैले लडेको छु
जितेर हारेको छु
म बगर बगर भइरहेछु बाढी चले त हुन्थ्यो
संतापको ताप म भित्र छ हुरी चले त हुन्थ्यो ।
(युध्द लडेपछि)

पुष्करका गीतहरुले चिया पसलको केटोलाई पनि बोकेको छ, चियाबारीका मजदुरको पीँडालाई पनि सुम्सुम्याएको छ, सडक बनाउने आमालाई पनि माया गरेको छ । उनका गीतहरु वास्तव मै लोकतान्त्रिक छन् ।

कसको कोखमा कहाँ जन्मेँ, माटोमाथि फलेको रे
मान्छेहरु जिस्क्याउँछन् आकाशबाट झरेको रे
बाढी चल्दा कुन्नि कहाँ म त झन्नै मरेको रे
टिप्दा टिप्दै नसकेर हैजाले पो छोडेको रे
(चिया-पसलको केटो)

चिरा चिरा परेका खुट्टा मसिन बनेका हातहरु
छोरा छोरीलाई ठूला बनाउने रातका गुनगुन बातहरु
चट्टान पगाल्ने गर्मीमा उहि छ इच्छा उहि रहर
उस्तै बाँचिरहन्छ जस्तै चियाको हरियोपन सुन्दर
(जाऊँ जाऊँ चियाबारीमा)

घामको रापमा खोजिरहेको बतास चिसो
कालो धुँवामा जमिबसेको पसिनाको ढिको
तर देखेँ तिम्रा आँखामा सपना मिठो

सुकिला कपडाभित्र तिम्रा भावीहरु
थमाइदिनु तिनका कोमल कोमल हातमा
कलम किताप कापीहरु
(सडक बनाउने आमा)

उनले "सानाहरुलाई" भनेर छुट्टै सेक्सन् बनाएर बालगीतहरु पनि राखेका छन्, नेपाली भाषामा बालगीतको महत्वलाई उजागर गरेका छन् । त्यहाँ यस्ता गीत पढ्न पाइन्छ ,

हुरुर्र हा.... उडी जा
नबस् चरी धानैमा
मिठो मिठो फल खा, मलाई पनि लिईआ
जा न उडी वनमा, नबस। चरी धान मा ।
(नबस् चरी धानैमा)

हरबर हरबर तोरीको फूल
तोरीको फूलमा भमराको हुल
झिमझिम आँखा झिमिक्क
शिरमा चक्कर पर्यो नि
टक्रयाक्क टुक्रुक बसौं साथी
आकाश घुम्यो फिनिनी्
(हरबर)

हाट भर्न जानलाई आज ढिलो भयो
चिप्लिएर लड्ने डर छ बाटो हिलो भयो
मोटर चढी जानेहरु मोटरभित्रै बस्छन्
बाटो छेउ हिँड्नेलाई हिलो छ्यापी जान्छन्
(खेल्नलाई अबेर हुँदैछ)


कहाँ कुन ठाउँ गीत फुलाउँदा रहेछन् यस्ता मीठा सधैं चिनिरहेका साथी जस्ता गीतहरु भन्दा उनी भन्छन् -

कुराहरुको बस्ती पसेर अर्थको गाउँ भेटिन्छ
नमर्ने जीवन बाँच्नेहरुको छातिको घाउ देखिन्छ
मान्छेहरको लहरमा उभेर
गाउँ गाउँ सहरमा पुगेर
जहाँ मनको भाका नबोली सुनिन्छ
त्यहीँ एक कुनामा मेरो गीत जिउँछ
(गीत फुल्ने ठाउँ)

पुष्कर भारतीय नेपाली हुन्, तर उनले खेलेका खेलहरु, देखेको प्रकृति, पर्यायवरण,समाज, उनले भोगेका ब्यथा, उनको मनमा उठ्ने तरंगहरु तपाईं हाम्रा भन्दा केही नै फरक छैनन् । नेपालबाहिर पनि नेपालीत्व अझै बलियो भएर बाँचेको रहेछ, त्यसको प्रमाण यो गीत संग्रह हो । १० वर्षपछि उनको गीत लेखनले कस्तो फड्को मार्यो भन्ने कौतुहलताको साथ उनको आउन लागेको गीतसंग्रह पढ्ने लोभले आज मलाई यो गीत संग्रहको समीक्षा गर्न बाध्य बनायो। तर मलाई पुष्करका गीतहरु मनपर्नुका कारण यहाँ लेखे जति मात्रै पक्कै होइनन्, वास्तवमा किन यी गीतहरु मन परे म अझै सोँच्दैछु ।

लाई
----
Pushkar Parajuli


२३. किताबको कुरा

किताबको कुरा
--------------------

'किताबेँ बहुत सी पढी होँगे तुम ने
मगर कोही चेहरा भी तुम ने पढा है?'
हुन त यो रोमान्टिक बलिवुड गाना हो तर मलाई यसले बडो संगीन सवाल गरे जस्तो लाग्छ । मान्छेले मान्छेलाई पढ्न सक्नु पो जीवनको सबैभन्दा ठूलो दर्शन हो त । जति पनि ठूला दार्शनिक हरु छन् तिनले समयलाई पढे अनि त्यस समयका मान्छेलाई पढे ,त्यसै अनुरुप दर्शनको ब्याख्या गरे ।


हो, मान्छेको मुहारमै उसका कथा, ब्यथा लेखिएको हुन्छ । बिहानै मलाई यो विचार आइरहेको हुन्छ, म सडक सफा गर्दै गरेकी बूढी छ्यामालाई देख्छु , उनको अनुहारमा सम्पतिको लालच पढ्छु र पढ्छु निकम्मा दुर्ब्यसनी सन्तानको ब्यथा पनि ।

एउटा किताबबाट अर्को किताबमा सर्छु । आकर्षक पहिरनमा ग्राहक कुरेकी चिनियाँ युवती बिहान बिहान ग्राहक कुर्दैछे । नेपालमा भए कुकुरले गु घिच्न नपाई भन्न सकिन्थ्यो ,यहाँ त मान्छे भन्दा महँगो कुकुरको ज्यान छ,त्यसो भन्न पनि नमिल्ने । उनको मुहारमा के छ त भनेर पढ्न खोज्छु, चीनको कुन प्रान्तमा उनको नाबालक बच्चा होलान् ,वृद्ध आमा होलिन्,लोग्ने अर्को प्रान्त तिर श्रम गर्दै होला । मेरो कल्पनाले पंख हाल्न थाल्छ । उ मस्केर 'हाइ' भन्छे , आतिएर म जवाफ नदिइकन अगाडि बढ्छु । उसको मुहारमा निराशा र विषाद देखिन्छ ।

'एउटा खुल्ला किताब हुँ म
तिमीले पनि पढे हुन्छ
अरुले जस्तै पढे पछि
पानाहरु च्याते हुन्छ'
जस योञ्जन प्यासी को यो गीत जस्तै बरु फेसबुकमा धेरै किताबहरु छन् असरल्ल । कोही आफ्नो नयाँ कारको धाक दिँदै,कोही नयाँ घरको,कोही आफ्नी नवप्रेमिकाको,कोही संसारलाई सराप्दै छन् ,कोही समाजप्रतिको आफ्नो योगदान जताउँदैछन्।

फेसबुकमा थरिथरि का रोचक रोचक फेस छन् । यसले गर्दा कुनै बुक पढ्ने टाइम र जाँगर पनि चल्दैन ।अब त 'फेबरेट बुक 'को उल्लेख गर्न परे फेसबुक लेख्न पर्ला ,कसैले 'स्टेर दिन्छस् ?दाँत गन्दिऊँ?' पनि नभन्ने ।

अनि भन्न पनि सकिने
' पढा है मेरी जान बहुत सी पढा है' ।


२२. राजीनामा

राजीनामा 
---------
एमनले राजीनामा दियो ,त्यो फिलिपिनो जेहेन्दार केटो क्या त । शारीरिक स्फुर्ति ,मानसिक तन्दुरुस्ती बलिवुडको नायक जस्तो जवान ठिटो ।उसको लगनशीलता र दक्षता चिन्ने कसले उसलाई कसले काम नदेओस् पनि । दोब्बर तलब सुविधा पाएकोमा सबैले उसलाई बधाई र शुभकामना दिए । अब कतिले मनैले दिए ,कतिले मुखले मात्रै दिए, कतिपयले जलेर पनि दिए । म पनि उसलाई शुभकामना दिन अघि बढेँ मनैले , किन कि सेभेरेन्स पेमेन्ट लिएर नोकरी छोडूँला भनेर बसेको बूढो म र महत्त्वाकांक्षी उ बीच कुनै किसिमको प्रतिष्पर्धा थिएन ।


मैले पछिल्लो कंपनी छोड्दा ताका का दिनहरू संझेँ । त्यो मेरो डेस्क; त्यो मेरो लकर, त्यो मेरो कुर्सी ,त्यो मेरो कम्प्युटर,त्यो प्यान्ट्री, त्यो टावर,सबैलाई मैले धेरै नै मिस् गरेको संझेँ । कतिचोटि झन्डै झुक्किएर पुरानै कंपनीको बिल्डिङ्मा छिरेको र फोनमा बोल्दा पनि पुरानै कंपनीको नाम भनेको ।

अनि मैले उसलाई भावुक हुँदै भनेँ,"तिमी यी डेस्क,कुर्सी,यो कप, यो तिम्रो कम्प्युटर सबै मिस् गर्नेछौ, फोटो खिचेर लैजानु ।"
उसले सहजै भन्यो " गलत, यी सब त त्यहाँ पनि पाइन्छन् । बरु म तिमी र तिमी जस्ता साथी लाई मिस् गर्छु । आऊ फोटो खिचौं ।"


२१. स्वास्थ्य परीक्षा

स्वास्थ्य परीक्षा 
--------

मैले पहरेज गरेर औषधि सेवन गरेँ तर पनि विविध ब्यस्तताले नियम पुर्याउनबाट चुकिरहेँ । त्यसैमा तोकिएको समयभन्दा आधा घन्टा ढिलो पुगेको रिस मिसाएर डाक्टरले गाली गर्यो ,"तिमी आफ्नो शारीरिक स्वास्थ्य को चिन्ता गर्दैनौ यदि भने मैले चिन्ता गरिदिएर हुन्छ ?" 


मन मिल्दो साथीहरू भेटिँदै गए म रातभर मातेँ, कहिले भावनाले मातेँ, कहिले मदिराले मातेँ, कहिले संगीतले मातेँ , कहिले कविताले मातेँ , अनेक बहानामा मातेँ, कहिले कुनै बहाना नपाएकोमा पनि मातेँ
। थुप्रै अनिँदा रात बिते, थुप्रै पटक थुप्रै नियम भंग भयो ।

फेरि अस्पतालको जाँच आयो,स्कूलको जाँच जस्तै डराएँ , मानौ त्यो डाक्टर डाक्टर नभएर मेरो शिक्षक हो । यसपालि मेरो रक्त परीक्षण र रक्तचाप को रिपोर्ट हेरेर यो पटक उ खुशी भयो । मैले थाह पाएँ म त शरिरले होइन आत्माले मात्रै पो बाँचेको रहेछु । तिमी के ले बाँचेका छौ हँ?


२०. डबल भैइया

डबल भैइया
-----------
नेपालमा रहेको साथीसँग फोनमा गफ गर्दै रहँदा,कवि दाइलाई ग्राहकले भनेछ,"भैइया,एक चाय दे दो"। 

"आम्ममम् ,के हो तँलाई त भैइयाले पनि भैइया भन्छ त? हङकङ बसेर भैइयाको पनि भैइया पो भइस् हगि!"

उता नेपालबाट घोचपेच आउँदा यता हङकङबाट कवि दाइ अकमक्क परेछन् सायद ग्लानि पनि भयो होला। 

"हो नि त म भैइया। नेपालमा समोसा बेच्ने, चिया बेच्ने, काम भैइयाहरुले नै गरिरहेका छन्। म हङकङमा पनि त्यही बेचिरहेको छु । मेरा ग्राहक कति भैइया छन् त्यसैले, अझ म त भैइयाहरुको पनि भैइया । डबल भैइया ।"मनमा यति तर्कना चलेपछि उनलाई हाँसो उठेछ । 


आफ्नो ब्यवसायको तीता-मीठा अनुभव कराओकेकी नव-ब्यवसायी रोशा बैनीलाई सुनाउदै थिए ।
"स्वरोजगार सानो नै किन नहोस् यो नै कालान्तरमा उत्तम हुन्छ।" नेपालका मारवाडीहरु र मनाङगेहरुको उदाहरण दिँदै प्रदिप कन्दङवा दाइले भने ।

"हो नि, नाउ ब्यवसायीहरु मार्फत् नेपालको करोडौं रुपियाँ बिहार गइरहेको छ ।" दिनेश सुब्बा दाइले न्युज रिपोर्टको उल्लेख गरे ।

"तर कहिले कहिले त कस्तो निहुँ खोजुवा ग्राहक आउँदा रहेछन् दाइ", रोशाले गुनासो ब्यक्त गरिन् ।
"हो नि, कतिलाई त मुखमै हान्दिऊँ जस्तो लाग्छ । सहनुपर्छ, बिस्तारै बानी पर्छ ।" कुनै बेला मान्छे कुटेर गाउँबस्ती लुकिहिंडेका डबल भैइया कवि दाइले भने ।

स्वरोजगारी ज्ञान दाइ मख्खै थिए; आज उनलाई नयाँ सालको जमघटको अर्को निम्तो पनि भ्याउनु थियो । सानैदेखि धेरै पढेर ठूलो जागिर खानुपर्छ भन्ने मान्यता राखेर हो कि हाम्रो समाजमा उध्योग र उध्यमीहरुको अकाल परेको र हामी सबै विदेशीनु परेको?

७१ सालको नयाँ वर्षको दिन सबैले स्वरोजगारको पक्षमा अभिमत ब्यक्त गर्दा मैले के जानेको छु ;मचाहिँ अब के ब्यवसाय गरौं भनी गम्न थालेँ , बैंक ऋण तिर्न अझै साढे तीन वर्ष डल्लै रहेको संझेर थिल्थिलाएँ । हो नि त, स्वरोजगारको निम्ति जम्मा पुँजी नि चाहियो नि फेरि गोलमालको गीत जस्तै यो सर्कुलर प्रोसेस हो नि;

भुख रोटी कि हो तो पैसा कमाइये
पैसा कमाने के लिये पैसा चाहिये
माँगे से न मिला तो पसिना बहाइये
बहता है पसिना तो रुमाल चाहिये
रुमाल बन गया अगर भी कमीज फाडकर
कमीज के लिये भी तो कपडा चाहिये
अरे कपडा किसी ने दान मे दे दिया चलो
दर्जीके पास जाके वह पहले सिलाइये
गोलमाल है भइ सब गोलमाल"
अन्तमा हाम्रो स्वरोजगगारी डब्बल भैइया को मीठो गीतसहित धन्यवाद 


१९. आज छुट्टीको दिन

आज छुट्टीको दिन दाइहरुसँग मर्निङ वाक् जाँदा चिम सा चुइमा विपरित दिशाबाट कामतर्फ हान्निएका मान्छेका हुलहरुको मलिन अनुहार देख्दा महशुस भयो अरु दिन त म पनि यही मध्येको एउटा असन्तुष्ट, कुण्ठित र थकित अनुहार हुँ । भीडको सहि अनुहार पहिचान गर्न भीडको विपरित दिशा हिंड्नु पर्दो रहेछ , भीडसँगै हिंडेर नहुँदोरहेछ ।योगेशराज मिश्र सरले लेख्नु भएको एउटा पुरानो गीतको अलिकति अंश संझिन सकें, 


एउटा दोबाटो देखि
अर्को दोबाटो सम्म
हिंड्नै पर्ने गोरेटो
पुग्नै पर्ने गन्तब्य
रोज्नै पर्ने विकल्प अनि
तिमी भन्छौ उम्कने
उपाय केही छैन
...................

चिन्तालाई चुँडालेर
भीडबाट एक्लिएर
आफैँलाई सोधी हेर
उपाय छ कि छैन ।"


१८. राजु र अमर

राजु र अमर मिठाइ किन्न दोकान मा गए । दोकान्दार ब्यस्त थिए । बट्टा मा राखेको रङ्गी बिरङ्गी मिठाइ देखेर दुवैको मुख मा पानी आयो । राजु ले भन्यो " अमर, मिठाइ झिकेर खाउन है । "
"हुँदैन साथी, चोरी गर्नु हुँदैन"
"कसैले देख्या छैन, खाउँ न । केही हुन्न "
"कसैले नदेखे नि इश्वर ले देखेका हुन्छन् नि "
इश्वर को कुरा सुनेर राजु को पनि चित्त बुझ्यो ।

केही बेर पछी दोकानदारलाई फुर्सद भयो । उनी हरु ले मिठाइ किने । उनी हरु को धैर्यता देखी खुशी भएर दोकान्दारले , एक एक मिठाइ थपी दिए ।

प्रिय, हो, म धेरै बिर्सिन्छु , कहिले घर बाहिर जाँदा बत्ती निभाउन बिर्सिन्छु, कहिले तिमीले सुकाको लुगा उठाउ है भनेको बिर्सिन्छु, shopping जाँदा सामानहरु किन्न बिर्सिन्छु । तर हेर त पच्चिस साल पहिले ४ क्लास को नैतिक शिक्षा मा पढेको कथा र पात्र हरु अझै याद छ । के तिमीलाई याद छ, भैरव ले राम सिं को ज्यान कुन परिस्तिथिमा बचाएको थियो ? रमाइला, सहयोगी, गफाडी हुलाकी गोपाल बहादुर घले का किस्सा ? बलबहादुर को बुद्धिमतता अनि गोरी को त्यो रुप को बयान?

Justification for my forgetfulness to my beloved wife 
आधुनिकीकरण सँगै नैतिक् शिक्षा पाठ्यक्रम बाट हटाइयो त्यसैले अाफ्ना बाल बालिका लाई नैतिक् ज्ञान दिने अभिभारा अभिभावकमा आएको छ कि ?


१७. उनकी साथीको ड्याडी र ममीको

उनकी साथीको ड्याडी र ममीको इन्गेजमेन्टपछिको फोटो हेर्दै मेरी साढे चार वर्षीया छोरी सोध्छे, "अनि तिमी खोई त?" । "म छैन " उनकी साथी सहज जवाफ दिन्छे । "काँ छौ त? हस्पिटलमा ?" मेरी छोरी झन् उत्सुक हुन्छे , "हैन, काँ पनि छैन , मेरो ममीले भनेको" उनकी साथी निर्धक्कै जवाफ दिन्छे । स्पष्ट उनका आँखाहरुमा प्रश्न रहि नै रहन्छ । मेरी छोरीको उत्सुकता मेटिँदैन तर साथी अन्तै खेल्न लागेकीले थप झिंज्याउँदिन । मसँग पनि यसको जवाफ छैन , यो प्रश्न लिएर उनले जीवनभरि हिंड्नु पर्नेछ । यो जीवन कहाँबाट आउँछ अनि कहाँ जान्छ, सायदै कसैलाई थाह छ । यहाँ त धेरै मानिस जाने जस्तो अभिनय गरेर मानिस उल्याउँछन् ।


१६. नीति - नियमको कुरा

नीति - नियमको कुरा
----------
साथीहरु सोध्छन्, "सधैँ बस्ने अब होङकोङ नै?" । मसँग नि्श्चित जवाफ छैन किन कि जिन्दगी नै अनिश्चित छ । भर्खरै त खलनायक चरी बिते, नायक श्रीकृष्ण श्रेष्ठ बिते, त्यो भन्दा अघि मावली दाइ बिते, अझै त्यो भन्दा अघि भानिज भाइ बिते । तर पनि "यदि बाँचिरहेमा" भन्ने पदावली थपेर सोधेका जस्तो लाग्छ । हो, "यदि बाँचिरहेमा सधैँ होङकोङ नै बस्ने?"
"खै", मेरो जवाफ । 
होङ्कोङको वर्तमान ब्यवस्था सन् २०४७ साल सम्म मात्रै हो, त्यसपछि चीन सरकारले के लाद्ने हो !

पैसा बिना नेपालमा बाँच्न गाह्रो छ, बीचमा बिछट्टै पैसा कमाउने संभावना त छैन, बिछट्टै पैसा कमाएर पनि नेपालमा गएर बस्न गाह्रो पर्ने अवस्था छ किन कि त्यहाँ नीति नियम छैन । यसो भन्दा कति देशभक्त साथीहरु रिसाउनेछन् तर यो वास्तविकता नै हो । गायक रोशन गुरुङको गीत जस्तै चिनेको वा किनेको मान्छे छ भने जे पनि सदर हुन्छ, अन्यथा सबै चीज बदर हुन्छ । म नेपालमा जागीरे छँदा आफैले कति बदर भोगेको छु र तिनलाई सदर पनि गराएको छु ।

हालको होङ्कोङ्को कुरा बेग्लै छ, पत्रकार जेबी पुनका बाबा अमेरीका भ्रमणमा रहेका जुलाई २९ मा उतै बिते । किरिया क्रम उतै गर्ने भएकाले जेबीको लागि दुई भाइ मिलेर जुलाई ३१ का दिन अमेरीका भिसा आवेदन भर्यौं अनलाइनमा । नियमित तवरले अगस्ट २१ को अन्तर्वार्ता मिति पाएका उनले भ्रमण ब्यहोरा खुलाएपछि अगस्ट ४ तारीखको अन्तर्वार्ता मिति पाए । दुर्भाग्य एक्लै आउँदैन भने झैं, जेबीको पासपोर्ट यसैबीचमा हरायो । उनले पुलिस रिपोर्ट गरे र त्यही रिपोर्ट लिएर नेपाल कन्सुलेटबाट तत्काल अस्थाई पासपोर्ट बनाई ४ तारीख अमेरीकी कन्सुलेट गए ,उनलाई भिसा दिइयो ।

अब उनको पुरानो पासपोर्टको होङकोङको भिसालाई अस्थाई पासपोर्टमा सार्नु पर्यो नत्र फेरि होङकोङ वापस आउन नपाउने! उनी होङकोङ अध्यागमन गएछन्, अध्यागमन अधिकृतले यस्तो कामको लागि एक हप्ता लाग्ने अड्डी कसेछ । आफ्नो संयम गुमाएर जेबीले अङ्ग्रेजीमा " तिमेरु चिनियाँहरु साम्प्रादायिक छौ" भनेर कराएर आएछन् ।

"यिनीहरु हामी नेपालीलाई विश्वास गर्दैनन् । हुन पनि हामी नेपालीहरु नै हो, नियम कानुनको फाइदा उठाएर अनैतिक काम गर्ने पनि । तर सबैलाई एकै तुलामा जोख्नु मिल्दैन नि । यो २०१४ साल मेरो लागि ठूलै दुर्भाग्यपूर्ण रहेछ" उनले फोनमा होङ्कोङ्का चिनियाँप्रति भएभरको रोष ब्यक्त गरे, उनको स्वरमा बाबु बित्नुको विषाद लुकेको थियो ।
"अब एक हप्ता कुर्ने त होला नि" निराश भई उनी भन्दै थिए ।

"ल भोलिको फर्स्ट आवरमा एउटा इमेल पठाऊँ, उनीहरुले कार्यवाही पक्कै गर्छन्" मैले भनेँ ।
"न्युयोर्कमा मेरो बाबा बितेर काज किरिया गर्न म जान चाहेको बुझी नेपाली, अमेरिकी कन्सुलेटले सहयोग गरेको अवस्थामा होङकोङ अध्यागमनको असंवदेनशील ब्यवहारले म क्षुब्ध छु, कृपया हरहालमा कार्यवाही गरियोस्" भन्ने आशयको इमेल हामीले
भोलिपल्ट बिहान पठायौं ।

म अफिसमा थिएँ, करीब १२ बजेतिर जेबीको फोन आयो, ट्रेनिङमा भएकोले लिन सकिनँ ।
" के भयो सर?" मैले मेसेज पठाएँ ,
"काम भयो नि, इमेल गएको केही क्षणमै मलाई धेरै चोटि फोन गरेका रहेछन् । थाह पाइनँ, भ्वाइस मेल छोडेका रहेछन् , कल ब्याक गरेको, अध्यागमन अधिकृतले क्षमा याचना गरी तुरुन्तै आऊ तिम्रो काम हुन्छ भन्यो, अहिले १० मिनेटमा मेरो काम हुन लागेको छ । तिम्रो इमेल पठाउने सुझावको लागि धन्यवाद!" जेबी एक प्रकारले खुशी थिए ।
फोन गरेर मैले भनेँ," ब्यवस्थाले चलेको देश हो सर, ठाउँमा आवाज पुर्याउनुपर्छ, कार्यवाही हुन्छ "
"हुने रहेछ त नि, हिंजो त म नेपालकै तरिकाले पड्केँ नि । हिँजोको ब्यवहारप्रति आजको अधिकृतले धेरै पटक माफी माग्यो" हिंजो उनले सिङ्गो जाति प्रति पोखेको घृणाप्रति आज जेबीमा शरम र पश्चाताप थियो ।

कति कमी कमजोरी त पक्कै छन् तर मलाई विश्वास लाग्छ यहाँको ब्यवस्थामा । केही हप्ता अघि, एउटा क्लिनिकले मलाई रसिद दिएन, मैले पुलिसलाई रिपोर्ट गरेँ , पुलिस तत्काल त्यहाँ आएर त्यहाँको क्लर्कलाई रसिद दिन आदेश दिए तर ती क्लर्कले मानिन । ती पुलिसले मलाई उपभोक्ता समितिमा रिपोर्ट गर्ने सल्लाह दिए, मैले रिपोर्ट गरेँ । त्यो क्लिनिकलाई २ पटक ध्यानाकर्षणको पत्र पठाइसकिएको छ समितिद्वारा, र अब अगाडि मुध्दा दायर गरिने चेतावनी दिइएको छ । त्यो १८० डलरको रसिदको भर्पाइँ म बिमा कम्पनीबाट नपाउँला सायद तर त्यो रसिदले यहाँको ब्यवस्था प्रतिको आस्था र विश्वासमा थपघट पक्कै गर्नेछ ।

"साले, जाबो १८० डलरको लागि यति झमेला गरिस्? हाम्रो देशमा भए तँलाई डन्डा लाइन्थ्यो", मेरो वृतान्त सुनेर भारतीय सहकर्मी रुपेश भन्छ, म हाँस्छु ।


१५. हङकङ झापा मञ्चको प्रथम साँगीतिक साँझको कुरा

हङकङ झापा मञ्चको प्रथम साँगीतिक साँझको कुरा
-----------------------------

"तारा थापा दिदी, राम थापाले यो गीत बेस्सरी जमाउनुहुन्थ्यो स्टेजमा । झन्डै ३१ वर्षको सहकार्य छ दिदीसँग तर पनि मैले वहाँसँग गाउने अवसर पाएको थिइनँ, दिदीको पनि अपरेशन भएको १७ दिन मात्रै भएछ । स्वर्गीय राम थापालाई श्रध्दाञ्जली स्वरुप पनि यो गीत म दिदीसँग गाउने प्रयास गर्नेछु", दिनेश दाइले भने । 

"यो गीत राम र मैले सन् २००१ मा हङकङमा लाइभ पर्फम् गरेका थियौं । आज राम हामी माझ छैन । उ मेरो साख्खै भाइ भन्दा पनि बढि थियो । उ बित्दा म असाध्यै रोएकी थिएँ, उ बितेर गएपछि मैले यो गीत गाएकी छैन, गाउने मौका मिल्ला भन्ने सोचेकी पनि थिइनँ । उसकै संझनामा पनि म यो गीत यहाँ गाउन चाहन्छु" गायिका तारा दिदीले भनिन् ।

"निद्रा छैन दिन र रातिमा
जवान छोरी छ मेरो छातिमा
यो मन छैन थिर
मलाई दिन रात सधैं पिरै पिर"

रमाइलो वातावरणमा एकाएक राम थापाको संझनाले सबैलाई भावविव्हल बनायो, त्यसलाई चिर्दै कृष्णभक्त महर्जन दाइले जोर मादल रन्काए ।

"तिम्रो पिर पठाइदेऊ मतिर
देऊ छोरी ज्वाइँ हुन मञ्जुर
त्यो मन गर थिर
बुढेसकालैमा लिनुहुन्न पिर"

एउटा ठट्यौलो गीत मृतक स्रष्टाको संझनाले उनको गीत उदासी मिश्रित भयो अनि समर दाइको कविता जस्तै :
"म हेर्दै थिएँ,
उ ओझल हुँदै थियो
सुनसान रातमा
हावा रुँदै थियो
त्यहाँ उदासी को मेलोडी थियो"

हो, साँच्चै त्यो गीतको प्रस्तुतिमा उदासीको मेलोडी थियो । दिनेश दाइको स्वरमा राम थापाको उरन्ठेउलो गायकीको छनक अलिअलि भए पनि पाइयो, ओसिलो आँखाले पनि तारा दिदीले यो गीतमा पूरै हाँस्य रस घोलिन् । कलाकार भनेको त्यस्ता हुन्छन्, हृदयमा आँधी भए पनि स्रोतालाई नचाइदिन्छन् , त्यसैले मरेर पनि बाँचिदिन्छन् ।

हङकङ झापा मञ्चको प्रथम साँगीतिक साँझमा म स्वयंसेवकको भूमिकामा गएको थिएँ । केही दाइहरुसँग टम्म कुर्सी मिलाएर, लाइटिङ् ब्यवस्थापन गरेर बसेको बेला झापाली गीतकार हेम लावती दाइ भेटिए । "हामी चुप बसेर विगतका ५-६ वर्ष हङकङ नेपाली साहित्य निराशाप्रद रह्यो" उनले भने ,"क्यान्डी क्रस छोडे पनि तपाईँ अझै पेट सागा खेलिरहनुभएको रहेछ त" मैले भनेँ । टनेलमा १४ घन्टा काम गरेर पनि उनले अरुको सिर्जना पढिरहेका छन्, आफ्नो सिर्जना दिइरहेका छन् । हङकङमा धेरै दाइहरु यस्ता छन्, कला साहित्य भनेर मरिमेट्दछन् ।

म चेन्जिङ् रुममा गएँ वाद्यवादक दाइहरुसँग, कार्यक्रमको बेला चेन्जिङ् रुमको वातावरण एक प्रकारको हुन्छ । आफ्नो प्रस्तुति हुँदा जुन तनाव हुन्छ, एक दर्शक हुनुको मज्जा अर्कै हुन्छ । तर यादव दाइ, मणि दाइ, कृष्ण दाइ ले सयौं कार्यक्रम बजाइसकेका छन्, उनीहरु आनन्दले बसेका हुन्छन् पूरै आत्मविश्वासका साथ । कृष्ण दाइको छोरो स्वदेशले पनि अक्टोप्याड बोकेर हिँडेको धेरै भइसक्यो बाबुको तबलाको पछि पछि । "भुपेन्द्रलाई जिस्क्याउनु पर्यो, के हो तिम्रो झापालीले त महावाणिज्यदूलाई बोलाएछन् भनेर", पत्रकार किसन दाइले फोन लगाए । " बुढोले थाह पाइसकेछ, फोन नै उठाएन", किसन दाइले प्रयास छोडे । आदिवासी मूलको महावाणिज्यदूत चाहियो भनेर हङकङेलीहरुले महावाणिज्यदूतलाई बहिस्कार गर्दै आएका छन् , तर झापाली भएका कारण यो कार्यक्रममा प्रमुख अतिथि बनाएका थिए । ६ बजेको कार्यक्रममा ९ बजे आउने महावाणिज्यदूतलाई त लखेट्नै पर्ने हो । आसन र भाषणले साँगीतिक कार्यक्रम शुरु हुँदा १० बजिसकेको थियो । "४५ मिनेट टाइम छ, अब दिदीले ९ वटा गाउन भ्याउँदैन, ६ वटा छान्नु भनिदिनू," दिनेश दाइ आयोजकलाई भन्दै थिए, मेरो मन भने अमिलो भइरहेको थियो ।

"तारा दिदीले गाउन थालिसकिन्" भनेपछि म भने निस्केर बाल्कोनीमा गएँ ।
"तारी नदेऊ हे माझी माइती को पाप लाग्ला है
छाडी नदेऊ हे माझी दाई मायालु को श्राप लाग्ला है "
नेपाली संगीतको विशिष्टतम् गीतहरुमध्येको एक गीत दिदीले गाइन् ।

"सबै ले दिने उस्तै हुन्छ माया तर म नौलो प्रीत दिन्छु
तिमी लाई नै सम्झी सम्झी रचेको मुटुभरीको चोखो गीत दिन्छु"
दिदीले ट्र्याकमा गाइन् यो गीत, उनको स्वर माधुर्य जस्ताको तस्तै, सिडी बजाएर सुने जस्तै ।

"रियाज पुगेको स्वर हो नि, फेरि पक्का नेपाली टोन छ, यस्तो आजकालका गायक गायिकाले कहाँ गाउन सक्छ", ज्ञान दाइ भन्दै थिए । ज्ञान दाइ र अन्तिम जी पनि मलाई साथ दिन बाल्कोनीमा आइसकेका थिए , पूरै बाल्कोनी हामी ३ जनाले ओगटेका थियौं ।

"फूल झरे पनि काँडा झर्दैन,
म मरे पनि मेरो माया मर्दैन"
लाइभ पर्फर्मेन्स् मा सिल्गुरी कमल राई दाइले तारा दिदीलाई साथ दिए, प्राय: रबिन शर्माका गीत गाउने कमल दाइले दिदी सामु हङकङेली गायकको इज्जत त राखे नै तर साम तमु भने चम्किए । सामलाई म धेरै चिन्दिनँ, एक दुई बसाइ भएको छ तर जुनसुकै गीत पनि उत्तिकै खुबीका साथ र गम्भीरताका साथ गाउन सक्ने उनको क्षमता र उनको मीठो स्वरले निक्कै प्रभावित भएको छु । "कलिलो तामालाई सोध रामालाई" तारा दिदीसँग गाउन उक्लेका उनले आफू भन्दा जेठो गीत मज्जाले गाइदिए, दर्शकहरु नाचिरहेका थिए । एकसाँझको रिहर्सलमा स्टेजमा उक्लेका कलाकारहरुको कलालाई पाहुना कलाकारले राम्रो मानेको हुनुपर्दछ ।

"न त म राजेश हमाल न भुवन केसी
म त सोझो सिधा एल पी जोशी"
समय कटनीमा परेका प्रौढ लोक गायक एल पि जोशीले लोक गजल भन्दै केही तुकबन्दी सुनाए । "रिटिङ रिटिडङ नबजाऊ बिनायो", "वल्लो खोला पल्लो खोला, कमिलाको गोला भनेर" जस्ता गीतका गायकले आफ्नो उमेर "३ बीसा १९" भने पनि पत्याउनु गाह्रै थियो, उनको स्वस्थ र स्फूर्ति देखेर ।

असाध्यै समयको चेपारोमा परेको कार्यक्रममा स्थानीय गायक राज तामाङ र पवित्रा राईले पनि गीत सुनाए, नेपालबाटै आएकी विविध कारणहरुले चर्चित नायिका सुमिना घिमिरेले नृत्य प्रस्तुत गरिन् । एल पि जोशीले हङकङ र हङकङका नेपालीलाई आफूले नेपालबाट ल्याएको चिनो स्वरुप "बिनायो" दिनेश सुब्बा लाई दिएर कार्यक्रमको प्रतीकात्मक अन्त्य गरे ।

श्रीमती अम्बर गुरुङ भन्नु हुन्थ्यो ," म सरलाई भन्ने गर्छु , धेरै नबोल्नू ,धेरै नगाउनू, ठिक्क भन्दा कम दिनू, ताकि स्रोताको मनमा उत्सुकता रहिरह्योस" । आयोजकको कमजोरीको कारणले हङकङ झापा मञ्चको प्रथम साँगीतिक साँझले त्यस्तै उत्सुकता पैदा गरेर गयो , तारा थापा र एल पी जोशीलाई ४५ मिनेटमा सुनेर कहाँ पुग्छ र!


१४. बाल साहित्यको कुरा


बाल साहित्यको कुरा
--------
रबिन : प्रिय पुष्कर सर, हजुरका बाल गीतहरु पनि सुन्न पाइयोस् ।
पुष्कर: मेरा बालगीतहरू त कसैले रेकर्ड गर्न मन पराएका छैनन् अहिलेसम्म, एउटा मात्र रेकर्ड भएको छ, त्यो पनि mp3 फर्म्याटमा छैन। म mp3 बनाएर तपाईँलाई पठाउने कोसिस गर्छु है।
रबिन : आजकाल राम्रो कुरा बिक्दैनन् सर, तपाईंका बालगीतहरु अति उत्तम छन् ।
पुष्कर:हा हा..दुःख मन छैन तर


रबिन: त्यता पनि बाल साहित्यमा जागरुकता छैन?
पुष्कर: नानीहरू मुन्नी बदनाम हुईमा नाचिहाल्छन्, बालगीत किन चाहियो र...
फेसबुकमा सिलगुरीका गीतकार पुष्कर पराजुलीसँग यसरी कुरा गर्छौं ।

प्रा. डा. गोविन्द भट्टराई होङ्कोङ आउनु भएको बेला कवि भोगेन एक्लेसँगको अन्तर्वार्तामा 'हङकङ डायस्पोरा'मा भाषा-साहित्यको जगेर्नाको लागि बाल साहित्य लेखिनु पर्ने बताउनुभएको थियो । कंगन रेस्टुरेन्टमा छोरीको पहिलो वर्षको जन्मदिनमा मैले त्यही कुरा दिनेश सुब्बा दाइलाई सुनाएँ र हामीले बाल संगीतको म्युजिक भिडियो एल्बम "आमाकी नानी - भाग १" अवधारणा तैयार गर्यौं । यसमा एकराज राई, देवराज राई, खगेन्द्र पन्धाक, जगत अम्बु लगायत गायक - गायिकहरु, कलाकारहरु, बालबालिकाहरुले स्वेच्छिक सघाउनु भयो । त्यो एल्बम हङकङ नेपाली पाठ्यक्रम विकास केन्द्रले नि:शुल्क बाँड्यो, त्यसको चर्चा-परिचर्चा गरेको कहिँ सुनिएन । समाजमा बसेर हाम्रो सीपले दिन सक्ने योगदान यति हो भनेर हामी खुशी भयौं अनि सेलायौं । त्यसको भाग-२ सायदै निक्लेला ।

जुनकिरी र म बियर पिउँदै थियौं चोकको दोकानमा । दुई लुङ्वाहरु आए, कुर्सीहरु हामीले ओगटेका थियौं ।
"बस्नुस् न " जुनकिरीले औपचारिक विनयशीलताको निंति भने ।
"होइन, हामी ठिक छौं । बरु परिचय गरौं न"
"वहाँ चाहिँ होङकोङको नयाँ र प्रतिभावान कवि नेत्र जुनकिरी" मैले अघि बढी जुनकिरीको परिचय दिएँ ।
" साहित्यकार हुनुहुँदोरहेछ , यत्रो वर्षदेखि होङ्कोङ्का साहित्यकारले लेखिरहेका छन् तर खै के लेखेका छन्? दिनानुदिनका कुण्ठा र विभिन्न वादका बादल भित्र आफ्नै मादल बजाउनु सिवाय । अब त ३ दशक हुन लाग्यो होङ्कोङ्मा हामी बसेको, हाम्रो बालबालिकालाई उपयोगी केही लेख्नु भएको छ?" आधुनिक घाँसीले जुनकीरीको दिमागमा बत्ती बालिदिए अनि हामीलाई बियर किनिदिए । फेसबुकमा जोडेर हेरेको उनी पनि ब्रेक टाइम कवि रहेछन् ।

धेरैले साहित्यलाई अनुत्पादक क्षेत्र भन्छन् तर साहित्यकार स्वयंले गल्ति त गरेका छैनन् ? कृषिमा माटो र हावापानी सुहाउँदो अन्नबाली लगाई उपयुुक्त प्रविधिले विकास गरेर लगे जस्तै साहित्य पनि त्यसरी नै उकास्नु पर्ने होइन र? विदेशी साहित्यकारहरु त अर्बौं सोहरिरहेका छन् त , सानो बाल पुस्तक लेख्नेहरु पनि आरामले गुजारा गरिरहेका छन् । कतै हामीले नै नजानेको हो कि?

समर दाइ र म दुमकुलुमा बियर पिउँदै थियौं । एक जना हृष्टपुस्ट लडाकु दाइ आए । समर दाइसँगको कुरामा उनी नेपालमा छँदा लडाकु गिरोहको सदस्य भएको पनि बताए अनि बताए कसरी विपक्षी गिरोहले उनको साथीको हत्या बन्चरोले हानी हानी बीभत्स ढंगले गरेका थिए । फेरि समरदाइ जोसँग पनि कुरामा कुरा मिलाउन जान्ने, उनलेे पनि एक दुई हिंसात्मक संस्मरण जोडिहाले । 'यो भाइ चाहिँ लेखक' मलाई पगरी भिराए दाइले । ' के लेख्नु हुन्छ तपाईंहरु ? उनी जङ्गिए? एउटा मन्दिर गएँ भन्नलाई दशतिर कुरा घुमाउनु पर्छ? खगेन्द्र संग्रौला त बुझ्छु त म तर कस्सम होङ्कोङ्का लेखकले लेखेको बुझ्दिनँ । हाम्रो कति धेरै कथा ब्यथा छन्, खै लेखेको ?' भन्दै भर्खरै बजारमा आएको साहित्यिक पत्रिका पछारे। 'आज पनि रमिता छ भन्ने उपन्यास आउँदैछ ।' मैले सानो स्वरमा भनेँ ।

सायद समाज उपयोगी साहित्य लेखे होङ्कोङ्का साहित्यकारले स्थानीय समाजमा सम्मान पाउनेछन् र हामीले चोकचोकमा अभिभावकको हप्काइ खानुपर्ने छैन। कवि नरेश सुनुवारको भनाइमा ' म साहित्यकार हुँ' भन्यो भने त होङ्कोङ्मा कति ठाउँ हेपि पनि पो हाल्छन् रे । बाल साहित्य समाजमा उपयोगी हुन साहित्यकारहरुको एक जमर्को हो,आशा छ होङ्कोङ्का अभिभावकहरुले साथ दिनुहुन्छ । बालबालिकाको चारित्रिक ,मानसिक, साँस्कृतिक, शैक्षिक ..... आदि थुप्रै इक विकासको निम्ति कला,साहित्य , संगीतको महत्त्व बारे मैले लेखिरहनु पर्दैन , आज हजुर जो हुनुहुन्छ सो हजुरको बाल्यकालको परिणाम हो ।


१३. तर्क वितर्कको कुरा


तर्क वितर्कको कुरा
-------------
"तर्कले संसार जित्न सकिन्न रहेछ । तर्कले सत्य सम्म पुग्न नसकिने रहेछ"निश्चलले नेपाल इन्जिनियरिङ कलेजको चौरमा एकदिन घोषणा गर्यो । फुर्सदको समय पनि उ सधैं मोटा मोटा गणित र तर्कशास्त्रका किताब पढेर बस्थ्यो । साथीहरू उसलाई आडम्बरी भन्थे तर मलाई थाहा भयो उसमा एउटा खोजको ब्यग्रता थियो । पछि उसले समर्पण र भक्तिको बाटो लियो ।

चिल्ड्रेन प्याराडाइज स्कुलको प्राङ्गणमा कक्षा ६ र ७ को समयमा वादविवाद प्रतियोगिताको बडो रौनक हुन्थ्यो । "विद्या भन्दा धन ठूलो भए प्रतिपक्षका साथीहरूलाई उनीहरूका अभिभावकले धन खर्चेर किन विद्या आर्जन गर्न पठाएका त? " म मञ्चबाट कुर्लन्थें , वादविवादमा ब्यक्तिगत आक्षेप लगाउन नपाई भन्ने नियमबारे बेखबर । बोर्डिङ स्कुलको महंगो फी बारे जानकार भएर होला निर्णायकलाई मेरो तर्क आक्षेप लागेन ।

पोखराको दिपेन्द्र सभागृहमा प्रवचन दिँदै राधे राधेका एक स्वामी ले भनेका थिए, 'जिज्ञासाबाट अध्यात्मको शुरूवात हुन्छ, तर्कले त्यसलाई सदर गरेपछि बल्ल भक्तिको उदय हुन्छ।'

म तर्क वितर्कमै अल्मलिरहेको छु। डेल कार्नीले आफ्नो पुस्तकमा 'आजसम्म तर्क गरेर कसैले जितेको छैन । तर्क मित्रताको दुश्मन हो 'भनेका छन्। तर जब मानिसहरु भीड बन्न थाल्छन् मेरो स्कुले वादविवाद तालिम प्राप्त मस्तिष्कमा हलचल हुन्छ , भीडको भ्रम दूर गर्न सकिन्छ भन्ने भ्रमले म भ्रमित हुन्छु र फेसबुकमै भिडिरहेको हुन्छु । जेबीले चाणक्य वाणी भनेर सुनाएथे, 'भ्रममा बाँच्ने नै सुखमा बाँच्छन् । उनीहरूको भ्रम तोड्नु उनीहरूको सुख खोस्नु जस्तै खतरनाक हुन्छ ।' सायद मैले अरुको सुख नखोस्नुपर्ने, अरुलाई त्यस्तै छोडिदिनुपर्ने । तेसो पनि त सकिएन फेरि, यो समाजमा बसेपछि अरु निरपेक्ष बस्न नसकिने रहेछ । हाङयुगबाट बुध्दत्व पाई सुब्बा साप बनेका उनी भन्छन् ,'तर्क गरेर तिमीले वैरी कमायौ ' । म तर्क छोड्दिनँ, मैले साथी पनि त बनाएको छु समदर्शी, समचिन्तक ।

मेरी छोरी आफ्नो चित्रकला देखाएर सोध्छे,'पापा, कस्तो छ?'
'राम्रा बिराला'
'कान देखेनौ लामो?खरायो हो'
'ए हो त, दुईवटा खरायोहरु'
'होइन, एउटा मात्रै । कालो त उसको स्याडो हो।' म ५ टेक्न लागेकी छोरीबाटै तर्कमा पराजित हुन्छु ।

Photo: तर्क वितर्कको कुरा
-------------
"तर्कले संसार जित्न सकिन्न रहेछ । तर्कले सत्य सम्म पुग्न नसकिने रहेछ"निश्चलले नेपाल इन्जिनियरिङ कलेजको चौरमा एकदिन घोषणा गर्यो । फुर्सदको समय पनि  उ सधैं मोटा मोटा गणित र तर्कशास्त्रका किताब पढेर बस्थ्यो । साथीहरू उसलाई आडम्बरी भन्थे तर मलाई थाहा भयो उसमा एउटा खोजको ब्यग्रता थियो । पछि उसले समर्पण र भक्तिको बाटो लियो ।

चिल्ड्रेन प्याराडाइज स्कुलको  प्राङ्गणमा कक्षा ६ र ७ को समयमा वादविवाद प्रतियोगिताको बडो रौनक हुन्थ्यो । "विद्या भन्दा धन ठूलो भए प्रतिपक्षका साथीहरूलाई उनीहरूका अभिभावकले धन खर्चेर किन विद्या आर्जन गर्न पठाएका त? " म मञ्चबाट कुर्लन्थें , वादविवादमा ब्यक्तिगत आक्षेप लगाउन नपाई भन्ने नियमबारे बेखबर । बोर्डिङ स्कुलको महंगो फी बारे जानकार भएर होला निर्णायकलाई मेरो तर्क आक्षेप लागेन ।

पोखराको दिपेन्द्र सभागृहमा प्रवचन दिँदै  राधे राधेका एक स्वामी ले भनेका थिए, 'जिज्ञासाबाट अध्यात्मको शुरूवात हुन्छ, तर्कले त्यसलाई सदर गरेपछि बल्ल भक्तिको उदय हुन्छ।' 

म तर्क वितर्कमै अल्मलिरहेको छु। डेल कार्नीले आफ्नो पुस्तकमा 'आजसम्म तर्क गरेर कसैले जितेको छैन । तर्क मित्रताको दुश्मन हो 'भनेका छन्। तर जब मानिसहरु भीड बन्न थाल्छन्  मेरो स्कुले वादविवाद तालिम प्राप्त मस्तिष्कमा हलचल हुन्छ , भीडको भ्रम दूर गर्न सकिन्छ भन्ने भ्रमले म भ्रमित हुन्छु र फेसबुकमै भिडिरहेको हुन्छु । जेबीले चाणक्य वाणी भनेर सुनाएथे, 'भ्रममा बाँच्ने नै सुखमा बाँच्छन् । उनीहरूको भ्रम तोड्नु उनीहरूको सुख खोस्नु जस्तै खतरनाक हुन्छ ।' सायद मैले अरुको सुख नखोस्नुपर्ने, अरुलाई त्यस्तै छोडिदिनुपर्ने । तेसो पनि त सकिएन फेरि, यो समाजमा बसेपछि अरु  निरपेक्ष बस्न नसकिने रहेछ । हाङयुगबाट बुध्दत्व पाई सुब्बा साप बनेका उनी भन्छन् ,'तर्क गरेर तिमीले वैरी कमायौ ' । म तर्क छोड्दिनँ, मैले साथी पनि त बनाएको छु समदर्शी, समचिन्तक ।

मेरी छोरी आफ्नो चित्रकला देखाएर सोध्छे,'पापा, कस्तो छ?'
'राम्रा बिराला'
'कान देखेनौ लामो?खरायो हो'
'ए हो त, दुईवटा खरायोहरु'
'होइन, एउटा मात्रै । कालो त उसको स्याडो हो।' म  ५ टेक्न लागेकी  छोरीबाटै तर्कमा पराजित हुन्छु ।

१२. छोरीहरुको कुरा

। "
" हुन्छ , मलाई नेपालबाट पिंक सारी, पिंक ब्याग, पिंक चुरा, सबै पिंक ल्याइदेऊ है ।"
छुट्टिनु अघि फूपू र मेरी छोरीको संवाद मैले बाथरुमबाट सुनेँ ।

छोरी र छोरामा कति धेरै भिन्नता हुन्छ वास्तवमै । म र मेरो भाइमा हाम्रो परिवार सीमित रह्यो निक्कै साल, दुई मात्र सन्तान इश्वरको वरदान भन्ने प्रचार धेरै थियो त्यो समयमा।पछि के ले प्रेरित गर्यो हाम्रा बुवा आमालाई बहिनीको जन्म भयो । म भन्दा १५ वर्ष सानी र भाइभन्दा ११ वर्ष सानी दिना । दिना ३-४ वर्षकी हुँदा च्छो रोल्पा ताल विस्फोट हुने व्यापक समाचार प्रसारण थियो । अनि आकाश अँध्यारो भएर पानी पर्न थाले उनी कहालिएर रुन्थिन् ' ताल फुट्यो' भन्दै । त्यो समाचारले उनको बाल मानसिकतामा त्यस्तो प्रभाव पारेको थियो । दिना एक या दुई मा पढ्दा म उनलाई बाल पत्रिका मुना लगिदिन्थेँ काठमाडौंबाट । टन्सिल भइरहने दिनाले मुना पत्रिकाको डाक्टरलाई प्रश्न स्तम्भको लागि समस्या लेखेको देखेर म बेस्सरी हाँसेको थिएँ । उनले लेखेकी थिइन ,' डाक्टर साप नमस्ते , मेरो घाँटी दुखिरहन्छ, तातोपानी खाँदा पनि निको हुन्न, दबाइले केही समय मात्रै निको हुन्छ' । म कलेज पढ्थेँ र पत्रिका रेडियो कसरी चलाइन्छ भन्ने बुझिसकेको थिएँ । रेडियो नेपालको फोन इन कार्यक्रममा फोन इन गरेर हैन फोन आउट गरेर आफ्नो वा आफन्तका गीत बजाएको प्रत्यक्ष देखेको थिएँ । मधेसको गाउँकी केटीले लेखेको त्यो समस्याको जवाफ सहरको पत्रिके डाक्टर बाट आउने छैन भनेर उनलाई संझाउन खोजेको थिएँ मैले । नेपालमा छँदा राशि फल लेख्ने कार्यवाहक ज्योतिष को काम गर्ने गजलकार बज्र थुलुङ होङकोङमा हत्केला मा आगो बोकेर भाग्य खोज्दै हिँडिरहेका छन् ।
"तिमी ठूलो भएर फूपू जस्तै डाक्टर बन है" कोकु भन्छिन् ,
" नाइँ म त नर्स पो बन्ने त"
नातिनीलाई नर्सको युनिफर्म मन पर्छ । दुई जनाको अस्पतालको गुडिया खेल निक्कै बेर जम्छ ।
कोकु नेपाल पुगिसकिन् नातिनीका कुराहरू मनभरि बोकेर।

बेल्टार गाउँमा फ्लोरेसेन्ट चिम भर्खर आएको थियो, प्राय टंग्स्टैन गुलुप नै बढि चल्तीमा थिए । हाम्रो घरको फ्लोरेसेन्ट चिम देखेर दिनाकी समवयी १ कक्षा पढ्ने सामन्ता चकित भएकी थिई । मैले र दिनाले "यो दूध बत्ती हो राति यसबाट दूध आउँछ हामी बाल्टीका बाल्टी थाप्छौं "
"हामी त दूध पिउँदा पिउँदा भयौं"
भनेर उनलाई धेरै समय अँध्यारोमा राख्न सफल भएका थियौँ । आजकाल दिना डाक्टरी पढ्दै छे , त्यो अचम्मित हुने सामन्ता युकेमा छे । मैले एक कक्षा हुँदा ट्युसन् पढाएकाहरु त्यत्रा भइसकेछन् म बूढो भइसकेछु। अहिले दिनाले आफ्नो टन्सिलको उपचार आफै गर्ने भई होली, सामन्ताले पनि त्यो फ्लोरेसेन्ट गुलुप भन्दा उच्चस्तरीय प्रविधि साक्षात्कार गरिसकी होली ।

"पापा , जर्म्स बोल्छ कि बोल्दैन ? कसरी सिक् बनाउँछ उसले हामीलाई ?"
मेरी छोरी ट्वाइलेटबाट प्रश्न गर्छे ।

फेसबुकमा प्रचारित् निम्न सन्देशसँग सहमति राख्दै यो चाउचाउ लेखको इतिश्री ।

Daughter is not equal to tension
But
In today's world
Daughter is equal to
Ten sons...



"Jo 'Mummy' or 'Papa' ko Swarg le jaata hai, wo "Beta" Hota hai
par,

Jo Swarg ko Ghar Le a।aye,
wo "Beti" Hoti hai".....!

Forward to all lovely daughters...����
A FATHER Asked His DAUGHTER:
Who Would U Love More, Me Or Ur Husband..??

The BEST Reply Given By the DAUGHTER:
I Don't Know Really,
But When I See U,
I Forget Him,
But When I See Him,
I Remember U..

U Can Always Call Ur DAUGHTER As Beta,
But U Can Never Call Ur Son As Beti..

That's Why DAUGHTERS are SPECIAL..

BETI ki mohabbat ko
kabhi Aazmana nahi,

woh phool hai usse
kabhi Rulana nahi,

BAAP ka toh Maan
hoti hai BETI,

Zinda
Hone ki Pehchan Hoti
hai BETI,

Uski Ankhe
kabhi Num na Hone
dena,

Uski zindagi se
khushiya kabhi kam
na Hone dena,

Ungli pakad ke kal jis ko
Chalaya tha tumne,

Phir Usko hee Doli mai
Beethana hai tumhe,

Bahut Chota sa Safar
Hota hai BETI ka saath

Bahot kum Waqt ke
Liye hoti hai woh
hamare Pass..!!

If you have a daughter who makes your life worth living by just being around and you love her as much as your own Breath..;

If you are proud of your Daughter, copy and paste this to other people with daughters..!!

Daughters are khushee.!
Daughters are angels.!

तस्वीर :गजलकार बिष्णुनन्द चाम्लिङ्ग र गायिका शुसीला थुलुङ्ग पुत्री साइमा एक महिनाकी ।

Photo: छोरीहरुको कुरा
-----------
रचिले कोकु नेपाल जाने बेलामा भनी " कोकु, तपाईं पास अवे नहोऊ  है । धेरै पानी पिउ अनि धेरै  ग्रीन भेजिटेबल पनि खाऊ" 
" हुन्छ , तिमी पनि धेरै  पानी पिऊ अनि भेजिटेबल खाऊ । म तिम्रो म्यारिजमा आउँछु , मलाई इन्भाइट गर है। "
" हुन्छ , मलाई नेपालबाट पिंक सारी, पिंक ब्याग, पिंक चुरा, सबै पिंक ल्याइदेऊ है ।"
छुट्टिनु अघि फूपू र मेरी छोरीको संवाद मैले बाथरुमबाट सुनेँ ।

छोरी र छोरामा कति धेरै  भिन्नता हुन्छ वास्तवमै । म र मेरो  भाइमा हाम्रो परिवार सीमित रह्यो निक्कै  साल, दुई  मात्र  सन्तान इश्वरको वरदान भन्ने प्रचार धेरै  थियो त्यो समयमा।पछि के ले प्रेरित गर्यो हाम्रा बुवा आमालाई बहिनीको जन्म भयो । म भन्दा १५ वर्ष सानी र भाइभन्दा ११ वर्ष सानी दिना । दिना ३-४ वर्षकी हुँदा  च्छो रोल्पा ताल विस्फोट हुने व्यापक समाचार प्रसारण थियो । अनि आकाश अँध्यारो भएर पानी पर्न थाले उनी कहालिएर रुन्थिन् ' ताल फुट्यो' भन्दै । त्यो समाचारले उनको बाल मानसिकतामा त्यस्तो प्रभाव पारेको थियो । दिना एक या दुई मा पढ्दा म उनलाई बाल पत्रिका मुना लगिदिन्थेँ काठमाडौंबाट । टन्सिल भइरहने दिनाले मुना पत्रिकाको डाक्टरलाई प्रश्न स्तम्भको लागि समस्या लेखेको देखेर म बेस्सरी हाँसेको थिएँ । उनले लेखेकी थिइन ,' डाक्टर साप नमस्ते , मेरो घाँटी दुखिरहन्छ, तातोपानी खाँदा पनि निको हुन्न, दबाइले केही समय मात्रै निको हुन्छ' । म कलेज पढ्थेँ र पत्रिका रेडियो कसरी चलाइन्छ भन्ने बुझिसकेको थिएँ । रेडियो नेपालको फोन इन कार्यक्रममा फोन इन गरेर हैन फोन आउट गरेर आफ्नो वा आफन्तका गीत बजाएको प्रत्यक्ष देखेको थिएँ । मधेसको गाउँकी केटीले लेखेको त्यो समस्याको जवाफ सहरको पत्रिके डाक्टर बाट  आउने छैन भनेर उनलाई संझाउन खोजेको थिएँ मैले । नेपालमा छँदा राशि फल लेख्ने कार्यवाहक ज्योतिष को काम गर्ने गजलकार बज्र थुलुङ होङकोङमा हत्केला मा आगो बोकेर भाग्य खोज्दै हिँडिरहेका छन् ।
"तिमी ठूलो भएर फूपू जस्तै डाक्टर बन है" कोकु भन्छिन् ,
" नाइँ म त नर्स पो बन्ने त"
नातिनीलाई नर्सको युनिफर्म मन पर्छ । दुई जनाको अस्पतालको गुडिया खेल निक्कै बेर जम्छ ।
कोकु नेपाल पुगिसकिन् नातिनीका कुराहरू मनभरि बोकेर।

बेल्टार गाउँमा फ्लोरेसेन्ट चिम भर्खर आएको थियो, प्राय टंग्स्टैन गुलुप नै बढि चल्तीमा थिए । हाम्रो  घरको फ्लोरेसेन्ट चिम देखेर दिनाकी समवयी  १ कक्षा पढ्ने सामन्ता चकित भएकी थिई ।  मैले र दिनाले "यो दूध बत्ती हो राति यसबाट दूध आउँछ हामी बाल्टीका बाल्टी थाप्छौं "
"हामी त दूध पिउँदा पिउँदा भयौं"
भनेर उनलाई धेरै समय अँध्यारोमा राख्न सफल भएका थियौँ । आजकाल दिना डाक्टरी पढ्दै छे , त्यो अचम्मित हुने सामन्ता युकेमा छे । मैले एक कक्षा हुँदा ट्युसन् पढाएकाहरु त्यत्रा भइसकेछन् म बूढो भइसकेछु। अहिले दिनाले आफ्नो टन्सिलको उपचार आफै गर्ने भई होली, सामन्ताले पनि त्यो फ्लोरेसेन्ट गुलुप भन्दा उच्चस्तरीय प्रविधि साक्षात्कार गरिसकी होली ।

"पापा , जर्म्स बोल्छ कि बोल्दैन ? कसरी सिक् बनाउँछ उसले हामीलाई ?"
मेरी छोरी ट्वाइलेटबाट प्रश्न गर्छे ।
 
 फेसबुकमा प्रचारित् निम्न सन्देशसँग सहमति राख्दै यो चाउचाउ लेखको इतिश्री ।

Daughter is not equal to tension
But
In today's world
Daughter is equal to 
Ten sons...

         

"Jo 'Mummy' or 'Papa' ko Swarg le jaata hai, wo "Beta" Hota hai
par,

Jo Swarg ko Ghar Le a।aye,
wo "Beti" Hoti hai".....!

Forward to all lovely daughters...����
A FATHER Asked His DAUGHTER:
Who Would U Love More, Me Or Ur Husband..??

The BEST Reply Given By the DAUGHTER:
I Don't Know Really,
But When I See U, 
I Forget Him,
But When I See Him, 
I Remember U..

U Can Always Call Ur DAUGHTER As Beta, 
But U Can Never Call Ur Son As Beti..

That's Why DAUGHTERS are SPECIAL..

BETI ki mohabbat ko
kabhi Aazmana nahi,

woh phool hai usse
kabhi Rulana nahi,

BAAP ka toh Maan
hoti hai BETI,

Zinda
Hone ki Pehchan Hoti
hai BETI,

Uski Ankhe
kabhi Num na Hone
dena,

Uski zindagi se
khushiya kabhi kam
na Hone dena,

Ungli pakad ke kal jis ko
Chalaya tha tumne,

Phir Usko hee Doli mai
Beethana hai tumhe,

Bahut Chota sa Safar
Hota hai BETI ka saath

Bahot kum Waqt ke
Liye hoti hai woh
hamare Pass..!!

If you have a daughter who makes your life worth living by just being around and you love her as much as your own Breath..;

If you are proud of your Daughter, copy and paste this to other people with daughters..!!

Daughters are khushee.!
Daughters are angels.!

तस्वीर :गजलकार बिष्णुनन्द चाम्लिङ्ग  र गायिका शुसीला थुलुङ्ग पुत्री साइमा एक महिनाकी ।


११. अफिसमा एक्लै हुँदाको कुरा

अफिसमा एक्लै हुँदाको कुरा
--------

'गौरी ,फिल्ड इन्जिनियर तिम्रो अफिसको रिसेप्सनमा छ, भित्र छिर्ने अनुमती खोज्दैछ । पख म तिमीलाई उसको फोन नम्बर दिन्छु । '
' वैभव, तिमीलाई गौरी पर्खिरहेकी छे । उनको नम्बर टिप त ।'
दुवै मुम्बईको एक कम्पनीको प्राङ्गणमा छन् , म हङकङको अफिसबाट उनीहरुलाई अह्राइरहेको छु , वाह प्रविधि । भौगोलिक दृष्टिले त्यति नजिक रहेका मान्छेलाई हजारौं माइल परबाट मैले संवाद गराइदिनुपर्ने?अफिसको झ्याल खोली भने उनले उसलाई देख्न सक्छे होली सायद । यस्तो परनिर्भरताको ब्यवस्था कसरी हुन पुग्यो होला , पूँजीवादको कुनै प्रभाव होला कि यो?

दुरसंचारको जागिरे भएको ७ वर्ष हुन लाग्यो, ' मानव संजाल को निर्माण ' हाम्रो कम्पनीको सबैभन्दा मनपरेको अर्थपूर्ण नारा हो , खै कुन सालको हो त्यो । आजकाल त खालि उच्च मुनाफा भन्नेमात्र छ सिधा वा घुमाउरो भाषामा ।अनि फेरि फेसबुक लगायत सामाजिक संजाल या भनौं भाइबर इत्यादिमा मज्जाले गफिन्छौं तर प्रत्यक्ष भेटमा तिनैसँग आँखा जुधाएर दुई कुरा बोल्न सक्दैनौं । हाम्रोजस्तो कम्पनीले मानव संजाल को निर्माण गरिरहेछ कि भत्काइरहेछ, खै ?

यो समय एक्लै छु । शनिबारको साँझ समय अफिस शुन्य छ । मेसिनहरुको निरन्तरको एकनासे स्वाँ आवाज छ । यो अफिस स्वाचालित छ, विदाको दिनमा बत्ती र ए सी हरेक घन्टा बन्द हुन्छन् , तिनमा यति चेतना छैन कि कुनै मानव आकृति यहाँ जागिर पकाइरहेको छ। विद्यार्थी कालमा पढेको एच जी वेल्सको कथा याद आउँछ जसमा तेस्रो विश्वयुध्दले मानवसंहार भइसकेको हुन्छ तर स्वाचालित घर तालिका मुताबिक ब्रेकफास्ट बनाउने, खाना बनाउने, सरसफाइ गर्ने र घरका सदस्य लाई आवश्यकीय सुचना दिने गरिरहेको हुन्छ। त्यति अत्याधुनिक छैन यो अफिस । एन्डी भन्दै थियो, बिहान उसले कार्ड ढोकालाई सुँघाउदा ढोका खुलेन , दुई घन्टापछि सेक्युरिटीले खोलिदियो । आखिर त मान्छे नै चाहिँदो रहेछ जति नै स्वाचालितको स्वाङ रचे पनि ।

यो अफिसमा सयौंले जागिर पकाउँछन् दिनमा, अहिले रातिको एघार बजे म एक्लै पकाउँदैछु। संसार विचित्रको भइसक्यो, जब तपाईं सुतिरहनुभएको हुन्छ कोही तपाईंको लागि काम गरिरहेको हुन्छ , तपाईंको घरको पहरेदार, प्रहरी, फोन,इन्टरनेट , एम्बुलेन्स , अस्पताल , सेभेन एलेभेन, सर्कल के, बार । यी मध्ये केही न केही नभई हुँदैन तपाईंलाई र म जस्ता मान्छे हरु जागिर पकाइरहेका हुन्छन् घडीको फन्को भरि नै ।

मान्छेलाई मान्छे मन पर्दैन फेरि । बसमा चढ्नु भयो भने कोही नभएको सिट नै रोज्नु हुनेछ तपाईं । रेलको टिकट काट्नु परे टिकट बिक्रेता र स्वाचालित मेशीन छ भने मान्छे भन्दा मेशीन नै रोज्नु हुनेछ तपाईं , पसल र भेन्डिङ मेसिन छ भने मेसिन नै रोज्नु हुन्न र तपाईं ? र म पनि । थरि थरि आकार र प्रकारका का मानिसहरुले भरेको यो अफिस भन्दा शान्त अफिस नै मनपर्छ । तर भुत देखि डर लाग्छ, यत्रो अफिसमा एक्लै बस्दा , शौचालय जाँदा मानिसहरूले आफ्नो डेस्कमा छोडेर गएका क्यापले वा ज्याकेटले तर्साउनु तर्साउँछ । मान्छेलाई मान्छे भए पनि नहुने नभएपनि नहुने ।

याद आउँछ , ४-५ वर्षको हुँदा मेरो मावली दाजु अशोक खै के ठोकठाक गर्दै थिए अनि मलाई विशेष प्रकारको ढुंगा ल्याउन आदेश दिए । मैले दुई तीन खेप अर्डर बमोजिम नल्याएकोमा झोक्किँदै थिए, मैले फेरि डराउँदै एउटा ढुंगा देखाएँ, उनलेे मतिर हेरे । अब यिनी झोक्किएर दाइ हुनुको तुजुक देखाउँलान् भनेको त
' भए पनि ठिकै नभए पनि ठिकै
के लाई टाउको दुखाउनु हौ दुई दिन जिन्दगीमा '
भनेर गाना पो गाए । आज स्ट्रोकले थलिएर विराटनगरको कुनै अस्पतालमा मृत्युसँग संघर्षरत छन् रे । म जागिर पकाउँदैछु, मान्छेसँग डराउँदै, भुतसँग तर्सिँदै यो विदेशमा , एउटा स्ट्रोकको प्रतीक्षामा । लु ,झ्याप्प बत्ती र ए सी बन्द भयो फेरि ।


१०. एउटा हँसिलो साथीको कुरा

 तर मलाई चैं त्यसदिन देखि मेरो गाला ठूलो लाग्छ । रेनुकी साथी चन्द्राले त मलाई "हँसमुख भेना" भन्छे । मैले देखेको वास्तविक हँसमुख साथी भने सुरेन्द्र श्रेष्ठ हुन् । उनी आज हङकङमा भेटिए, म्याक क्याफेमा कफी पिउन भेट्दा पैसा तिर्न मसँगसँगै उसले अक्टोपस् कार्ड निकालेको देखेर म छक्क परेँ । 
"तिमीसँग अक्टोपस कार्ड? यसको लागि त दर्ता गर्नुपर्छ क्यारे "
"मेरी एक जना चिना दिदीले झिकिदिइन्"। कति चाँडो चिना दिदी बनाइसकेछ , त्यति मिलनसार छ ऊ ।

२००३ मा कलेज सकिएदेखि पछिल्लोपटक २००४ मा पोखरामा जागिर खाँदा मैले उसलाई भेटेको रहेछु ,१० वर्ष बितेछ। उसका कपाल तिलचाम्ले भइसकेछन् ,टेनिस खेलेर शरीर भने तन्दुरुस्त ।

"तिमी कहिले नेपाल फिर्छौ त?"
"नेपाल फिरेर म कसरी बाँच्नु, जागिर मिलाऊ न तिम्रो जस्तो । गाह्रो छ नि म जस्तो सोर्स फोर्स नभएको लाई त्यहाँ । यहाँ कम से कम जीविका त चलेको छ"
" त्यो त हो, यहाँ सबै ब्यवस्थाले चलेको छ, नेपालमा सबै लथालिङ्ग छ बाँच्न त ढिँट हुनुपर्छ, हामी पो थेत्तर भइसक्यौं"

ऊ सिभिल इन्जिनियरीङ संकायको भएकोले हाम्रो देखभेट कक्षाबाहिर हुने गर्थ्यो, उस्तो यादगार पलहरु नबाँडे पनि सधैं आत्मीय बोलचाल हुन्थ्यो ' दोस्त' सम्बोधनका साथ । एक दशक पछि भेट्दा केही पुराना कुरा भए, उसको रुममेटहरु स्पाइडर मेन बनेर कलेजको प्रश्नपत्र चोर्न लाग्दा पक्डाउ परेको ,उनैले मातेर छिमेकमा रहेका भि पी लाई गालि गरेको ,आदि । नेपाल प्रहरी प्रशासन को राजनीति रमेश खरेल , गणेश राई का कुरा उसले सुनायो । गणेश राईले राजधानीको सडक फराकिलो बनाए त्यसको जस बाबुराम भट्टराईले लिए, मादक पदार्थ सेवन विरुद्धमा उल्लेख्य कार्यक्रम ल्याउने राईलाई प्रशासनले अन्याय गरेको उसको विचार थियो ।'प्रहरी प्रशासन मा चल्ने भ्रष्टाचार सत्य भइकन पनि रमेश खरेलले बिनाप्रमाण बोल्नु उनको गल्ति हो, सुमार्गीको नाममा हुने व्यापार प्रचन्डको हो भन्ने सबैलाई थाहा छ तर प्रमाण नहुनाले कसैले आरोपित गर्न सकेको छैन ।" कुनै समय अजय सुमार्गी उनको घरको सोफामा सुत्ने गरेको पनि बताए । 'अहिले त उसोभए राम्रो फाइदा होला नि?'भन्दा राजनीतिदेखि टाढै बसेको बताए ।

मलाई बेस्सरी थकाइ लागेको थियो स्टान्लीमा हिंजोको सुटिङ र त्यसैको सम्पादनले निद्रा पनि राम्रोसँग परेको थिएन । फेरि छोरीलाई उसका साथीहरूसँग बिच आजै लैजाने वाचा पनि थियो । हिजो सुटिङ सकेर आएपछि नुहाएको छैन, दाह्री हप्ता दिन देखि काटेको छैन । रेनु नेपाल गएकीले सबै रुटिन अस्तब्यस्त छ ।दोधार हुँदै म उसलाई भेट्न समय निकालेर गएँ । एक डेढ घन्टाको त्यो भेटमा उसको दाइ पनि भेटिए । सुरेन्द्रको नेपालमा कन्सल्टेन्सी रहेछ र ब्यापारको सिलसिलामा चीन भ्रमणको लागि हङकङ आएका रहेछन् । 'राम्रो गर, हामी पनि देश फर्किन्छौं, सके राम्रोसँग नसके बक्सामा भए पनि फर्किन्छौं' १८ वर्ष हङकङमा बिताइसकेका टाटुवाल लिम्बू दाइ भन्दै थिए ।३ बजे उसको एयरपोर्ट टाइम थियो त्यसैले फेरि भेटेर बाँकी गफ गर्ने सल्लाह गरी अंकमाल सहित हामी छुट्टियौं ।

बाटोमा आउँदा इन्टरनेटमा पढेको एउटा कथा याद आयो,
एक प्रोफेसरले एउटा ग्लासमा रोडाहरु हालेछन्, भरेपछि सोधेछन्, 'अरु यसमा केही अट्ला?'
उनका विद्यार्थीले नकारात्मक जवाफ दिएछन् । उनले त्यो गिलासमा गिट्टीहरु छिराएछन्, ' अब?' फेरि नकारात्मक जवाफमा उनलेे बालुवा भरेछन् । त्यसपछि विद्यार्थीले केही थप्न नसकिने भन्दा उनले त्यसमा कफी हालेर देखाएछन् र घोषणा गरेछन्, ' जिन्दगीमा जतिसुकै काम, समस्या, ब्यवधान भरिए पनि साथी भाइसँग एक कप कफीको लागि जहिले पनि समय निकाल्न सकिन्छ , निकाल्नु पर्छ।'
हो रहेछ, साथीसँगको कफी गफले थाकेको मेरो मन चंगा भएको महशुस भयो ।


९. पागल/बौलाहाको कुरा

पागल/बौलाहाको कुरा
-----
जुनकिरी भन्दै थिए," छोराको पढाइ बिग्रन लाग्यो, टेर्दैन भनेर बूढीले गुनासो गर्दैछे"
मैले भनेँ, "छोराको पढाइ त बहाना हो, कवि भएर खै आशय बुझेको?"
मलाई संझना आउँछ, पेमा अंकलको । म आइ एस्सी पढ्दा उनी गिज्याएर भन्थे, "एउटी युवतीले शीर निहुराई खुट्टाको बूढी औंलाले माटो कोट्याई भनी तिमेरु साइन्स पढ्नेहरु यो केटीले एक सेकेन्डमा यति क्बिक मिटर माटो उधिन्छे र यसले यसरी नै उधिनी भने १ घन्टामा यति क्युबिक मिटर उधिन्नेछे भनेर हिसाब लगाउँछौ, हामी आर्ट्स् पढ्नेहरु चाहिँ युवतीको आशय बुझेर
उनलाई भन्न सजिलो भइदिन्छम्"।

मखमली भाउजूको आशय नबुझ्ने जुनकीरी! हुन पनि १७ वर्षदेखि परिवारदेखि टाढा यो समुद्री बन्दरगाहमा भविष्यको प्रत्याभूति खोज्दैछन्, फोटो खिचेर त्यसका पात्रहरु संबन्धित कारुणिक प्रसंग सुनाइहाल्छन् । कहिले कञ्चनजंघामा शिवजीको त्रिनेत्र देखिएको आफ्नो क्यामेराले कैद गरेको कुरा गर्छन् त कहिले आफ्नो हठको कारण पशुपतिको पारिपट्टि कहिल्यै नखुल्ने विश्वरुपको मन्दिर आफ्नो लागि खोलिएको स्मरण सुनाउछन् । अनि, सुनाउछन् कुनै दिन इलाम फर्केर एउटा रिसोर्ट खोल्ने जहाँ कटेजहरुको नाम विशेष कलाकार साहित्यकारहरुको नाममा रहोस्, नेपाल भारतका नेपाली साहित्यकार कलाकार हरुक साहित्यिक आदान प्रदान गर्ने थलो बनोस् । "एउटा कटेज त मेरो नाममा बनाइदिनू ल" म जिस्किन्छु, दन्ते कवि हाँस्छन् ।

अस्ति मर्निङवाक गर्नलाई काउलनपार्क जाँदा कवि दाइ नेत्र जुनकीरीको फोन आयो,
" भाइ, हिंजो मो अलि धेरै मातेछु हगि? अलि बढ्तै बोलिपठाएँ जस्तो लाग्यो "
" खै, नचाहिँदो कुरा त गर्नुभएन नि त, मलाई त रोचक लाग्यो तपाईंको संस्मरण बरु त्यो रोचक संस्मरण लेख्नुपर्छ अरुको लागि"मैले जुनकीरीले अभिनय सहित सुनाएको विश्वरुप मन्दिर कसरी उनको लागि खुल्यो भन्ने संस्मरण संझिँदै भनें ।
"हैन, दिनेश दाइ, जेबी जस्तो मान्छेहरुको अगाडि निक्कै बोलेँ जस्तो लाग्यो " मैले उनलाई ढाडस दिएँ ।

घुमाउनेमा ज्ञानदाइलाई पर्खिँदै गर्दा दिनेश सुब्बा दाइ भने भ्याइवरी असिन पसिन भएर आउनुभयो । हिँजो साँझको कुरो भयो,
"जुनकीरी अलिक मान्छे साइको रहेछ हगि, उस्तै मान्छेले त बौलाहा भन्छ नि"
"हाहाहा, अनि हामीलाई बहुलठ्टीपन त मनपर्छ नि, होइन र?"
" त्यो त हो, त्यो जोकरले गर्ने हाउभाउ हामीलाई किन मनपर्छ भन्दा त्यो पागलपन हो"
"हामी भित्र पागलपन हुन्छ तर हामी विवेकको साँधले पागलपनलाई छेकिदिन्छौ तर त्यही पागलपन अरुबाट आउँदा हामी मन पराउँछौं।"
"हो नि, चित्रकार मनुजबाबु मिश्रसँग मेरो राम्रो सम्बन्ध थियो, उनले आफ्नो बारीको एक घरी केरा खस्दा बडो डिप्रेशन भएको सुनाएथे मलाई, अब त्यो केरामा उनले के देखे खै "

त्यतिकैमा अरु साथीहरु आए र हामी कफी पिउन लाग्यौं । घर आएर फेसबुक खोलेको त जुनकीरीले पागलपनको कविता लेखिसकेछन्, म मनमनै हाँसे, अन्तर्यामी@जुनकीरी बाबा भनेर

चिर निद्रामा
कोही आई
सुटुक्क कानमा भन्यो . . .
"तेरो हार भयो"

म बिउँझ्यिए
बिपनामा त्यो सत्य
मनबाटै स्विकारे

त्यो हारभित्र
जित खोजे
माला उनेर आफै लगाए

ऐना हेरे
देखे हाँसेको 'म' . . .
झस्किए
आफै बौलाए

यहाँ बौलाहाहरूका
भिड छन् . . .
के फरक पर्ला?
मनलाई सम्झाए

यहाँ सबै
बौलाहा देख्छु म
व्यवहारमा पनि
उस्तै पाउँछु म
मान्छे बौलाएको कि
समय बौलाए?
मनलाई कहन्छु म

बौलाहा बौलाहाहरूका भिडमा
बौलाहा झै हाँस्छु म
कठपुतलीहरूका माझमा
कठपुतली भई नाच्छु म

बौलाहा कठपुतली भई
स्वयं बाँच्छु म . .

©जुनकिरी - साला कठपुतली जिन्दगी

सरुभक्तको पागल बस्तीका हामी पागलहरु एक पूर्णिमाको रात पागल बस्ती छोडेर यत्रतत्र छरिएछौं कि क्या हो, बेलायत, अमेरिका, भारत, नेपाल, अरब हुँदै हङकङ । ज्ञान दाइ पागलपनको प्रसंगमा हामीलाई भन्थे,"निरजले भन्छ नि, म पागल, तपाईं पनि पागल, झन् हाम्रो गुरु (दिनेश दाइ) झन् महापागल" ।

यो पागलपनको लेख पढ्ने तपाईं पनि कम पागल होइन

८. नानीहरुको कुरा

नानीहरुको कुरा
----------------
छोरी लिन किन्डरगार्डेनको क्युमा बसेँ ।
"तपाईं सबैभन्दा फर्स्ट मलाई लिन आउनु है" सबै बच्चाहरु विशेषत: केटीहरु आफ्ना अभिभावकलाई भन्छन् ।
मेरी छोरी पनि त्यसै संगतमा हामीलाई त्यसो गर्न भन्छे । हामीले उनलाई कहिल्यै फर्स्ट रिसिभ गर्दैनौं, अनावश्यक प्रतिश्पर्धा गर्नु उनको चरित्रलाई अहितकर हुन्छ भन्ने हाम्रो मान्यता हो । ती बच्चाहरु जस्तै यहाँ हामी वयस्कहरुले पनि त आखिर अनावश्यक कुराहरुमा अहंकारको प्रतिश्पर्धा गरेकै छौं, बेकारका प्रतिश्पर्धामा जीवनका सुन्दरतम् पक्ष भुलिरहेका छौं । हामी त्यो महत्वपूर्ण कुरो होइन भन्ने हाम्री छोरीलाई बुझाउन चाहन्छौं , त्यसैले आजकाल ऊ अपेक्षा पनि गर्दिनँ , सायद बुझे कि हो कि!

जब मेरो पालो आउँछ, मेरी छोरी शिक्षिकाहरुलाई झुकेर "लाओसी, चोइ किन्" (गुरु, फेरि भेटुँला) भनेर विनम्रता जाहेर गर्दछे । म उसको हात समाउँछु, उसको अनुहारबाट म बुझ्छु, आज उनी बेखुशी छे ।
"पापा, म क्लासमा आज रोएँ नि"
"किन छोरी?"
"मेरो हम्प्टी मैले देखिनँ नि त, हरायो होला भनेर नि । नट्टीहरुले चोर्यो कि भनेर रोएको तर त यहीँ ब्यागमा लुकेको रहेछ"
म मुस्काउँछु । हम्प्टी उनको झोलामा झुन्डिएको कुरुप कि रिङ हो ।

"मलाई त रोएको देखेर नट्टीहरुले पनि माया गरेको नि, नरोऊ भनेको"
म झन् मुस्काउँछु, नट्टीहरु पनि सधैं नट्टी बनिरहन कहाँ सक्दारहेछन् र?

"रचिदा, आज तिमी किन रुएको?" उनकी सहपाठी नुमा सोध्छे ।
"मलाई कस्तो गाह्रो भयो नि त नुमा"
"म त टिचरले हकार्दा पनि रुँदिन । त्यस्तो पो हुनुपर्छ त ।" नुमा सल्लाह दिन्छे ।
"पढ्न कति गाह्रो छ नि त नुमा" ऊ सुस्केरा हाल्छे ।

५ वर्ष पनि नपुगेका नानीहरुको साधारण कुरामा पनि जीवनको असाधारण सच्चाइ र गहिराइ भेट्छु । एक विख्यात लेखकले कतै भनेका छन् ," मलाई केही थाह थिएन जब म बालक थिएँ तर मैले हरेक कुरा मेरा ६ दासहरुद्वारा सिकेँ, ती दासहरु के,कसले,कुन,किन,कहाँ र कसरी थिए ।"

बाल बालिकाहरु सवालहरुद्वारा नै सिक्दछन् तर कहिलेकाहिँ अप्ठ्यारा सवाल गर्छन्, "पापा स्नेलले, टर्टलले किन आफ्नो घर बोकेर हिंड्छ?" भनेर मेरी छोरी सोध्छे, म जवाफ दिन सक्दिनँ ।
एकछिन गमेर भनिदिन्छु ,"त्यो उनीहरुको घर होइन, त्यो उनीहरुको ड्रेस हो"


७. "मोरीसँगका मंगलबारहरु" - एउटा बूढो , एउटा जवान र जिन्दगीको सबैभन्दा महत्वपूर्ण पाठ


- रबिन राईको पाठकीय
- 14 sep 2014
- For Book Review Program, Critics' Society
*************
"मोरीसँगका मंगलबारहरु" मिच एल्बमद्वारा लिखित संस्मरणात्मक उपन्यास हो, यो प्रथमपटक १९९७ मा २० हजार प्रति प्रकाशित गरिएको थियो । पाठकहरुको चर्चाले यसले यति विघ्न ख्याति कमायो कि यसले "विन्फ्री ओप्रा"को टेलिभिजन कार्यक्रममा ठाउँ पायो र न्यू योर्क टाइम्सको बेस्ट सेलरमा २ वर्ष सम्म रहन सफल भयो । यो पुस्तक विश्वका ४१ भाषामा अनुवादित छ भने एक करोड प्रति भन्दा ज्यादा बिक्री भइसकेको छ । यस पुस्तकलाई विन्फ्री ओपराले १९९९ मा टेलिचलचित्र बनाई, जुन उक्त साल सर्वाधिक हेरिएको टेलिचलचित्र बन्न सफल पनि भयो ।
के छ त यो पुस्तकमा?

------------
२ केन्द्रीय पात्र रहेको यो उपन्यासमा डा. मोरी स्वार्ज ७८ वर्षिय समाज शास्त्रका प्राध्यापक हुन्, उनी ए एल एस नामक प्राणघातक बिमारका शिकार छन् । मिच् ३७ वर्षीय एक सफल खेलकुद रिपोर्टर हुन् , १६ वर्ष पहिले उनी मोरीका छात्र हुन्छन् ।
कुनै समय मोरीका प्रिय शिष्य कलेजबाट निस्केपछि जिन्दगीको भागदौडमा यति ब्यस्त हुन्छन् कि दीक्षान्त-समारोहमा अंकमाल गर्दै गुरुले आत्मीय ढंगले "सधैँ संपर्कमा रहनू है" भनेको हेक्कै रहँदैन ।
तर एकदिन टिभी न्युजमा मोरी "जिन्दगीभर मैले सिकाउने काम गरिरहेँ अब मर्ने बेलामा त्यसै छोडूँला र?" भनिरहेका देख्न पुग्छन् । मृत्युशैय्यामा रहेका यी गुरुले आफूले बुझेको जीवनबारेको ज्ञान आवश्यकहरुलाई बाँडिरहेको उक्त समाचारबाट थाह पाउँछन् ।

यही समाचारले मिचको जीवनमा परिवर्तन निम्त्याउँदछ र उनी ग्लानिका साथ पुग्छन् मित्रवत गुरु मोरीको घरमा । उनीहरुबीच हरेक मंगलबार भेट्ने र "प्रेम, क्षमा, भावना, उमेर, मृत्यु, परिवार, सम्बन्ध,संस्कार" इत्यादि विषयमा विमर्श गर्ने सहमति बन्छ,
जसलाई मिचले टेपरिकर्ड गर्दछन् र पुस्तकको आकार दिन्छन् । मैनबती सल्किए जस्तै तल खुट्टा बाट पक्षघात भई उँभो सर्दै सर्दै मुटुसम्म आइपुगेर १४ मंगलबार पश्चात मोरीको निधन हुन्छ । मोरीसँगको संगतले मिचको जीवनमा नाटकीय परिवर्तन आउँदछ, उसको जीवन र संसारप्रतिको दृष्टिकोण फराकिलो हुन पुग्छ, जसले गर्दा उसको ब्यक्तित्व र सम्बन्धहरुमा सकारात्मक सुधार आउँछ ।
पुस्तकबाट केही सन्दर्भहरु
--------
०.
"मेरो गुरुको अन्तिम कक्षा उनकै घरमा हरेक मंगलबार भए, कक्षा बिहानको नास्तापछि शुरु हुन्थ्यो र विषय जीवनको अर्थ, जुन अनुभवहरुको आधारमा सिकाइन्थ्यो । त्यहाँ कुनै अंक पाइन्नथ्यो तै हरेक हप्ता मौखिक परीक्षा हुन्थ्यो र जसको जवाफ दिनुका साथै सान्दर्भिक प्रश्न गर्नु पर्थ्यो । त्यस बाहेक शारिरिक कामहरु गर्नुपर्थ्यो जस्तै, गुरुको टाउको उठाएर उनलाई सिरानी सहज बनाइदिने, उनको चश्मा नाकको डाँडीमा अड्याइदिने, र छुट्ने बेलामा उनलाई चुम्बन गरे विशेषाङ्क पाइन्थ्यो । कुनै पुस्तक थिएन र पनि धेरै शीर्षक समेटिए, जस्तै प्रेम, रोजगार, समुदाय, परिवार, वृध्दापन, क्षमा र मृत्यु । दीक्षान्तको रुपमा अन्त्येष्टि संपन्न गरियो" पुस्तकको शुरुमै मिच लेख्छन् । एउटा मर्न लागेको बूढो मान्छे र संसारमा अल्मलिएको जवानबीचको विमर्शहरुलाई मिचले १९२ पेजको पुस्तकको आकार दिए जसलाई उनले थेसिस भन्न रुचाएका छन् ।
१. "मोरी, तपाईंलाई याद छ एक पटक तपाईं कक्षामा आउनुभयो, अनि चुपचाप उभिनुभयो । २ मिनेट, ५ मिनेट, १० मिनेट, हामी सबै आश्चर्यका साथ कुरिरह्यौं कहिले बोल्नु होला भनी, अन्तत: १५ मिनेटबाद तपाईंले भन्नुभयो.."
"सन्नाटा, किन हामीलाई असहज लाग्छ? अस्वाभाविक लाग्छ? किन हावामा शब्दहरु उडेकै हामीलाई स्वाभाविक लाग्छ ?
यस्तै भनेँ मैले । मृत्यु पनि सन्नाटा जस्तै हामीलाई असहज लाग्छ । तर मर्नु महत्वपूर्ण कुरा होइन बरु कसरी सुखी भई बाँच्नु त्यो महत्वपूर्ण कुरा हो" मोरी भन्दछन् । पुस्तकको विषय मृत्यु हो, जुन हामीले जन्मसँगै लिएर आएका छौं, मृत्युसम्बन्धि धेरै साहित्य,संगीत, फिल्म बनेका छन् र लोकप्रिय छन् । त्यसैले यो भन्न सकिन्छ कि मृत्यु भयावह तर निश्चय नै मान्छेको सर्वप्रिय विषय हो । सोँच र साहित्यका धरोहर आई बि राई पनि मृत्यु चिन्तनमा लागेको सुनिन्छ । तर मृत्यु त अवश्यांभवी छ र आउँछ नै जसरी पनि जीवनलाई सहि रुपमा बाँच्नुपर्ने यस पुस्तकमा मोरीको निर्क्यौल छ । यसलाई सेल्फ हेल्प गाइडको रुपमा पनि लिन सकिन्छ ।
२.
किताबमा एक प्रसंग यस्तो छ , जब सहकर्मी ब्रान्डि्स हृदयघातले अचानक बित्यो, मोरी उसको अन्त्येष्टिबाट निराश घर फर्कन्छ ।
"कस्तो बेकार भयो, त्यत्रा मान्छेले ब्रान्डिसको बारे त्यति राम्रा कुराहरु मानिसहरुले भने, उसले सुन्नै पाएन" ।
मोरीले दिमाग घुमायो र एकदिन आइतबार दिउँसो आफ्नो अन्त्येष्टिको लागि सबैलाई निम्तो दियो, जीवित अन्त्येष्टि । उपस्थितले उनीप्रति श्रध्दाञ्जलि दिए, कोही हाँसे, कोही रोए । एक महिलाले कविता वाचन गरिन् , मोरी सबैको आफू प्रतिको मूल्याङकन् सुनेर कहिले हाँसे कहिले रोए , र मोरीको अन्त्येष्टि भब्य सफल भयो, केवल मोरी जीवित रह्यो । मृत्युपर्यन्त गरिएका सम्मान, माया, विलापहरुको के अर्थ जब मान्छे शुन्यमा विलय भइसकेको हुन्छ । जीवित छँदै ऊ प्रतिको भावना अभिब्यक्त गर्न सके नै भावनाको सार्थकता हुन्छ । मोरीको परिवार रसियाबाट अमेरिकामा शरणार्थीको रुपमा प्रवेश गरेका हुन्छन् । ज्याला मजदुरी गर्ने मोरीका बाबुले मोरीलाई कहिल्यै प्रेमदृष्टिले हेरेनन्, आमा बितेपछि जीवनमा आएकी आफ्नी सौतेनी आमाबाट नै उनले मायाको अलौकिक अनुभव गर्छन्, दमले गर्दा बलको काम गर्न सक्दैनन् र शिक्षक बन्न पुग्दछन् । आफ्नो बाबुको जीवनलाई मूल्याङ्कन् गर्दा उनलाई माया दिन र लिन दुवैबाट डराउने कायर ब्यक्तिको रुपमा ब्याख्या गर्छन् । "कि माया बाँड कि नष्ट होउ" लभ ओर पेरिस् नै मोरीको जीवनको मन्त्र हुन्छ ।
३.
मोरी भन्छन्, " सबलाई थाह छ मृत्यु अवश्यांभावी छ, तर कोही पनि विश्वास गर्न चाहँदैन । विश्वास गर्थ्यौं त हाम्रा बोली ब्यवहारहरु फरक हुन्थे । बुध्दमार्गीहरु के गर्छन् थाह छ? काँधमा सानो चरी राखेर सोध्छन् ,"आज हो त्यो दिन? के म तैयार छु त्यसको निम्ति? के म त्यो गर्दैछु जो गर्न जरुरी छ? के म त्यो बन्दैछु जो बन्न चाहन्छु?"
मोरी आफ्नो काँधतिर शिर झुकाई काल्पनिक चरालाई सोध्छन्,"के आज हो मेरो मृत्यु दिन?"
"मिच, सत्य त यो हो कि, तिमी जिउन तब जान्दछौ जब तिमीलाई मर्न आउँदछ " । किताबको मूल शिक्षा नै यही हो,मैले कतै पढेको थिएँ जुडो खेलमा पछार्न भन्दा पहिले पछारिन सिकाइन्छ रे, जब मान्छेलाई लड्न आउँछ तब गएर उसले लडाउने कला पनि सिक्छ रे । त्यस्तै तर्क छ मोरीको, जब मृत्युलाई हामी स्वीकार्छौं जिउन हामीलाई आइहाल्छ । देश सुब्बाको भयवाद पनि कतै गएर जोडिएको म पाउँदछु।
४.
"आजकाल हामी हाम्रो समाजमा मानिसहरुको दिमाग भुट्दैछौं, गलत कुराहरुलाई बारम्बार दोहर्याएर । हामी मिडियाहरुको माध्यमबाट बारम्बार भनिरहेका छौं, भौतिक आर्जन हितकारक छ, अर्थ उपार्जन, घर जग्गा आर्जन, ब्यवसायिकता आर्जन हितकर छ भनिरहेका छौं, यी धेरै आर्जन गर्नुपर्छ भन्ने फिटिरहेका छौं मानिसको दिमागमा हर्दम जसले गर्दा ती सोध्न वा सोँच्नै सक्तैनन् । यिनै गलत कुराहरुको कुहिरोले मानिसहरु अलमलिरहेका छन् र ती कुदिरहेका छन् भौतिक धनको निम्ति जब कि तिनीहरुलाई खाँचो छ, प्रेमको, उनीहरुले आर्जन गर्नु पर्ने हो प्रेम । तर प्रेमको, हार्दिकताको विकल्प स्वरुप मानिसहरु धन, सम्पति आर्जन गरिरहेका छन् , जुन तिनको विकल्प कदापि हुन सक्दैन ।
मोरीको यो अमेरीकी समाजप्रतिको भनाइ हाम्रो आफ्नो समाज भन्दा पर छैन, प्रत्यक्ष वा परोक्ष रुपमा हामी भौतिकवादलाई नै प्रश्रय दिइरहेका छौं , "डाक्टर बन, इन्जिनियर बन, किनकि तिनमा धेरै तलब छ, कलाकार-साहित्यकार बन्ने भए ब्यवसायिक बन ", हामी हाम्रा सन्ततिलाई यही सिकाइरहेका छौं ।
५. "एकदिन स्वस्थ जीवन पाए के गर्नुहुन्थ्यो ?' भनी मिचले सोध्दा मोरी भन्छन्," सबेरै उठ्थेँ, शारीरिक ब्यायाम गर्थें , चिया र खाजा खान्थेँ । पौडी खेल्न जान्थेँ , साथीहरू सँग दिउँसोको खाना खान्थेँ । उनीहरूसँग एकान्तमा उनीहरूका परिवार, समस्या र आपसी प्रेमकाबारेमा चर्चा गर्थेँ । अनि डुल्न जान्थेँ, हरियाली र सुन्दर फूलहरु माझ , चराचुरुङ्गी माझ , धेरै भो उनीहरूको सौन्दर्य र आवाजहरु नसुनेको । साँझ हामी सबै बाहिर खान जाने थियौं , रेस्टुरेन्टमा म पास्ता र हाँसको मासु खाने थिएँ , मनपर्छ मलाई । बाँकी रात म डान्स क्लबमा नाच्ने थिएँ धोको पुर्याएर गलेपछि घर गएर मज्जाले सुत्थेँ ।"
"बस?"
"बस"
"अनि तपाईंको परिवार?"
"मेरो परिवार पनि त साथीहरू मै पर्दछन्"
यौटा मृत्यु शैय्यामा हिँडडुलको स्वतन्त्रता गुमाएको मोरीको अादर्श दिनको इच्छा हो यो जुन बिल्कुलै साधारण छ, तपाईं हामी त्यो गर्न सक्छौं हाम्रो हालको जीवनमा । तर हामी गरिरहेका हुँदैनौं किनकि हामीलाई भोलिको चिन्ताले मारेको छ । तर जब हामी केही कारण त्यस्तो अवस्थामा पुगे हामीलाई त्यस्तै इच्छा हुनेछ ।
६. उपसंहारमा लेखक मिच भन्छन् " मोरीसँगको पुनर्मिलन पछि हामीले यो पुस्तक लेखन गर्ने निर्णय गर्यौँ जसलाई मोरी जीवनको अन्तिम थेसिस भन्न रुचाउँथे । यो पुस्तकमा थुप्रै प्रकाशकले अभिरुचि राखे तर उनीहरूलाई जीवनकालमा मोरीले भेट्न सकेनन् । मोरीको उपचारमा लागेको खर्चको ठूलो रकम प्रकाशकबाट आएको एड्भान्ले फर्छ्यौट गरियो ।
मोरीको देहावसान पछि उनका सामानहरु खोतल्दा २० वर्ष अघि विद्यार्थी कालमा मैले बुझाएको थेसिस् पनि भेटियो , जसमा मोरी र मैले पेन्सिलले केरेर अन्तर्क्रिया गरेका रहेछौं ।"
पुस्तक लेखनको १४ औं हप्तामा शनिबारको दिन १९९५ मा मोरीको देहान्त भयो । मोरीले आफ्नो मृत्युलाई पनि ज्ञानवर्ध्दक त बनाए नै आफ्नो रोग परिवारको आर्थिक बोझ बन्न दिएनन् । उनले किताबमा भने जस्तै एक जनाको रोगले परिवारका अन्य सदस्यहरूको सामान्य जीवनमा अड्चन आउन दिएनन् ।
र अन्त्यमा,
यो पुस्तकलाई उपन्यास विधामा त कहिले ननफिक्सनमा राखिन्छ , आपसी प्रेम र सम्बन्ध सुधारका विषय पनि भएकोले यसलाई ब्यक्तित्व विकासको सेक्सनमा पनि राखिन्छ । जीवन दर्शनको प्रारम्भिक पुस्तकको रुपमा यसलाई विभिन्न स्कूल र कलेजमा पढाइँदोरहेछ ।
मिच एल्बमको यो मिनी पुस्तकको सरल र रोचक प्रस्तुतीकरणले गर्दा पुस्तक अध्ययनमा पाइला बढाउन शुरु गरेका नवपाठकको लागि उपयुक्त त छ नै ज्ञान र दर्शनको गहिराइमा छलाङ मारेर हराइरहेका विद्वानहरुलाई पनि जीवनको सरलता, सहजता र सुन्दरता याद दिलाउन काम लाग्नेछ ।
Title: Tuesdays with Morrie
Paperback: 192 pages
Author Mitch Albom
Country United States
Language English
Genre Biographical, Philosophical novel, Memoir
Publisher Doubleday
Publication date 1997
Amazon Price: USD 8.44
Tuesdays with Morrie: An Old Man, a Young Man, and Life's Greatest Lesson

६. बगैंचा डट कमको श्रृजनशील साहित्य जलयात्राको कुरा

बगैंचा डट कमको श्रृजनशील साहित्य जलयात्राको कुरा - पार्ट १
--------------
"सानो छँदा भोलि पिकनिक छ भनेपछि रातभरि निंद्रा लाग्दैन नि, अनि भोलिपल्ट पनि सब से पहिले उठिन्छ नि, त्यस्तै होला तिमीहरुलाई भोलि" , जगिङको समय ज्ञान दाइ भन्दै थिए । त्यसो भन्दा हाँसे म, र संझेँ सानोको कुरा : घरमा घुर्क्याएर पिकनिक जाने पैसा मागेर इच्छा दिदी, अशोक दाइ र म बरगाछी मुनिको डेटु दाइकोमा रकम बुझाउन गएको स्मृति । खै, ११ वर्ष भइसक्यो इच्छा दिदी बितेर गइसकिन्, अशोक दाइ पनि भर्खरै बितेर गए, रकम बुझ्ने डेटु मगर दाइ कहाँ छन् खै? म भने रकम बुझाउन बाँचिरहेकैछु ।

बगैचाको जलयात्राको कुरा लेखूँ भन्दा खै के पो लेख्न थालेछु, फोकस् , अँ, ज्ञान दाइले भने जस्तै त अलिक भएन । राति चाँडै सुतियो साबिक भन्दा, अनि चाँडै पनि उठियो । मेरो एङग्री बर्ड ब्यागमा बोकेँ टिबि को पुस्तक, बज्रको पुस्तक, उपेन्द्र सुब्बाको पुस्तक, र रबिन शर्माको परेलीको आकाश । भरे कार्यक्रममा कसैले केही प्रस्तुती दिएनन् र समय उब्रियो भने यिनैबाट केही वाचन गर्नुपर्यो भन्ने मेरो सोँच थियो, किनकि मुटु सम्मेलन - ४ को अभिभारा मेरो थियो । सानोको पिकनिक छँदैको कुरा संझदै म स्टार फेरि पुगेँ, समुद्रबाट आएको बिहानी हावाले मीठो अनुभूति दिइरहेको हो कि मन नै मीठो भइरहेको हो । चिम सा चुइको घन्टाघरमुनि पुग्दा बज्रजी, सानु भाउजू र मगेन दाइ बन्दोबस्तीका सामान कुरेर बसिरहनुभएको रहेछ ।
"चार बोतलमध्ये एक बोतल त झिरिप्पै भयो नि", बज्रजीले दुखेसो पोखे ,
"राम्रै भयो, यसले अरु समस्या निम्त्याउन सक्छ", कोकबाज मगेनदाइले भने ।

केही समयपछि सुब्बा साप ब्याग प्याक कसेर हाफ पेन्टमा ठाँटिएर आए, कवि भन्न त अलिक नसुहाउने । कवि भने पछि त यस्सो मरन्च्च्याँसे खिङ्ग्रिङ्ग परेको, जर्खरिएको कपाल, मैलो लुगा हुनुपर्ने, स्टेरियोटाइप सोँच । तर यी कवि बडो खातापिता रेस्लर जस्ता, आधुनिक कवि स्वरुप । हुन पनि कविता भनेर कार चढ्ने तुलसी दिवसका चेला, चेला त उनी नरेन्द्रराज प्रसाईंका पनि रहेछन् , खै गुरु पनि कति धेरै हुन् यिनका ? नेपालबाट आएको "पाण्डुलिपि" थम्याइदिए निशुल्क, यो अहिलेको बहुचर्चित साहित्यिक पत्रिका, त्यो पनि फ्री मा, सुब्बासाप की जय हो ।

सबै सहभागीहरुको हाजिरी लिन मैले नरेश दाइलाई सघाएँ, साथीहरुले सामान बोर्डिङ स्थान सम्म लान सघाए । 
"खै त शरण सुब्बा दाइ?", नरेशदाइले फोन लगाइहेरे लागेन ।
"शशीमदन दाइ?" मैले सोधेँ । 
"उनी आइसके, सबै सामान उनकै दोकान बाट ढुवानी गरिएको हो", नरेश दाइले ढुक्कसाथ भने । ३७ जनाको उपस्थिति थियो, ३ जना अनुपस्थित रहे ।
करीब १० बजे बोट आयो, हामीले तातो आलु खेलेर सामान बोटमा राख्यौं । सबै जना उत्साहित् भएर बोट चढ्यौं, चिनाले बोट चलाइ पनि हाल्यो । "खै त शशीमदन?" अब खैलाबैला भयो । 
"बिचरा सप्पै सामान ल्याए, आफै छोडिँदा त रुनु मन लाग्छ होला नि हगि, किनारामा उभेर? चित्रकार दिपेन राईले, सहानुभूति दर्शाए ।
"अब उनी पौडेर आउँछन्" , कसैले भन्यो । हाँसो र कोलाहलबीच बोट किनारातर्फ मोडियो । 
"यता आउनू, यता आउनू", शशीमदनदाइलाई कसैले चिच्यायो,
"कसरी आउनू होउ पानीमा?" कसैले भन्यो, फेरि हाँसो ।
"शशी दाइ त डुब्दैनन् पनि होउ", उनको मोटोपनमा कसैको जोक् अनि फेरि हाँसो ।
"यो चिप्सले लिनु गएकोले नि", शशीमदन चिप्सको माला लिएर चढे ।
बोट चिमसा चुइबाट साइकुङ तर्फ हान्नियो, सबै आ-आफ्नो सुरमा गफिन थाले । समर दाइले जोक् भन्न थाले, हामी हाँस्न थाल्यौं । मगेन दाइ, जुनकीरी दाइ, टि बि जी, बगैचाका श्याम दाइ लामा लामा लेन्सले सिनारियो क्याप्चर गर्न लागे । पारी होङ्कोङ र वारी काउलुनको बीचैबीच समुद्रमा हाम्रो सृजनशील जलयात्रा चल्दै थियो , घरिघरि नजिकैको अर्को बोटको छालले नराम्ररी बोट हल्लाउँदथ्यो र हामी ठूलो हल्ला गर्थ्यौं ।

"हमजायेगा एकचोटि चुँडेलले तर्साउने जंगलको बाटो मध्यराति ट्याक्सी चलाउँदै फर्किनुपरेछ,साथी माग्दा पनि कसैले साथ दिएनछ । डराउँदै डराउँदै गाडी चलाउँदा उसले जंगलको बीचको त्यो बाटोमा एक सुन्दरी देखेछ । सुन्दरीलाई देखेर मख्ख परेर उसले गाडी रोकेछ, अनि 'बैनी के गरेको राति यस्तो जंगलको बीचमा, तिमीलाई थाह छैन, यहाँ चुडेल लाग्छ भनेर?'भनेछ,
त्यसले भनिछ ,'दाजु, मै त हो नि चुँडेल', 
'ठट्टा नगर न, चुँडेल भए तर्साऊ त', 
'हाऊ' चुँडेलले तर्साइछे,
'अबुइ! हो त रहेछ, ल गएँ ल' भनेर आफ्नो बाटो लागेछ"
समर दाइको अभिनय सहितको जोक् हेर्दै सुन्न रमाइलो हुन्छ , कुनै समयका रंगमञ्च अभिनेता पनि हुन् ।
"एकचोटि छोरालाई लिएर म भूत घर गएको, हाम्रो अगाडि एक जोर चिनाहरु थिए, भुत निक्लेर 'हाऊ' गर्दा डरले उनीहरुको सातोपुत्लो उड्यो । म चाहिँ लुकेर त्यो भुतको पछाडिबाट गएर 'हाऊ' गर्देको भुत कम्ति ता तर्सेन, मेरो छोरा बेस्सरी हाँस्यो । आजसम्म त्यो कुरा गरिरहन्छ", भुतमै निरज दाइले आफ्नो किस्सा जोडे ।
"रबिन सर, हाम्रो सिडी छ नि, होइन? एउटा बजाऊँ न, यिनीहरुले त हिन्दी पो बजाइरहेका रहेछन्" नरेश दाइले भने । मैले रबिन शर्माको सिडी दिएँ , संगीत गुञ्जियो ,
"दुख्दा पनि त आनन्द दिने प्रीतको घाऊ भयौ तिमी
धमिलो पानीको भेलमा अल्झेको नाऊ भयौ तिमी
म माझी बनेर हेलिनु कि, मायाको जालमा जेलिनु कि?"
नीलो आकाश मुनि, नीलो समुद्रमाथि, सेता बादलहरुको छायाँमा, हाम्रो सेतो जहाज , नीलो पानीलाई चिर्दै सेता छालहरु बनाउँदै तैरिरहेको थियो, जोर्डनको कोलाहल देखि विश्राम लिन केही क्षणलाई सहि !
"ल एकछिन सबैजना भित्र आउनुपर्यो, यो यात्रा र अपनाउनुपर्ने सुरक्षा सम्बन्धि जानकारी को लागि" सुबास दाइले उद्घोषण गरे ।
क्रमश:


बगैंचा डट कमको श्रृजनशील साहित्य जलयात्राको कुरा - पार्ट २
--------------
"आज मेरो बूढीले बिहानै ,'आज तेरो छुट्टी रहेछ, छोरीलाई टाइम दिन्छस् होला नि?' भन्दै थियो, म जलयात्रा हिंडदिएँ । अब घर जाँदा पक्कै आगो भइरहेको हुन्छ, म पनि झ्याम् झ्याम् दिन्छु, पानीले । ऊ आगो भएपछि आफू पानी हुनुपर्यो नि, हैन त?"
गलल्ल हाम्रो हाँसो । जलयात्रा पछि हामी दुमकुलुमा सुस्ताइरहेका थियौं, बियरले हो कि बोटले मथिंगल दिग्मिगाइरहेको थियो मेरो, समर दाइ र जुनकीरी दाइको वान् अन वान् जाँदै थियो । 
"कहिलेकाहिँ मैले पनि आफ्नो जीवन बाँच्नु परेन ?" समर दाइको प्रश्न । समर दाइले चिनियाँ पत्नी विवाह गरेका हुन् र उनकी १०-१२ वर्षीया छोरी छिन् । समर दाइ भावना पूरै घोलेर आफ्नो सानो मोबाइलको स्क्रिनमा बडो कष्ट साधेर कविता लेख्छन् तर उनकी छोरीले नेपाली बुझ्दिनन् , उनको गोर्खाल्यान्डको सपना उनीसँगै यो होङकोङमा विलय हुनेछ । एक दिन भए पनि आफ्नो भावना अनुरुपका साथीभाइसँग जीवन जिउन जलयात्रामा उनी जसरी पनि सामेल भए ।
मैले लेखेका यी उनका यी वैयक्तिक जीनवका कुराहरु समर दाइले नपढून् भन्ने मेरो चाहना तर उनी पढ्ने छन् । साहित्यकार,कलाकारको नीजि जीवन र सार्वजनिक जीवनको सीमा कहाँ सकिन्छ थाह छैन, सायद उनको नीजि जीवन मैले यहाँ छताछुल्ल नलेख्नु थियो । तर मनपरेको ब्यक्तिको मात्रै कथा लेख्न सकिने रहेछ, आई बि राईले भने जस्तै ।
यो जलयात्रा पनि समर दाइले चाहे जस्तो वैयक्तिक सुखको लागि मात्रै थिएन, सुब्बा सापले चाउचाउ साहित्यको प्रस्तावना पेश गर्ने कार्यक्रम थियो , त्यसैले कतिले रुचाएर या नरुचाएर भए पनि यसलाई नियाली नै रहेका थिए, 
"सुनकोशीमा बाढी आउँदा तिमेरु जलयात्रामा मनोरञ्जन गर्ने?" यसरी नरुचाउने मध्येका एक मित्रले फेसबुकमा प्रहार गरेको देखेँ,
मलाई मुख फर्काउनु मन थियो, 
"सुनकोशीमा बाढी आउँदा हाम्रो पनि मनमा पहिरो आएको छ, मित्र। करोडौं पैसा राहत कोषमा जम्मा हुँदा पनि त्यसको परिचालन हुन नसकेको , जनजीवन अस्तब्यस्त बन्दा नेताहरू चरीको शोकमा पागल भइरहेको , मृत्यु पश्चात् मात्रै जनताहरुको मनमा श्रीकृष्ण श्रेष्ठप्रति अपार स्नेहको बाढी आएको र उनको चलचित्र हेरेर सच्चा (?) श्रध्दाञ्जली दिइरहेको , यी सबै कुरादेखि अवगत छौँ ,मित्र । 
तर भर्खरै हाम्रो होङ्कोङ्मा देवकी लिम्बूको हत्या उनकै छोराले वीभत्स ढंगले घाँटी रेटी रेटी गरे, के हजुरलाई थाहा छ? हामी कुन विषम परिस्थितिमा जिएर देशको लागि रेमिट्यान्स र सहयोग पैठारी गरिरहेका छौँ , हजुरलाई हेक्का छ? १६ घन्टा x ३० दिन सुरुङमा जोखिमपूर्ण काम गरेर हजुरहरु जस्तै हाम्रा आफन्तलाई पसीना र रगत लतपतेको डलर पठाइरहेका छौँ , कहिले बिरामीको सहयोग, कहिले बाटो खन्न, कहिले एयरपोर्ट बनाउन, कहिले पुल, कहिले खेलकुद मैदान, कहिले अस्पताल, कहिले के, कहिले के।
देश फर्किने सपना देख्दादेख्दै झ्याल नभएका, अस्वस्थकर कोठाहरुमा सुतेका सुतेकै भएका छौँ । पारिको सेन्ट्रलको फोटो हेरेर होङ्कोङ् बुझ्ने हजुरलाई थाहा छ वारीको जोर्डनमा हाम्रो बसोबास कस्तो छ? साँस्कृतिक संकटमा जन्मेका हाम्रा सन्तानहरुको भविष्यबारे कसैले चासो लिएको छ? हामी पनि नेपाली हौँ भनेर सरकारले केही चासो दिनुको सट्टा जबर्जस्ती एन आर एन बनाएको छ रे, हाम्रा अधिकार कुण्ठित गरिएको छ रे । के सरकारले हाम्रो बारेमा सोँचेको छ, के हजूरले हाम्रो बारेमा पीर गर्नु भएको छ ?
अब एकदिन हामीले खुसी हुन जलयात्रा गरेर हाम्रो होङ्कोङ्को साहित्य कस्तो हुनुपर्ने हो भनेर विमर्श गर्दा हजुरहरु किन सुनकोसीको बाढीको कुरा निकाल्नु हुन्छ? 
सुनकोशीको बाढी पीडितको नाउँमा हजुरले एक छाक कटौति गर्नु भएको छ? किन हामीले नै सबै मुध्दामा छाक काट्नु पर्ने? के हामी सरकार हौँ ? के हामी भगवान हौं? "
कमेन्ट् दिउँला भनेको कमेन्ट नै डिलिट भएछ ।
"बगैंचा डट कमको आयोजनामा गरिएको यो जलयात्रामा यहाँहरुलाई स्वागत छ, म सुबास राई । आजको हाम्रो कार्यक्रम तालिका यस्तो छ" ,सुबास दाइले बोटको भित्री कक्षमा हामीलाई राखेर सुनाए ।
"हामी पानीमाथि छौं र सुरक्षा सर्वाधिक महत्वपूर्ण कुरा हो । हामी मनोरञ्जन गरौं तर कृपया यथोचित सुरक्षा पनि अपनाउँ । उ त्यहाँ लाइफ ज्याकेट देख्न सक्नुहुन्छ, आवश्यक परेमा प्रयोग गर्नुहोला ।"
"चार ओटा मात्रै छ त?" जनुकीरीले मेरो कानमा फुसफुसाए , म हाँसें । केही समय पहिले नयाँ वर्षको आतिशबाजी हेर्न भाडा लिइएका दुई बोट टकराएर थुप्रै जनधनको क्षति होङकोङको यो समुद्रमा भएकै हो । आफूलाई पौडिन पनि आउँदैन । साँच्चै, चार ओटा मात्रै हो त? यसो हेरेँ, होइन, झोलामा थुप्रै थिए, बाहिर ४ वटा लडिरहेका रहेछन् । 
"अब ब्रेकफास्ट गरौं अनि हाम्रो औपचारिक कार्यक्रम शुरु गरौंला", सुबास दाइले टुंग्याए ।
"वार्ता असफल!" हेम दाइ आए ,
"के भो? कस्तो वार्ता?" मैले उत्सुकता देखाएँ ,
"आज दिनभरि यो पानीमाथि नै राख्ने भए, बाहिर जमिनमा पनि निकाल बरु के कति रकम थप लाग्छ, थपौंला, भनेको आयोजकहरु मानेनन् । वार्ता असफल! ",
अब कार्यक्रम कसरी बढ्ला त, उदघोषक बज्रकुमार थुलुङ टाउको समातेर घोप्टो परेका छन्, उनका ठूल्ठूला आँखा राता र रसिला देखिन्छन् ।
क्रमश:


बगैंचा डट कमको श्रृजनशील साहित्य जलयात्राको कुरा - पार्ट ३
--------------
"सुरेशकुमार त खुशी भए होलान् ,हगि?" भर्खरै सम्पन्न मेलोडी नाइटका आयोजक अन्तिमजीलाई सोधेँ ,
"खुशी भए, आर्थिक रुपले यो भ्रमण लाभदायक भयो बुढोलाई, छोरोलाई वैदेशिक रोजगारमा पठाउने रकम संकलन भयो । आफ्नो सांगीतिक करियर सकिएको भन्ठानेर गीत गाउनै छोडिसकेका रहेछन बुढो । तर यो कार्यक्रम पश्चात् उनको सांगीतिक सक्रियता बढेको छ, दुबइ जान लागेका छन् ।" अन्तिमजीले भने ।

अब खाजा खान लागियो, थरि थरिका स्यान्डविच्, ससेज्, ब्रेड, सँगै गुन्द्रुकको अचार पनि दिदीहरुले निकाल्नुभयो ।
"यो गुन्द्रुकको अचार कसले बनायो?" समर दाइले सोधे, 
"मैले" माया दिदीले भनिन्,
"तपाईंको त नि, हात काटिदिनु पर्ने । यस्तो मीठो अरु कहिँ नबनोस् भनेर ", आँखा झिम्झिम्याउँदै उनले भने, माया दिदीले बुझिन् कि बुझिनन् उनको ठट्टा, हाँसिनन् । समर दाइ र मैले बियरको उद्घाटन गर्यौं ।

चिना क्याप्टेन आएर, हाम्रा पेयहरु एक फ्रिजरबाट निकालेर अर्कोमा सार्न थाल्यो । चिना भाषामा कवि टि बि याक्खालाई लक्षित गरेर , निक्कै लामै गनगन गरे , याक्खा सरले टाउको हल्लाए ।
गएपछि मैले सोधेँ,"सर, के भनेको त्यसले?" 
याक्खा सर, "खै?" भन्दै कुम हल्लाए,
"यहाँ राख्यो भने पैसा लाग्छ भने जस्तो लाग्यो मलाई, उसको बडी ल्याङ्ग्वेज् अनुसार", जुनकीरीले अनुमान लगाए ,
"त्यति मात्रै होला र? निक्कै लामो बोलेका थिए त!", मैले सोधेँ, सबैजना हाँस्यौं। चिना भाषा राम्ररी बोल्न सक्ने माया दिदी मात्रै रहिछन् क्यारे, उनैले चिनाहरुसँग सहजकर्ताको भूमिका निर्वाह गरिरहेकी थिइन् ।

साथीहरुलाई बोट लाग्न थालिसकेको थियो, गायक अन्तिमजीको वाक्यबन्द भइसकेको थियो , मनुजी,कविता दिदी, सरला दिदी, पवित्रा दिदी र कला बहिनी पनि आँखा चिम्म गर्न थालिसकेका थिए ।

"बज्र सर, एक लिनुहोस् ",टाउको टेबलमा राखेर सुतेका बज्रसरलाई मैले उक्साएँ ।
"हो, लिनै पर्यो", उनले बियर लिए ।
खाजा खाइसकेपछि औपचारिक कार्यक्रम भनेर आयोजकले फेरि भित्र डाके, बज्रजी चंखो भइसकेछन् । बगैंचाका प्रधान सम्पादक नरेश सुनुवार दाइको अध्यक्षतामा, दिनेश दाइलाई मुख्य अतिथि बनाई बगैंचा डट कम को रातो टि सर्ट सार्वजनिक भयो । कार्यक्रम मुख्य आकर्षण रहेको चाउचाउ साहित्यको प्रस्तावना प्रस्तुत गर्न सुब्बा साप उर्फ हाङयुग अज्ञातलाई डाकियो । सृजनशील अराजकतावादका विचारक हाङयुग अ्ज्ञात निश्चय नै कुशल विचारक हुन् , उनले सुब्बा साप बनेर ठट्टै ठट्टामा दिएको चाउचाउ साहित्यको अवधारणा यति गहन बन्न पुग्छ भन्ने सायदै कसैले अनुमान गरेको थियो ।

प्रस्तावनाको सारांश पेश गर्दै उनले भने,"आजसम्मका हाम्रा प्रकाशित कृति र विचारहरूले के साँच्चिकै हङकङको हाम्रो जीवनलाई बोकेको छ त ? यदि बोकेको छ भने कहाँ र कसरी बोकेको छ ? यदि बोकेको छ भने हङकङका हाम्रा प्रिय पाठकहरू हामीले लेखेको साहित्यसँग किन भाग्छन् ? यदि बोकेको छ भने नेपाली साहित्यको मूलप्रवाहमा हाम्रो हङकङको नेपाली साहित्य कहाँ छ ? यदि हामीले लेखिरहेको नेपाली साहित्यमा हङकङको नेपाली जीवन लेखिएको छैन भने किन लेखिएन ? यी यस्ता प्रश्नहरूको उत्तरहरू हङकङका हामी जिम्मेवार कविलेखकहरूले इमानदारीपूर्वक दिनुपर्नेछ"
अबका दिनमा 'हाम्रो होङकोङको जीवन र जगत लेखौं' भन्ने आग्रहका साथ 'चाउचाउ साहित्य'को प्रस्तावना अघि सार्दै बुँदाहरु प्रस्तुत गर्न लागे, हरेक बुँदामा उपस्थितहरुले जोड तोडले ताली ठोकी समर्थन ब्यक्त गरिरहेका थिए ,
"
.....
घ. आमपाठकहरूलाई दिग्भ्रमित पार्ने लेखन र असाहित्यिक गतिविधिहरू वर्जित गरौं ।
ङ.नेपाली साहित्यका भ्रष्ट र प्रतिगामी तत्वहरूको चाकरी र चाप्लुसी गर्ने प्रवृत्ति र नेपालका समिक्षकलाई पैसा दिएर आफ्नो बारेमा लेखाउने परम्पराले हङकङको नेपाली साहित्य दिनानुदिन बदनाम हुँदै गएको छ । यो पीत साहित्यकारितालाई हाम्रो होङकोङबाट उन्मूलन गरौं ।
..........."
सबैभन्दा ताली यी बुँदामा बजे, सबैले देखेका, महशुस गरेका भावना यी बुँदामा भेटिएर होला ।

कतिले चाउचाउ जस्तो जंक फुड आदि, इत्यादि तर्क दिएको चाउचाउ साहित्यले आज "चाउ माने टापु, होङकोङका टापुहरुबाट लेखिएको साहित्य जहाँ हाम्रो मन दिनानुदिन सबैतिरबाट छुट्टिएर टापु जस्तै एक्लो बनिरहेको छ" यस्तो अर्थ बोक्न सफल भएको छ । म संझिन्छु, यसरी नामको अर्थ लाइदिन डा. पुष्कर पराजुलीको भूमिका रहेको छ । सुब्बा सापको ब्याख्याले चाउचाउ साहित्यलाई गरिमा प्रदान गरेको छ र भोलिको दिनमा यसको विशेष महत्व रहनेछ भन्ने कुरामा हामी विश्वस्त हुन सक्छौं। हाम्रो जीवनयापनको शैलीले चाउचाउ साहित्यमा नआइकन सुखै छैन, लेखकलाई र पाठकलाई । त्यसैले, बगैंचा डट कमले आयोजना गरेको जलयात्रा यो प्रस्तावना सँगै भब्य सफल भयो र भोलिको कालखण्डमा ऐेतिहासिक मानिएला ।

प्रमुख अतिथि दिनेश दाइले उल्लेख्य केही बोलेनन्, नरेश सुनुवार दाइले अरुले कार्यक्रम जुधाएको आरोप लगाएको खण्डन गर्दै भने," बगैंचाले पहिले कार्यक्रम घोषणा गरेकोले, बगैंचाले होइन अरुले बगैंचासँग कार्यक्रम जुधाएको हो ।" ओजपूर्ण वक्तब्यहरुले लागेका रिङ्टाहरु बिर्साइदिएको थियो तर औपचारिक कार्यक्रम समापन भयो अब फेरि बोट लाग्ने भयो भन्दै थियौं ।

"मलाई धेरै धेरै माया चाहिन्छ किन सोध न
तिम्लाई धेरै धेरै माया साँचेको छु भन न
अब जिउन देऊ मलाई
साँचेको माया देऊ मलाई"
हिमालयन ब्यान्डको गीत गिटारमा घन्किन थालेको थियो, ज्ञान दाइको अनुपस्थितिमा जर्सी नम्बर १० लाएर गायक टिमको मोर्चा सम्हालेका निरज दाइले आफ्नो कौशल देखाउन थालेका थिए । नुन खाएर झोक्राएका कुखुरा झैं झोक्राएका कविता मेडम,मनुजी,सरला दिदी, बज्रजी सबै जना स्वर खाप्न पुगिसकेका थिए ।
"मुसुमुस हाँसिदेऊ न लै लै", "लेकाली ओ चोयाको डोको", कड्के आँखाले झुक्यायो मलाई सान्नानी हो कि भनेर","चरी मर्यो सिसैको गोलीले", आदि हिट र सदाबहार नम्बर एक पछि अर्को गइरहेको थियो । 
" लर्बरिन्छन् यी पाइलाहरु तिमीले हेरिदिँदा
बिजुली चल्छ अंग अंगमा तिमीले अंगालेको बेला"
इन्दु स्याङ्बोको यो गीत उनले के गाएका थिए, समर दाइ सेलेक्कै भइहाले, पुरानो परिचय रहेछ गायिकासँग ।
"के हो, दामी जमाउनुभयो त दाइले!" भनेर मैले निरजदाइलाई धाप मारेँ,
"उहिले देउसी खेल्दाको गीतहरु हो नि", उनले आँखा झिम्क्याए । अन्तिमजी पूर्वै जाने रेल भने गुडेन, उनी इन्जर्ड खेलाडी बनेरै लडिरहे ।
क्रमश:


बगैंचा डट कमको श्रृजनशील साहित्य जलयात्राको कुरा - पार्ट ४, अन्तिम भाग 
--------------
"सुब्बा त फोनमै कति छिटो टाइप गर्दो रहेछ, मेरो कविता एकैछिनमा उभिएरै टाइप गरेर पनि फेसबुकमा पोस्ट गर्यो!"
दिनेश दाइ हामीलाई खोज्दै जलयात्रापछि साँझ दुमकुलुमा आइपुगे ।
सामुहिक फोटो खिचाएपछि, शौच गर्न दिपेन दाइ, जुनकीरी,समर दाइ र म चिम सा चुइको कन्सर्ट हल तिर लाग्यौँ । "यो चिमसा चुइको स्टार फेरी त मेरो दोस्रो घर जस्तो लाग्छ, उ त्यहाँनेर म मानिसहरुको पोट्रेट् कोर्न बस्थेँ नि, रबिन भाइ", दिपेन दाइ सुनाउँदै थिए ।
"आम्दानी कस्तो हुन्थ्यो?",
"आम्दानी त त्यस्तै हो, तर थरिथरि मान्छे भेटिने, काम धेरै सिकेँ मैले", दिपने दाइले भने । 
जुनकिरीको पनि यही स्टारफेरिमा टुर बसको टिकट बेचेर १-२ वर्ष बसेको अनुभव रहेछ, "थरिथरि मान्छे देखिन्छ नि, यहाँ । एकापसमा लड्ने लडाकूहरु, समुद्रमा हाम्फाल्नेहरु" ।
"मुत्रथैली माटोको भएको भए मेरो त फुटिसक्थ्यो, छिटो जाउँ", समर दाइलाई हतारो । म कल्पना गर्छु माटाको मुत्रथैली कस्तो हुन्छ ।
दिनेश दाइले शौचालाय गएर यहीँ आऊ है भनेकाले, सुब्बा सापसँग छोडेर गएका थियौँ । सुब्बा साप टाइप गर्दैथिए,
"थरिथरिका पाठकबाट थरिथरि सन्दर्भका कविता लेख्न आग्रह हुन्छ " सुब्बा सापले भन्दा उनलाई अनलाइन कविता पसल खोल्न सुझाव दिएको थिएँ । हामी शौचालयबाट फर्किँदा मेला उठिसकेको थियो, कोही कतै देखिएन । युनलोङ बस्ने दिपेन दाइ छुट्टिसकेका थिए, हामी दुमकुलुतिर हान्नियौं, एघार नम्बरको गाडीमा ।
मस्तिष्क दिगमिग भइरहेको थियो, मन भने भरिएको थिएन । दिउँसो बोटमा लन्च गरियो, लन्च पनि चाइनिज शैलीको बोटमै प्रबन्ध गरिएको रहेछ, खुबै स्वादिष्ट थियो । लन्च पछि भने कतिको अवस्था बडो नाजुक भएको थियो, साइ कुङमामा अडाइएको बोटमा, कोही फोटो सेसन गर्दै थिए, कोही गफिँदै पिउँदै थिए, धेरै भने एकान्त खोज्दै वाकेर हैरान भइरहेका थिए ।
माया दिदीको कुरा अनुसार हामीलाई स्थलमा अवतरण गराइनेछ भने पनि अवतरणको मौका मिलेन । हाम्रो जस्तो अरु बोटका हरु भने पौडिँदै थिए, माछा जतिकै कलाहरु देखाइरहेका थिए। हामी भूपरिवेष्टित् देशका नागरिकहरुको जलयात्रा भने बोटको परिधि नाघ्न सकेन । कोही पौडीबाज त थिए होलान् समूहमा तर उनीहरुले पानीमा हाम्फालनेन् ।
"लु रबिन सर, अब मुटु सम्मेलन गरौं", नरेश दाइले प्रस्ताव गरे । 
"गरौं भने गरौं", म तैयार भएँ ।
सबैजना फेरि सभाकक्षमा भेला भयौं,
"मुटु सम्मेलन केही होइन, तपाईं हामी जस्ता मन मुटु मिल्ने बस्ने, गफ गर्ने, रमाउने मौका हो । यान्त्रिक जीवनबाट केही छिन भए पनि साहित्य -संगीतमा रमाउने, हाँस्ने अनि हँसाउने यो अनौपचारिक कार्यक्रममा सबैको सहभागिता अनिवार्य हुनुपर्नेछ", मुटु सम्मेलन -४ को परिचय दिएँ ।
टिबि याक्खा,दिनेश सुब्बा,कविता राई, मनु कन्दङवा, मगेन्द्र राई,प्रताप कोयु, नरेश सुनुवार, समर गुरुङ, नेत्र जुनकिरी, हाङयुग अज्ञातले कविता वाचन गरे । सैनिक कवि टिबि याक्खाले भने "मसँगै मर्नेछन् मेरा कविता" । मगेन्द्र राई अंग तस्करीको शिकार चिनियाँ बालकको सत्य घटनामा आधारित हृदयविदारक गो बिन को कविताले सबैलाई रुवायो भने मनु कन्दङवाको मामाको सन्डे कि सन्डेको मामाको चर्तिकला चित्रित कविताले सबैलाई हँसायो । बज्र थुलुङको गजलले रोमान्स भर्यो भने प्रताप कोयुले पलेटी जमाएर "नाङ्गो संसार" शीर्षकको वाचन गरेर सबै नाङ्गै रहेको उर्दी जारी गरे, उनको कविताले उनी एक सिध्दहस्त कवि हुन् भन्ने बुझायो । जुनकीरी र समर गुरुङले चियाबारीको ब्यथा सुसेले, कविता राई मोबाइल फोन फ्याँकेर गमलामा फूल स्याहार्न तम्सिन् , अज्ञातले शरणार्थीको कथा उतारे भने नरेश सुनुवारले बेलुन प्रतियोगिता भनेर हालसालै सम्पन्न भानुभक्त स्वर्ण पदक वितरणको धज्जी उडाए ।
यता संगीत तर्फ भने कुनै समयको प्रख्यात गीत "मुटुको ढोका खोलेर राख्छु" दिप श्रेष्ठसँग रेडियो नेपालमा सहगायन गरेकी गायिका सरला गुरुङले कला चेम्जोङका साथ सदाबहार गीत "मायालुले संझे कि कसो" गाइन् । कलाले आफ्नै नयाँ गीत पनि सुनाइन्, "मलाई हाँस्न सिकायौ तर तिमी आफैं रोयौ" बोलको । चित्रकार दिपेन्द्र राईले र बज्रजीकी श्रीमती सानु राईले पनि गाएर सहभागिता जनाए भने, यता हरिचन्द्र राईले गाउनै छोडेका रहेछन् , आफ्नै आवाजमा रेकर्ड गरिएको "पहराको बीच फूल्यो सुन्दर सुनाखरी" गाउने प्रयास उनले गरे । जनवादी गीत गाउन रुचाउने गायिका पवित्रा राईले कुनै समय होङकोङमै रहेर काम गरेका गणेश इजमको गीत "अविरल जीवनका यात्रारुबीच आँधी र हुरी मडारिन सक्छन्" मीठो गरी पस्किन तर सर्वश्रेष्ठ गायन भने निरज राईको रह्यो जसले भक्तराजको " जहाँ छन् बुध्दका आँखा" र दिप श्रेष्ठको "झस्किएछ मन मेरो" सुन्दर ढंगले प्रस्तुत गरे, सबैको वाहवाही लुटे ।
सबै सहभागीहरुको प्रस्तुतिको बारेमा विस्तारमा लेख्न थालेँ भनेँ अर्को ४ श्रृंखला सम्म मेरो गन्थन जानेछ, छोटकरीमा भन्दा संगीत, चुटकिला र कविताको सम्मिश्रण यो कार्यक्रम आपसी संवाद गर्दै अघि बढ्यो । कार्यक्रमको अन्त्यमा कवियत्री मनु कङदङवालाई 'जलपरी', गायक निरज राईलाई 'जलदेवता', कवि प्रताप राईलाई 'जलयात्रा विशेष'को मुकुट अग्रज समर गुरुङद्वारा पहिर्याई रमाइलो सम्मान गरिएको थियो ।
कुनै बेला नेपालमा कानुनका विद्यार्थी, चलचित्र निर्माण संयोजक र अचेलका हाम्रा गीतकार हेम लावती दाइले गीत गाउँदा "घुम्तीमा नआऊ है को स्थाई स्केल लिँदा सक्काएर एक अन्तरा सुनाए, जसले गर्दा गीत शीर र पाऊ बिनाको अधकल्चो भयो" भनेर दिनेश दाइले प्रतिक्रिया दिए । उनले गीत गाएर मनोरञ्जन त दिए नै, हरेक प्रस्तुतिको छलफलको क्रममा कुनै पनि विषयलाई बुजो लाउनलाई "यति भनेपछि सक्किsS गो!" भनेर बारम्बार भनिरहेकाले उनको थेगो सप्पैले अनुकरण गरे । फेसबुकमार्फत् यो थेगो भाइरल भइरहँदा विश्व खुम्चेर विश्वग्राम भएको रहेछ भन्ने साबित भयो । फेरि कुनै कुरालाई बिर्को लाउन सजिलो रहेछ यो थेगो त्यसैले पनि जहाँ पनि फिट भइरहेको छ ।
समर दाइको भाषामा यसरी सुन्दर मुटुवाहकहरुले मुटु सम्मेलनमा भुँइभरि मुटुहरु छरपस्ट पारे, मुटु सम्मेलन पश्चात् भने बोटले मात्ने क्रम जारी रह्यो । कवयित्री कविता राई एकातिर लखतरान भने गायिका सरला गुरुङ अर्को तिर सिकिस्त । गायक अन्तिम राईको त आयोजकले पैसा फिर्ता गरी विशेष ट्रिट् नै दिनुपर्ने देखियो । समग्रमा, कार्यक्रम नौलो र ऐतिहासिक रह्यो । ६ घन्टाको स्वच्छन्दता सिध्याई सबै दिनेश सुब्बा दाइको कविताको सारङ्गी जस्तै जोर्डनको घरको एउटा किलोमा झुन्डेर आत्मदाह गर्न ओर्ल्यौं चिमसा चुई स्टार फेरी मा ।
"सुब्बाले मेरो कविताको पेज त राख्यो नि, २० वर्षपछि यसको ठूलो मोल हुन्छ भन्छ मोरोले । २० होइन ३० भन न होउ भनेको नि", ५० मा हिंडिरहेका दिनेश दाइले दुमकुलुमा भने । 
"अहो, राम्रो आइडिया हो , मसँग पनि दाइका हस्ताक्षरका केही पानाहरु छन्, खोजेर ल्यामिनेशन् गर्नु पर्यो ", मैले भनेँ , हाँसोमय भयो फेरि । मृत्यु त शाश्वत हो र पीडादायी छँदैछ, यसलाई हाँसोमा परिणत गर्ने अवसर बिरलै मिल्छ, अवसर हामीले छोडेनौं । तर मलाई थाह छ दिनेश दाइ मभन्दा धेरै बाँच्ने छन् , र उनी बाँच्नु पनि पर्छ , केही हस्त लेखन कागजहरु बरु उनको लागि पो छोडौं कि? तर आजकाल सबै काम कम्प्युटरमै टाइपिङ गरिन्छ र पो ;)

गायकी छोडी मुटु सम्मेलनमा कवि भएका दिनेश दाइको कविता जस्तै अब जलयात्राको केवल मीठो संझना बोकेर किलामा झुन्डेर आत्महत्या गर्ने त्यो सारंगी जस्तै फर्कियौं शहरको कोलाहलमा, जोर्डनको कोलाहलमा :
"मेरो सारङ्गी आज खुलेको छ 
जोर्डनको कोलाहलमा लुकेको धुन 
आज यहाँ फुकेको छ
यसको धुनसितै यो डाँडा यो पहरा यो रुख यो फूल 
सम्मानले झुकेको छ,
उ: तल समुन्द्री लहरहरूले
मेरो धुनलाई कोरस गाइरहेको छ
आज बतासे डाँडाका चट्टानहरू
पुलंकित छन् मेरो आगमनमा 
मेरा ठेसहरू उनले चिनेको छ
र नै उनले छातीमै चौतारी बस्न दिएको छ ।
बतासे डाँडाको बतासले 
मेरा धुनहरू इतिहास बनाइसकेको छ
अब मेरो मनको सारङ्गी
कुण्ठित मनमा पोको पारेर
फेरि तेही बन्दी कोठामा जानु छ
जहाँ मेरो सारङ्गीले 
सानो कोठामा काँटीमा झुन्डिएर 
आत्महत्या गर्नेछ ।
समाप्त


५. सुरेशकुमार - ए ह्यापी एन्डिङ् स्टोरी

सुरेशकुमार - ए ह्यापी एन्डिङ् स्टोरी ,पार्ट १
---------
केही दिन अघि मैले एच एन एफ एनका अन्तिमजीलाई च्याट् गर्दा भनेँ, "हिँजोको मेलोडी नाइटमा सुरेशकुमारको पूरै मर्डरको ब्यवस्था गर्नुभएछ" ।
अन्तिम जी रिसाए होलान् तर जवाफमा केही भनेनन् , म उनको संस्थाले गरेको कार्यक्रमको आलोचना गर्दै थिएँ।
"तपाईं सुरेश दाइको बारेमा त्यस्तो लेख्ने?यहाँ तपाईं मात्रै समझदार विद्वान हुनुहुन्न "
गायक गणेश न्यौपाने मलाई थर्काउन आइपुगे मेरो फेसबुकको कार्यक्रम टिप्पणीबारे च्याट गर्दै ।
"किन ? मैले मेरो विचार पनि लेख्न नपाउनू? तपाईं आफै विद्वान लेख्नुस् वा अरु विद्वानलाई लेखाउनुस् न तपाईंका कुरा ।" म पनि रिसाएँ ।



यसरी साथीहरूको 'मेलोडी नाइट' हाम्रो लागि बाझोको विषय बन्यो, सबै फेसबुकमा । बाहिर भन्दा फेसबुकमा हाम्रो जीवन धेरै छ आजकाल , मिल्छौँ, झगडा गर्छौं , हाँस्छौं, रुन्छौं , फेसबुक नभए कति मान्छे पागल भइसक्थे होला, कि सबै मान्छे फेसबुकले पागल भइसकेका हुन्?
अन्तिमजीले म अफिसमा हुँदा फोन गरे, 'कार्यक्रममा प्राविधिक समस्या भयो, सुरेशकुमार दाइको माइक्रो फोन प्लेस्मेन्ट भएन, मोनिटर सानो आयो....'
'उनको अर्को कार्यक्रम छैन?'
'दिनेश दाइले गर्ने भन्नुहुँदैछ'
अन्तिम जी धेरै परिपक्व ब्यक्ति हुन्, नेपाल छँदा भुपाल राईसँग भर्जिन स्टुडियोमा बसेर उनलेे कला र कलाकारको अध्ययन गरेका छन्, उ जमानामा दिब्य खालिङ देखि लिएर संजय श्रेष्ठ सम्मको संस्मरण राख्दछन् । उनी आलोचना सहन्छन् सजिलै सायद त्यसैले गायकीमा अघि बढेका छैनन् । 'इख् नभएको मान्छे र बिख नभएको सर्पको काम छैन' भन्नुहुन्थ्यो हाम्री मुमाले 
सुरेशकुमारको कार्यक्रम दिनेश सुब्बा दाइले हिमालयन टोन्स म्युजिक एकेडेमीको तर्फबाट आयोजना गर्ने भएछन् उनै गणेश न्यौपानेको विशेष अनुरोध र सक्रियतामा । फेसबुकमा प्रचार हुन थाल्यो, सुरेशकुमारलाई लाइभ म्युजिकका साथ सुन्न पाइने भन्दा कान रसाएर आइहाल्यो ।
बिहीबार साँझ ८ बजे हामी दोहोरी रेस्टुरेन्टमा पुग्यौं । सुरेशकुमार स्टेजमा माइक् टेस्ट गर्दै थिए ,"आजभोलि हरेक साँझ मातिन थालेछ
जिन्दगी देखि जिन्दगी आतिन थालेछ" ।
'ल आज चैँ कार्यक्रम जम्ने भो है' मैले साथीहरूलाई भाइबरमा मेसेज गरेँ , साथीहरूलाई बडो छट्पटी भयो होला, विशेषगरी सुब्बा साप र जुनकीरी ।
"मेरो फरमाईस गरिदिनु है प्लीज" ड्युटीमा रहेका जुनकीरी भन्दै थिए ,
"फिका फिका छ
तिमी बिना
यो मेरो जिन्दगी"
सुब्बा साप आफ्नोतर्फबाट फर्माइस दिँदै थिए,
"आऊ अब अँगालोमा
बाँच्न यहाँ गाह्रो भो"
'केही भूल भए माफी देऊ मलाई
हृदय भित्र कतै ठाउँ छ भने स्वीकृति देऊ मलाई '
मेरा पनि केही फेभरेट थिए ,
'हातै काटी काटी तिमीले माया देखाउनु पर्दैन '
'दिन त बित्छ यो रात बित्दैन
निद्राले पनि साथ दिँदैन '
मौका छोपेर मैले पनि सुरेशकुमार र दिनेश दाइसँग फोटो खिचेर साथीहरूलाई पठाइदिएँ, छट्पटी झन् बढ्यो होला,
'कि मो कामबाट भागेर पो आऊँ?' जुनकीरीले आफ्नो रुन्चे सेल्फी सेन्ड गरे । क्रमश:

सुरेशकुमार - ए ह्यापी एन्डिङ् स्टोरी ,पार्ट 2
-------------------------------------------------
साउन्ड सिस्टम् जोडजाड गरी दिनेशदाइ बिचरा उपस्थिति दर्ता गर्दै प्रवेश शुल्क उठाउँदै थिए , मैले डिनर खाइसकेपछि गायिका रोशा बहिनी र मैले वहाँलाई पालो दियौं । बिचरी रोशा भने खाना खाँदै रकम संकलन गर्दै थिइन्, हिमालयन टोन्सको हरेक कार्यक्रम उनले ढोकामा रुङेरै सहभागिता जनाएकी छिन् ।
"तिमी थोरै भुमिका बाँधिदेऊ है, रबिन" दिनेश दाइले भन्नु भयो, म यस्तो आइपर्ला भनेर नसोचेँकोले एकछिन अताल्लिएँ ।
सबैले डिनर खाइओरी, शुरु हुँदा साढे नौ बजेको थियो ।
"सुरेशकुमारलाई हामी सबै औंधी मनपराउँछौ, हामी वहाँका फ्यानहरुलाई अस्ति मेलोडी नाइटमा चित्त नबुझेकोले नै यो कार्यक्रम गर्नुपरेको हुनुपर्छ । म आफू सुरेशकुमारलाई १६/१७ वर्ष देखि सुन्दै आएको हुँ, अस्तिको कार्यक्रम चित्त नबुझेपछि मैले फेसबुकमा रोष प्रकट गरेको थिएँ जसको लागि गणेशजीले मलाई धम्की पनि दिए" ,स्टेजमा उक्लेर पोल पनि लाइहालेँ , केही कुरामा ब्यस्त सुरेशकुमार दाइले पुलुक्कै स्टेजतिर हेरे ।
दिनेश दाइले खादा ओडाई केही उपहार दिएपछि, स्टेज सुरेशकुमारलाई दिइयो ।
"अघि भाइले कार्यक्रममा भनेको जस्तो कार्यक्रम राम्रो भएन होला, यसरी सफा बोलिदिनुपर्छ, मैले माइन्ड गर्दिनँ ", सुरेशकुमारले मलाई स्टेजबाटै चोख्याइदिए ।
"नमार है माया मेरो जीवन मेरो शमशान बन्छ
पसीना र त्याग सबै ब्यर्थै यौटा श्राप बन्छ
प्रिय तिम्रो संझना भविष्यको कल्पना"
गीतको दोस्रो अन्तरा बिना रिदम गाएर उनले शुरु गरे , ५० को संख्यामा आएका सुरेश फ्यानहरुको ताली गडगडाहटले गुञ्जियो । अस्ति कम्युनिटीको हलमा माइक समातेर गाउने सुरेशकुमार र आज गिटार च्यापेर गाउने सुरेशकुमार बिल्कुलै फरक देखिन्थे । अस्ति आत्मविश्वास गुमेको नौसिखा गायक लाग्ने उनी आज पूरै मुडमा जमिरहेका थिए । लाइभ म्युजिक र ट्र्याक गायनको भिन्नता कति हुँदोरहेछ, स्पष्ट देखियो ।
"दिनेशजी राम्रो गायक संगीतकार हुनुहुन्छ, १९८१ मा वहाँले दार्जिलिङको गायन प्रतियोगिता जित्नुभएको थियो । ८२ मा कसले जित्यो थाह छ? आइ स्साला, मैले जितको नि हौ " वाद्यवादकहरुको परिचय दिँदै उनले भने, दिनेश दाइ हार्मोनियममा, यादव दाइ र राजु दाइ गिटारमा थिए भने पर्कुसन्समा डिल्लीजीले साथ दिएका थिए , सबैलाई प्रोत्साहन स्वरुप उनले खादा ओडाउन पनि भ्याए ।
"प्रिय तिम्रो , नशालु आँखाले मार्यो मलाई" गाइसकेपछि आफ्नो सहोदर भाइ सुमन छेत्रीको परिचय पनि दिए, उनको पहिलो एल्बम "लभ सङ्स्"को त्यो गीतको मान्द्र सप्तकमा हार्मोनाइज् गर्ने उनी रहेछन् ।
"मेरो बुवा ब्रिटिश आर्मीको क्याप्टेन हुनाले भाइ यहाँ हङकङमा जन्मियो भने म चाहिँ गाउँघरमा जन्मेँ, त्यसैले ऊ विगत १६ वर्षदेखि हङकङ बसिरहेको छ ।" सुरेशकुमारको सहोदर भाइ पनि होङ्कोङ्मै रहेछन् , जानेर अचम्म लाग्यो ।
"आइ मिस यु एभ्री सिंगल डे" गाउनुपूर्व उनले भुमिका बाँधे ,
"मैले सबैभन्दा बढि मेरो कपाललाई मिस् गर्छु,", क्यापमा मात्रै देखिने सुरेशकुमारले आफ्नो क्याप खोलेर बन्जर तालु देखाए ।
"यो कपालको पनि धेरै किस्सा छ, काँकडभिट्टा बसपार्कमा बस कुरेर बस्दा दुई युवती आएर दाजु यो झोला हेरिदिनुहोला भने, उनीहरु फर्केर आउँदा मैले क्याप खोलिरहेको थिएँ, अघि एकजना दाजु थियो नि अंकल, कता गएछ, पो भन्छ बा"
दर्शकमा बसेका प्रशंसक युवती चिच्याउँदै थिइन्,"बाजे पो भन्यो होला होउ दाजु" ,
"बाजे त होइन ल, यो कपाल उमार्न कम्ति प्रयास गरेको छुइनँ मैले, साथीहरुको सल्लाहमा जिरे खुर्सानी दलिनँ कि अदुवाको लेप लाइनँ कि , जिरे दल्दा कम्ति साह्रो पोल्ने होइन, पूरै दिमाग नै पोल्ने, अदुवा चाहिँ यति दलियो कि कपाल होइन झन्डै अदुवै उम्रियो टाउकोमा । हालसालै चाहिँ एक औँषधीको प्रयोग गर्दैछु, केही उम्रे जस्तो भाको छ, काइँयो लाउने र जुल्फी लर्काएर हिंड्ने मेरो रहर छ"। आफ्नो सदाबहार क्यापको रहस्य खोल्दै फुकालेर श्यामको विशेष अनुरोधमा उपहारमा पाएको ह्याट लगाएर हँसाउदै हँसाउदै उनले गंभीर गीत गाए,
"केही भूल भए माफी देऊ मलाई
हृदयभित्र यदि ठाउँ छ भने स्वीकृति देऊ मलाई
I miss you every single day and wonder if it's the same with you"
होङकोङ आइडल राज तामाङले, हार्मोनाइज् गरेर राम्रो साथ दिइरहेका थिए ।
"यो जुनीमा गीतको मेरो एउटा अनुभव छ, दार्जिलिङमा यो गाएर निस्कँदा एक जना मान्छे हुत्तिएर आएर खुट्टा ढोग्न पुग्यो, पछि थाह भो, उसकी श्रीमती बितेपछि, दुर्ब्यसनतिर फँसेछ, र 'यो जुनीमा' गीतले उसलाई बाँच्ने प्रेरणा दिएछ । यौटा गीतले उसको जीवन परिवर्तन गरेछ, संगीतमा त्यस्तो शक्ति पनि हुँदोरहेछ, उ हाल जर्मनीमा छ । गीत गाएर अपजस् पनि पाएको अनुभव छ , दार्जिलिङमै एकजनाले 'दाजु, तपाईंको गीत त रड्डी छ नि' भनेर भन्यो, किन भन्दा 'तपाईंको त्यो ' तिम्रो वियोगको ब्यथाले' गीत सुनेर मेरो बाउले अर्की आमा बिहे गर्यो नि' "
यसरी गफिरहेका सुरेशकुमारको गफ पनि मीठो, गला पनि मीठो, गीत र प्रसंगसँगै सुन्न पाउँदा रमाइलो माहौल भइरहेको थियो , राजेश पायलको प्रवेश भयो । राजेश पायलले ५०० डलर कानमा सिउरी दिएर "गाजलुले आँखै छोप्ने" गीतको फर्माइस् पनि गरे ।
"पछि फिर्ता माग्न पाइन्न नि, डाइस् खेल्दा जस्तो पो हो कि?" सुरेशकुमारले ठट्टा गरे ।
"पर्खिरहन्थ्यो पँधेरीमा"
"फिका फिका छ तिमी बिना"
"एउटै संसारमा रहेर पनि"
"आऊ अब त मेरो अंगालोमा"
आदि हिट गीतहरु लगातार गाए ।
"मलाई ट्र्याजेडी सङ् मात्रै गाउँछ, उसको बुढीले छोडेर गाको रे, यस्ता भन्छन् तर त्यो सबै गलत हो म हेपिली मेरिड् पर्सन हुँ । मेरा दुई जवान छोरा छन्, एकको रेस्टुरेन्ट छ, दोस्रो नोकरीको लागि दुबइ जाने तरखरमा छ, यो भ्रमणबाट उठेको रकम उसलाई विदेश पठाउनमा खर्च हुनेछ । मेरी पत्नी पतिब्रता छिन्, बरु मै पत्नीब्रता भइन होला " आफ्नो परिवारको बारे पनि ठट्यौली पारामा बताइहाले ।
सुरेशकुमारलाई विश्राम दिन, राजेश पायललाई गाउन अनुरोध गरे दिनेश दाइले । राजेश पायलले आफूले बजारिया गीत गाउनु आफ्नो बाध्यता भएको बताउँदै सुरेशकुमारको जस्तो गंभीर गीत गाउन आफूलाई पनि मनपर्ने बताए । समयको माग अनुसार आफूले गीत गाएको बताए, आज केही गंभीर गीत गाउने भन्दै "नमाग मसँग सहारा नमाग","निष्ठुरीलाई माया गरी आफूलाई जोगी बनाएँ", दिनेश सुब्बा दाइको संगीतमा उनले गाएको "खोज्दै आएँ टाढादेखि" आदि गीत गाए, आज उनले गीतको भाव अनुसार गाउनुभन्दा अनावश्यक इम्प्रोभाइजेशन् बढि गरेर खल्लो बनाए । अनुप जलोटाको रेकर्ड दर्ता रहेको एक श्वासमा लामो समयसम्म स्वर स्थिर गर्ने १ मिनेट १५ सेकेन्डको रेकर्ड ब्रेक गर्ने अभ्यासमा रहेको सुनाउँदै, ४४ सेकेन्डसम्म स्वर स्थिर गरेर देखाए । "राजेश पायललाई कतिले मनपराउँदैनन् तर १४ वर्ष देखिको मेरो सम्बन्ध हो, उसँग । उ असाध्यै सुन्दर मन भएको ब्यक्ति हो, राइ इज् किङ" भनेर सुरेशकुमारले प्रशंसा गर्न छुटाएनन् ।
"राम्रो नराम्रो हामीले जे जस्तो गाए पनि हयुमेन नेचरको सामाजिक कार्यमा सहभागी हुन पायौं, आयोजकहरुले उठेको रकमबाट ३ लाख सहयोग दिनुभयो जुन बालबालिकाको शिक्षाको लागि खर्च गरिनेछ" भन्दै एच एन एफ एन लाई धन्यवाद पनि दिए ।
स्वेच्छाले रकम दिएर उनका गीत फर्माइस् गरेर सुन्ने क्रम चलिरह्यो ।
"तिमी मेरो जिन्दगीको किरण"
"हेर्दा हेर्दै सपना मेरो"
आदि ।
"कति राम्रा कलाकार हुन्छन् तर समयले भनौं भाग्यले उनीहरुलाई साथ दिँदैन, त्यस्तो एक कलाकार मधुकर लोहनी हुन् । मलाई असाध्यै मन पर्छ, म उनको गीत सुनाउँछु" भन्दै उनले मधुकर लोहनीको गीत पनि सुनाए ,
"के थाहा तिमीलाई तिम्रो पर्खाइमा मैले के के हराएँ
के नै पाएँ कति रोएँ ,छटपटाएँ, के थाहा तिमीलाई"
"तपाईंलाई कुनै गीत सुन्नु मन छ भने भन्नुस्, म कोशिस गर्छु । पैसा दिइरहनु पर्दैन, तपाईंको लागि गाउन पाउँदा म खुसी हुन्छु । रेस्टुरेन्टमा यसरी गाएको यो मेरो पहिलो अनुभव हो" ।
यसरी रेस्टुरेन्टमा पारखी बीच गाउन सुरेशकुमारले निक्कै मनपराए जस्तो देखियो, ३ घन्टाभन्दा बढि गाइसके पनि उनी थाकेका थिएनन् , उनको गाउने मुड चलिरहेको थियो ।
"बुढेसकालमा काँपेको स्वरले गीत गाँउदा मान्छेले नपराउलान् तर पनि स्टेजमा आउने मेरो धोको रहि नै रहला भनेर म जादू गर्न पनि सिक्दैछु, महशुर जादुगर सुरेश कुमार भनेर भए पनि स्टेजमा आउने मेरो योजना छ" भन्दै उनले चुरोटको बट्टाबाट चुरोट निकाल्ने, चुरोट बिलाउने, आदि जादु पनि देखाए ।
साढे बाह्र बजिसकेको थियो, दिनेश दाइले उठेको रकम हस्तान्तरण गर्दै " मेरो पनि कपाल कम छ, मलाई पनि त्यो औंषधी पठाइदिनुहोला र म पनि जादु सिक्नेछु । उमेर पनि उस्तै हो हाम्रो, यहाँ समर गुरुङ, म र तपाईं एउटै ब्याचका छौं" भन्दै धन्यवाद ज्ञापन गरेर औपचारिक कार्यक्रम टुंङ्ग्याए, वाद्यवादकहरुले विश्राम पाए , सुरेश कुमार भने एक्लै स्टेजमा गिटार बजाएर भए पनि स्रोताहरुको अनुरोध पूरा गर्दै थिए ।
"कस्तो लाग्यो? तिम्रो लागि धेरै मिहेनत गरेर गाएको छु, अब त खुसी भयौ?" सुरेशकुमारले ब्रेकमा हात मिलाउँदै सोधेका थिए , वास्तवमै यो कार्यक्रम नभएको भए सुरेशकुमार नमीठो संझना बन्ने थिए, अब मीठो संझना भए, जसरी रहेका थिए ।
गर्मी जानू लागेको र भुँडी लाग्नु थालेकोले साथीहरुको सल्लाह बमोजिम भ्यार खान छोड्नु पर्यो भनेर वाइन थालेको म, अरुण दाइले अफर गरेको वाइनले मात्दै १ बजेतिर घर फर्किएँ,आइ स्साला !
सायद अबदेखि म ट्र्याकमा गाइने कार्यक्रममा गीत सुन्न जान्न , लाइभ हो भने चाहिँ छुटाउन्न ।
pic: zap photo studio, hk


४. "बन्चरे जीवनको कुरा"

"बन्चरे जीवनको कुरा"
--------------------------
आज बिहानै सुब्बा सापले गाउँघरको तिर्सनाले साह्रो पारेछ, भाइबर छलफलमा उनले भने -" अब नेपाल फर्केर बोइलर पालिन्छ, यो शहरले रोगी बनायो । आधुनिक दास भइयो, आबो विद्रोह गर्नुपर्यो, यो शहरलाई मेरो झोंकले जलाएर गाउँ फर्किनुपर्यो"
"बर्ड फ्लुले खत्तम पार्छ, म त खसी बोका पाल्छु", टेनिस गुरु मगेन दाइ भन्छन् ,


"बुध्द भएर शान्तिको खेती गरौं भने मान्छेलाई शान्ति होइन, रक्त क्रान्ति चाहियो रे, अब बोइलर काटिन्छ " सुब्बा सापको ब्रोइलर योजना ।
"म त विचारहीन छु, समयको भेलले जुन बगरमा थुपार्छ त्यहीँ थुप्रिन्छु" कवयित्री मनु जी भन्छिन् ।
"
'जहाँ बस्यो त्यहीँ राम्रो मुटु भइदिनाले
अन्त जान सकिनँ नि माया रोइदिनाले - ख पन्धाक'
म त यहीँ बस्छु, चुङको यान भएर " 'साँगुरीमा गुराँस फुल्यो ' एल्बमको पुरानो गीतलाई उध्दृत गर्दै मेरो कुरा ।
"मेरो गाउँमा आर्थिक क्रान्ति गर्नुछ । हामी ठूला ठूला चिन्तन र सिध्दान्तका कुरा गर्छौं तर के हाम्रो चिन्तन र सिध्दान्तले यी गाउँघरको दुख मेटिएको छ?" सुब्बा साप भारी खेपिरहेका भरियाहरु र गाउँघरको उजाड फोटो प्रस्तुत गर्दै भन्छन् ।
"हाम्रो चिन्तनले हाम्रै दुख पनि कहाँ मेटिएको छ र!" म भन्छु ,
"साँस्कृतिक, सामाजिक र राजनैतिक चेतनाको विकास त गरिदियौँ तर आर्थिक विकास कसरी गर्न सकिन्छ भन्नेमा आफैं अल्मलियौं", सुब्बा सापको यो भनाइमा दम छ ।
"एकदिनमा यौटा रुख रोपौं मेरो अभियान यो हुनेछ, प्रयोगशाला याइनाम गाउँ", सुब्बा सापले सपना देखिहाले ।
"कवि भोगेन एक्ले जस्तै ?" म सोध्छु, केही दिन अघि फेसबुकमा वहाँको गतिविधि देखेको थिएँ , फलफूल बगैंचा लगाएका रहेछन् खोटाङमा होङ्कोङे जीवन त्यागेर ।
"भोगेन एक्लेले ठिक गरिरहेका छन्, जीवन त्यो हो" सुब्बा सापको समर्थन कवि एक्लेको निर्णय प्रति।
"आफनै खरको छाना
आफैले उब्जाएको माना
कति न्यानो थियो
कति मिठो थियो
तर,
आफनै मलिलो कोदो बारी
धान खेत
आफ्नै मकै बारी,
विरहले रोएको छ
एक आपसमा वारी पारी ....." मनु जी आफ्नो आशुत्व देखाइहाल्छिन् ।
"हजुरहरुको भावना को उच्च कदर गर्दै शुभकामना । मगेन दाइले गाउँमै टेनिस खेलाडी उत्पादन गर्न सकून् " म भन्छु, एउटा शिष्ट असहमति । के खाएर टेनिस खेल्छन् गाउँमा ? शहरमा मानिस अनेकन विधि र ब्यायाम गरि शक्ति खर्च गर्छन् तर गाउँमा आवश्यक कामको लागि शक्ति संचय गरिन्छ, खेल जस्तो कुरामा के शक्ति नष्ट गर्लान् र हलो जोत्ने घाँस काट्ने, दाउरा चिर्ने शक्ति?
"इन्टरनेटको ब्यवस्था चैँ गरिहाल्नू होला आफ्नो गाउँमा ताकि हामी संपर्कमा रहौँ" मेरो सुझाव ।
"वाइरलेस् गुरु महावीर पुन गुहार्नु पर्ला" ,मगेन दाइको समाधान ।
"माथि चढ्दै गए पछि अरु माथि उक्लिने सिंढी नभए पछि यात्रीले तल ओर्लिनु सुरु गर्छ , सहरदेखि वाक्क ब्याक्क प्याक्क भए पछि मुख गाउँघर तिरै मोडिदों रहेछ । यो सहरमा म जम्बी मान्छे हुनु लागेँ मरिसकेको चेतनाले अलिअली धुक्धुकी बँचेको " सुब्बा सापको आक्रोश वर्तमान प्रति ।
"मलाई त कवि भोगेन एक्ले पनि खुसी छन् जस्तो लाग्दैन । उनले रुखमा लगाएको साइन बोर्ड हेर्दा पूरै जंगली साहित्य सुरु गरेछन् । रुख रुखमा साइनबोर्ड टाँगेर,गाउँमा आफ्नै गाउँलेको दुश्मनी मोल्नु भन्दा चिनाको दुर्वचन सुपाच्य होला कि बरु" म कवि एक्लेले फलफूल रुखहरुमा लगाएको हिंसक चेतावनी संझँदै भन्छु । कवि एक्लेको बगैंचामा नहुने नपाउने हरुले नै त चोरी गरे होलान् , फेरि कवि भए भन्दैमा आफ्नो सर्वस्व कहाँ लुटाउनु त फेरि ! आफ्नो सम्पत्तिको सुरक्षा पनि त गर्नै पर्यो ।
"हाम्रो होङ्कोङ प्यारो छ", सुब्बा साप १८० डिग्री मा परिवर्तन हुँदै भन्छन् ।
" आफ्नै गाउँलेलाई फलफूल चोरेर खाएमा भाटे कार्वाही गर्ने चेतावनी दिँदै के गाउँ बसाइ भो होला र? बरु कहिलेकाहीँ गाउँमा पुग्दा गाउँलेलाई चुरोट लगिदिँदा उनीहरूले एक डबका जाँड दिएर सत्कार त गर्छन् । " म थप्छु गफ।
"हजुरको विचारलाई स्यालुट!" मनुजी स्यालुट ठोकिहाल्छिन् , आजकाल स्यालुट सस्तो छ ।
"तर विचार मात्रै है, भोलि हजुरहरु भन्दा पहिला मैले गुन्टा कसेँ भने केही भन्नू नपाइ । के थाह भोलि कवि एक्लेको बगैंचासँगै मेरो सुँगुर फार्म हुन्छ कि? अनि म झन् आततायी साइनबोर्ड ठोक्छु कि? " ।
हो नि, अनिश्चित जिन्दगीमा जे कुराको वकालत गर्यो त्यसको विपरीत कार्य गर्नु नै पर्ने हुन्छ । कालान्तरमा सुब्बा साप, मगेन दाइ, मनुजी चुङ्को यान र म पो गाउँमा बसेर धम्कीपूर्ण साइनबोर्ड टाँगिरहेको हुन्छु कि मेरो जायजेथामा । अनि फेरि केही बाठाहरुले आफ्ना सन्तानलाई कलम र जनताका सन्तानलाई बन्दुक बाँडेर हिँसात्मक आन्दोलन चर्काई शोषक करार दिई सफाया लिस्टमा पार्लान् र भोगेन दाइ र म फेरि फर्किनु पर्ला कि फेरि हाम्रो होङ्कोङ्मा ?
"न गाउँ ! न शहर !
मान्छे असन्तुष्टी प्राणी हो,
आकांक्षा अनेकौ हुन्छ
प्राप्ति सिमित ... तेहि भएर .....
म चै जहाँ पुग्छु तेही बाँच्छु
सडक भए सडक सही
वगर भए वगर सहि
शहर भए त्यो पनि सही ...."
मनुजी दिइहाल्छिन् ।
कविहरु कुरा फेर्न कति बाठा ।
"घरतिर जाँदा वनतिर मुख
वनतिर जाँदा घरतिर मुख
गाउँमा गयो सहरको याद
सहरमा गयो गाउँको याद"
सुब्बा साप पनि भन्छन् ,
" हो हो, बन्चरे जीवन" म थप्छु ।

३. सागर बस्नेतजीलाई

सागर बस्नेतजीलाई
-------------
मित्र सागर बस्नेतका स्ट्याटसहरु तिख्खर हुन्छन् , मलाई घत् लाग्दछ । लेख्न पनि कति सकेको हो! फेसबुकबाट मात्रै परिचित यी मित्र खै के काम गर्छन् कुन्नि, धेरै स्ट्याटस् लेख्दछन्, कहिले भूँइ गजल, कहिले लघुकथा, कहिले कविता, उनको लेखनमा शैली छ, स्पष्टता छ र दम छ ।


उनको सिफारिशमा आजकाल म लेनिन बन्जाडेलाई पढिरहेको छु, फ्रिमा उनको ब्लगमा मीठा कथाहरु पढेर आनन्द लिइरहेको छु।
'बस्नेत काजी' भनेर चर्चा गर्छौं हामी होङकोङे चाउचाउ साथीहरुबीच उनलाई । तीजको बखत जनजाति नेताहरुलाई बडो मज्जाले ठट्टाए यिनले, जुआरी हेर्न निक्कै रमाइलो भयो । तर्कमा बस्नेत काजीले नै जितेको हाम्रो बुझाइ रह्यो ।
अहिले बस्नेत काजीसँगै धेरै मानिसहरु कि अन्जु पन्तको पक्षमा उभिएका छन् कि उनको विरुध्दमा लागेका छन् । एक गीत रेकर्ड गराएर आउँदा दिनेश दाइले बेस्सरी सर्काएका थिए, " नयाँ केटी आएकी छे, अन्जु पन्त भन्ने यस्तो भयंकर गाउँछे" । अन्जु पन्तको फ्यान नै भने म होइन, ४-५ साल अघि "युनिसन" एल्बमको विमोचनमा भेटिएकी हुन् । उनका गीतहरु मलाई विशेष मन परेका छैनन् , गायनमा नेपालीपन म भेट्टाउँदिनँ ।
उनै बस्नेत काजीले पनि धारावाहिक रुपमा अन्जुलाई गालि गरिसकेपछि निर्क्यौलमा लेखे:
"उप्रान्त जात, लिंग, धर्म र सम्प्रदायको नाममा कुनै किसिमका बहस नगर्ने निर्णय गरियो....
कहिँ न कहिँ, कोहि न कोहि नेपालीहरुलाई लडाउन चाहन्छ यो घटनाक्रमले देखाउँछ हामीले संबेदनशीलता र संयमता अपनाउन जरुरि छ, बिशेष गरि हिन्दुहरुले... किनकि तिनीहरु चाहन्छन हाम्रो धैर्यताको बाँध टुटोस र ठुलो दुर्घटना होस्....
कुरानले साफसाफ भनेको छ, "यहुदीहरू ईस्लामका शत्रु हुन् यिनीहरुको संगत नगर्नु, धोका बाहेक केहि दिन जान्दैनन्" र अरुलाई त काफिर भन्छ कुरान | त्यस्तै बाइबलले पनि अरु धर्म प्रति असहिष्णु नै बनाउछ...
सहिष्णुता, धैर्यता, त्याग्ने र अपनाउने स्वतन्त्रता हिन्दुका बिशेषता हुन्, त्यै भएर पनि हिन्दुमाथि धेरै प्रहार भएको कुरालाई नकार्न मिल्दैन...."
बस्नेत काजीको स्ट्याटस् हेरिरहेको र हितचिन्तक मैले केही सुझाव नदिइरहन सकिनँ , आशा छ पक्ष र विपक्षमा भिडिरहेकाहरुलाई निम्न छलफलले केही मध्दत गर्ला ।
"सबैले आफ्नै डम्फू बजाउँछन् बस्नेत सर, हिन्दू धर्म पनि यसबाट अछुतो छैन, मैले उदाहरण पेश गरिरहनु पर्दैन होला । त्यसैले धर्ममा होइन इश्वरमा विश्वास गर्नुपर्दछ , बाटो होइन लक्ष्य महत्वपूर्ण हो ।
कुनै पनि धर्म अंगीकार गर्नासाथ हामी पूर्वग्राही बनिहाल्छौं, म आफूलाई अधर्मी ( कुनै एक धर्म नमान्ने, पापिष्ट होइन) तर आस्तिक बताउँदछु । हिन्दू धर्मको चश्मा फुकालेर अन्जु पन्तलाई स्टार नठानी एक इसाइ धर्म अभ्यास गर्न लागेकी युवतीको रुपमा हेर्ने हो भने, बिल्कुलै चित्त दुख्दैन । आफ्नो मनको दुविधालाई स्पष्ट राख्न सकेकोमा उनको साहसको कदर गर्नुपर्दछ । असल कलाकारले गीतको आत्मालाई पक्डेर गाउनुपर्दछ, घाँटीबाट मात्रै गाएर उनले २५-३० हजार केही मिनेटमै पाउँथिन् । जबर्जस्तिको गायकीको विरोध गर्दछु म, के रामेशलाई " ए संगीता" गाउन लाएर मानेनन् भने उनको विरोध गर्नु? नारायण गोपालले पनि त कैयौँ गीत ठुकराएका थिए नि । कलाकारको आफ्नो सुझबुझ र आदर्श हुन्छ, उनीहरुको सार्वजनिक ब्यक्तित्वसँगै ब्यक्तिगत जीवन र आदर्श पनि त हुन्छ । अन्जुले गीत नगाउनूलाई प्रपोगान्डा बनाएर गीतलाई चर्चामा ल्याउने खेल मात्रै देख्दैछु मैले त निर्माताहरुको, हेर्नुस् त अन्जुले गाउन नमानेको गीत भन्दै प्रचार गर्दैछन् ती!
सागर बस्नेत :
रबिन सर, तपाईका कुरा जायज छन्, म पनि मान्छु मेरो आफ्नो कुनै धर्म छैन तर आस्तिक हुँ, एउटा डाक्टरले म अरु धर्मका बिरामी उपचार गर्दिन भन्यो भने कस्तो लाग्छ, होला गीतलाई चर्चित बनाउन गरिएको जालसाझी पनि तर उनले भ्याउदिन, सक्दिन भनेको भए बहसै नहुने थियो, फलानो धर्म सम्बन्धि शब्द भएकाले गाउदिन भन्नु ठिक होईन भन्न खोजिएको मात्रै हो...
बहस गर्दिन भन्दाभन्दै यति लेख्नै कर लाग्यो.....
रबिन राई:
हो, अन्जु एक गायिका मात्रै हुन्, विचारक होइनन् । उनको सानो अभिब्यक्तिलाई कसरी बङ्ग्याउन सकिन्छ भन्ने उनले बुझिनन् । आखिर उमेर र अनुभव पनि त हामी भन्दा सानै होला । स्टार भइहाली भन्दैमा उनी सर्वज्ञाता त भइहाल्दिनन्, बिस्तारै सिक्दै जालिन् सबै कुरा, त्यसमाथि ब्यक्तिगत जीवनका समस्याले उनलाई गिजोलेको समय हो यो । मोहम्मद रफीले पनि त हिन्दू भजन मजाले गाएका छन् , त्यो परिपक्वता उनलाई समयले दिनेछ । तर यही घटनालाई उछालेर चर्चा कमाउँला, पैसा बनाउँला भन्ने प्रवृतिका धूर्तहरुदेखि सावधान बनेर तपाईँ जस्तो विवेकशील लेखकले असभ्य भाषाको प्रयोग नगर्दा नै बेस हुन्छ कि सर?
सागर बस्नेत:
सिक्ने र बुझ्ने क्रम जारि छ,.... अरुलाई हिलो छ्याप्दा छ्याप्दा आफै कत्ति हिलोमा लतपत भईयो भन्ने हेक्का नरहेको स्थिति हो, देशको उन्नतिका ठुला कुरा त गर्छम हामि तर धर्म र जातका तुच्छ कुरा पनि उत्तिकै गर्छौ, समाज र राष्ट्रका कुरा गर्नेले जात र धर्मको सिनो काँधमा नबोकेकै जाति......
धर्म, जात र समुदाय देश भाड्ने कुराहरु हुन् (यि सम्बन्धितहरुका सरोकारका बिषय हुन्, समग्रताका लागि हानिकारक छन्), यि बाट निरपेक्ष बस्ने निर्णय गरियो.....
कति ज्ञानी छन् यी बस्नेत काजी!
फेसबुक हाम्रो पर्सनल डायरी मात्रै नभएर हाम्रो अभौतिक समाज हो, केही लेख्दा वा कमेन्ट गर्दा त्यसका प्रभावहरु विचारेर लेख्दा राम्रो होला, किन कि लाइक् वा कमेन्ट नगर्नेहरुले पनि तपाईंलाई हेरिरहेकै हुन्छन् र यसमा डिस्लाइक् बटन छैन , हाम्रा लेखमा हाम्रा संजालमा रहेका साथी मध्ये कति प्रतिशतको लाइक् आएको हुन्छ, त्यो निश्चय नै विचारणीय छ 


२. सलुनका कुरा

सलुनका कुरा
--------------
कुरा १:
-------
'कतिमा पढ्छौ भाइ?'
'७ मा'
'डाँडाको स्कूलमा? घर कहाँ छ नि?'
'डाँडामा'
बेल्टारमा सभापतिको घरनेर एउटा घुम्ती पसल थियो , त्यसैमा कपाल काट्ने मधेसी नाउ किशोर उ ।
'स्कुल जानुपर्दैन त? बाउ कहाँ छ'
'कहिलेकाहिँ जान्छु स्कूल । बाउको बजारमा यस्तै दोकान छ ।'

उ मेरो कपाल काटिरहेको थियो, कपाल काट्दा प्रयोग गरिने देशी पाउडरको बलियो गन्धले पनि तौल्याबाट आउने पसिना र पुरानोपनको गन्ध दबाउन सकेको थिएन । धार उज्याइरहनु पर्ने पुरानो कैंची, छुरा ,ब्रस उनका हतियारको सरसफाइको बारे न उसलाई ज्ञान थियो, न कसैलाई सरोकार, छुराको टोपाज् ब्लेड भने ग्राहकपिच्छे फेर्नुपर्छ भन्ने सम्म ज्ञान थियो उसलाई ।
" महलो की रानी दुःख से बेगानी लग जाये ना धुप तुझे
उड उड जाऊ सबको बताऊँ धुप लगे है छाँ व मुझे
काँटों से हो जाए पांव ना घायल,
काँटों पे नाचूंगी बांधके मै पायल
घर नहीं है यह तो कुटिया हमारी है
यह तेरी कुटिया तो महलो से प्यारी है
क्या मौसम आया है ........
"
साधना सरगमसँग भारदहका उदितनारायण थोत्रो टेपरेकर्डरमा गाइरहेको हुन्थे । भारदह यहाँबाट टाढा छैन, तर उनको भाग्य कति टाढा छ यो किशोर र म भन्दा ।
कुनै समय भैँसी चराउँदै रेडियोमा रफीको गाना सुनेर साना उदित रेडियोमा गाउने सपना बुन्थे रे । भैंसीमा चढ्ने कोसिस मैले पनि गरेको हो बाल्यकालमा, द्वारखोलामा पानी खेल्न जाँदा दिलुकाकाको भैँसीमा चढ्न पटकपटक कोशिस गर्दा लडेर निक्कै सास्ती खेपेका थियौं अशोक दाइ र मैले सानोमा, समाउने ठाउँ नहुने र भैंसीको आङमा अडिन गाह्रो हुने । बाल उदितनारायण मज्जाले भैँसीको ढाडमा सुतेर रेडियो सुन्दै गाउँथे होलान् ।
" जानेवालों ज़रा मूड के देखो मुझे,
एक इंसान हूँ, मैं तुम्हारी तरह
जिसने सब को रचा अपने ही रूप से,
उसकी पहचान हूँ, मैं तुम्हारी तरह"

पञ्चायतकालमा सभापति रहेका जयमानसेर राईलाई सबैले सभापति भनेकाले उनको नाम नै सभापति रहेको थियो । सभापति बडाको घर छेवैमा रहेको यो काठको घुम्ती दोकान मेरो घर भन्दा टाढा छैन ।
"तपाईँ नबिनको दाइ होइन ?"
"हो, चिन्छौ मलाई ?"
सानैदेखि काठमाडौं बसेकोले केवल पुराना मानिससँग मेरो चिनजान थियो, उसले नचिनेको भन्दा चिनेकोमा म चकित थिएँ । हुन त त्यो घुम्ती दोकानको छेउको सिमेन्टीको धारासँग उसको भन्दा पुरानो मेरो परिचय छ । दुवै खुट्टाले झुन्डेर फलामको त्यो धाराको पाइपबाट पानी तान्न मैले उ जन्मिनु अघि नै सिकेको हुनेपर्छ । पाइपबाट मुश्किलले कहिलेकाहिँ पाइप गन्हाउने एक गाँस तातो पानी आउँदा कति मीठो लाग्थ्यो ।
उसले कपाल काटिसक्यो, मैले पारिश्रमिक दिएँ ।उसको निधारभरि पसिना छ, म पनि गर्मीले पसिनैसरि छु , घर गएर नुहाउनुपर्छ । बाल श्रम, बाल अधिकार गाउँमा बुझिने भाषा होइन होला ।
कुरा २:
-------
'कस्तो खालके काटिदिनू भाइ?'
'जस्तो तपाईंलाई मनपर्छ ' मेरो कपाल सम्बन्धि कुनै मापदण्ड छैन । होङ्कोङ्की यी दिदी चालीस केही वर्षकी होलिन् ।
'त्यस्तो भनेर कहाँ हुन्छ, रोजाइ तपाईंको पो त'
'होइन, कपालमा मेरो कुनै रोजाइ छैन, बुढो मान्छे हुँ म'
'ल, भाइलाई कसले बुढो भन्छ?'
म जान्दछु उनी कपाल काट्न भन्दा गफ गर्न जान्दछिन् , मलाई पनि गस्सिप् मनपर्छ ।
"जागिरभन्दा यस्तो आफ्नै बिज्नेस् खोल्नु राम्रो हो नि" म फुर्क्याइदिन्छु,
"हो तर मेरो बुडोको सपोर्ट छैन । उमेरको धेरै ग्याप छ हाम्रो , म त छुट्टिनु पो लागेको होउ'
एकछिनमा उनको फोन आउँछ, उनको हाउभाउले म अनुमान गर्न सक्छु, उनको प्रेमी हो फोन गर्ने ।
'भाइ ,क्यानडा जानलाई के गर्नुपर्छ?' कपाल काट्दै सोध्दछिन् ,
'खै, के के मा प्वाइन्ट राखेको हुन्छ रे, जस्तै कामको क्षेत्र , अनुभव, इत्यादि ' , मलाई पनि खासै थाह छैन ।
"त्यतातिर लाग्ने सोँच्दैछु"
" नयाँ विवाह गरेर?" म उनको भर्खरको संवाद सुनेको जनाउँछु,
"अँ, अब के गर्नु भाइ । अहिलेको बूढासँग गुजारा नहुने भो ।" क्यानडाको हिमालमा नयाँ जवान लोग्नेसँग हिउँ खेलेको कल्पनामा मस्त छिन् सायद ।
केही छिनमा उनकी छोरी सेलुनमा आउँछिन्, सेकेन्डरी स्कूलकी विद्यार्थी रहिछन् ।
"कपाल धोइदिऊँ भाई?"
"भो दिदी घरमै धुन्छु", म निस्किन्छु,
कपाल काटेर फर्किँदा, "के यस्तो काटेको, गरै गरा छ त कपाल त, कहाँ काटेको यस्तो?", रेनु प्रतिक्रिया दिन्छे मेरो केही गुनासो छैन । मृगतृष्णा नै त जीवन हो कि? यहाँ, यति, यसरीले नहुने , कहाँ ,कति, कसरीले सताइरहने ।
कुरा ३:
-----
रेनु र म काउलुन सिटी प्लाजा घुमिरहेका हुन्छौं, "१० मिनेट हेयर कट्, कपाल काट" उनी भन्छिन् । कपाल काट्ने बेला त खासै भएको छैन, तै पनि उनको जिध्दीले हामी सलुन भित्र छिर्छौं । त्यहाँ काम गर्ने चिना कारिन्दाले भन्छ,"कति जनाको कपाल काट्ने" ।
"एकजना"
"उसो भए एक जना बाहिर प्लिज्" उ भन्छ, रेनु बाहिर जान्छे, म खुच्चिङ् भन्ने भावले हेर्छु, मलाई यहाँ किन काट्नु कर गर्नुपर्‍यो त? मलाई त नेपाली दिदीको सलुनमै गस्सिप सुन्दै कपाल काट्न रमाइलो लाग्थ्यो त । अक्टोपस् कार्ड सुँघाइदिएपछि ६० डलर काटेर मेशिनले नम्बर दिँदोरहेछ । कुरुवा बेन्चीमा पनि नम्बर लेखिएको छ, क्रमबध्द भएर बस्नुपर्ने । पहिले त्यो चिना हजामले सीट राम्रोसँग केमिकलले सफा गरेपछि मात्रै कुर्सीमा बस्न बोलाउँदो रहेछ, उसको इशारापछि मात्रै बस्न जानुपर्ने । अगाडि चिटिक्क परेको फ्ल्याट स्क्रिनमा सि एन एन र स्टक एक्सचेन्जको जानकारी आइरहेको हेर्न सकिने । कपाल काट्ने मेशिन र कैँची पनि स्टेरिलाइज्ड गरेर निकालेर चिना हजामले फुर्तिसाथ ठ्याक्कै १० मिनेटमा मेरो कपाल काटेर भ्यायो ।
त्यो टि भी स्क्रिनमा जापानको सोफ्ट बैंक कम्पनीको सि इ ओ ले मानव जस्तै रोबोटको प्रदर्शनी गरिरहेको समाचार आइरहेको थियो ,दृश्य १ र दृश्य २ लाई संझिरहेको थिएँ , टिभीको समाचार र यो सलुनको घटनामा तादाम्यता मिलेको आभास भयो ।
"गज्जब रहेछ त, १० मिनेटमै चटक्कै पारिदियो", रेनु खुशी हुन्छे । कतै रोबोटहरु प्रक्षेपण गरिसकिएको त होइन ?




१ . पानी परेको दिनको कुरा

पानी परेको दिनको कुरा
-------
रात्रीको सिफ्ट सकाएर म बिहानै बस चढेर ८ बजेतिर नाथान रोडनेर ओर्लें, टाइफुनको सिग्नल नम्बर ३ लागिरहेको थियो । पानी एक्कासि जोडले पर्न लाग्यो, यो अप्रत्याशित वर्षाको लागि मेरो तैयारी थिएन र यो छिट्टै रोकिने संभावना पनि थिएन । त्यसैले ओत लाग्नुको कुनै अर्थै थिएन ।
म भिजेरै हिँड्न लागेँ, खासमा मलाई रुझेर हिंड्नु मनपर्छ , तर मानिसहरुले क्वार् क्वार्ती हेरेको मनपर्दैन , रुझेर हिँड्दा अरुहरु यसरी हेर्छन् कि म कुनै जघन्य अपराध गर्दैछु । हुन त उनीहरूको डाह दृष्टि पनि हुन सक्छ मेरो स्वच्छन्दतामा , मलाई भने एउटा छाता राख्न नसक्ने भनेर हेयदृष्टिले हेरे जस्तो लाग्छ ।
मैले अरुलाई रुझेर हिँडेको देखेँ भनेँ पक्कै डाहदृष्टिले हेर्छु होला र केही आनन्दले पनि हेर्छु होला, उसको स्वच्छन्दतामा म रमाउँछु पनि होला, चेतनारायण राईको स्वतन्त्रताको गीत जस्तै :
"तल र माथि गर्दै अविरल कवाज खेल
म तिम्रो स्वतन्त्रता देखि जंजीरबाट रमाउँछु
शिथिल मेरो जिन्दगीमा आफैंलाई नै जिउँदो पाउँछु
आकाशमा उड्ने चरी तिमी धेरै धेरै उड"

इटन होटलको अगाडिको जेब्रा क्रसको अगाडि , रातो बत्ती बल्यो । पानी दर्किरह्यो, म रुझिरहेँ । फिल्ममा पानी परेको सिन् मा वेदनायुक्त सिक्वेन्स क्या जम्छ, हगि? 'कुछ कुछ होता है' मा काजोल ' तुझे याद न मेरी आइ किसी से अब क्या कहना' जस्तो । सायद यस्तै सोँच्दैँ थिएँ । रुझेर भित्री वस्त्र पनि निथ्रुक्कै भइसकेको थियो । एउटा छाता मेरो टाउको माथि ओडाइयो , मैले हेरेँ, अफिस सुटमा एक चिनियाँ युवती मुस्काई । " थैंक् क्यु" मैले आभार प्रकट गरेँ, 'टिक् टिक् टिक्' , अड्की अड्की बज्ने ट्राफिक सिग्नलको आवाज नेत्रहीनहरुको लागि रातो बत्ती बलेको जनाउ दिँदै थियो ।
हरियो बत्ती बल्न निकै समय लाग्यो, मैले उनलाई भन्न सकिनँ 'मलाई रुझ्नै मनपर्छ, मलाई रुझ्नै देऊ' । 'अफिस हिँडेको ?' मैले सोधेँ ,
' हो, रोडपारी बैंक नजिक मेरो अफिस छ'
' ए, कुन कम्पनी हो नि?'
'म्यानुलाइफ इन्स्योरेन्स '
अब हरियो बत्तीको जनाउ दिँदै "टिक् टिक् टिक्" द्रुतगतिमा बज्यो, हामी बाटो काट्न लाग्यौं , एकै छातामुनि ओतिएर ।
' ए त्यो कम्पनी त हाम्रो कम्पनीको ग्राहक कम्पनी हो नि'
'हो र ?तिमी कुन कम्पनीमा के काम गर्छौ ?'
' म भेराइजन् टेलिकममा हो, टेलिकम इन्जिनियर हुँ, नाइट सिफ्ट सकेर आँउदै गरेको , हेर न पानीले'पानीदेखि दिक्क मानेको स्वाङ् पार्दै मैले उनको प्रश्न नपर्खी सरासर भनेँ ।
"तिम्रो अफिस यहीं नेर हो?" बैंक नजिक आएपछि उसलाई सोधेँ ,
"हो, तिम्रो घर?"
"यहीँ २,४ ब्लक् पर मात्रै हो" मैले भनेँ ।"लौ त, छुटौँ है, तिम्रो उपकारको लागि धेरै धन्यवाद । शुभ दिन ।"
"स्वागत छ, शुभदिन । पाई पाई ।"
म बाटो लागेँ फेरि रुझेरै, मेरो घर २,४ ब्लक पर नभई निक्कै परै थियो, म रुझेरै जान चाहन्थेँ । एक दिन एक क्षण भेटिएकि ती दयालु सुन्दरीको मुहार मैले भुलिसकेँ किन कि म मानिसको अनुहार याद गर्न सक्दिनँ सायद सानैदेखि चित्रकलामा कमजोर भएर होला । तर घटना
आज पनि याद छ । मैले छाता ओड्दा यसरी नै धेरै मानिस रुझेको देखेकोछु यो शहरमा , तर छाता अफर गर्ने हिम्मत राखेको छैन । किनभने यो शहर हो, शहरमा अनावश्यक उपकार वर्जित जस्तै छ । सहयोग गर्ने कुरा गर्दा कुविचार पो राखेको छ कि भनेर शंकास्पद दृष्टले हेरिने डर।
' चिनाहरु चिसा जात, दयामाया बिनाको' हामी नेपाली माझ भन्छौं । तर विश्वको राष्ट्रगानहरु मात्रै हेर्नुपर्छ सबैले आफूलाई संसारकै शूरवीर , दयावान, कर्मशील, ऊर्जाशील, कर्तब्यपरायण र आतिथ्यवान आदि आदि दाबी गरिरहेका हुन्छन् । मैले सुनेकोछु, हाम्रै नेपाली समुदायमा कन्स्ट्रक्सनको कामको दौरान नेपालमा बाउ बितेको खबर पाएर छोरोले रुँदै रुँदै ड्युटी गरेको छ, अर्जेन्ट् भोलि नेपाल जानुपर्ने त्यो साथीलाई उसको हिस्साको काम आफूलाई पर्छ भनेर "तिमी जाऊ न त चाँडो घर वा दुखको यो घडीमा आराम गर" भनेर आफ्नै साथीहरूले नभन्दा झन् कति चित्त कुँडियो होला उसको अनि कसरी भन्नू "चिना चिसो जात "।
त्यो पानी परेको दिन यो शहरमा यसरी बिना स्वार्थ त्यसरी सानै र अनावश्यक भए पनि सहयोग गर्ने अपरिचित युवतीलाई भेटेर मलाई विश्वास भयो, सबै मानिस यन्त्रमानव भैसकेका रहेनछन् ।

No comments: