"तपाईंको प्रारम्भिक जाँचपछिको नतिजालाई मध्य नजर गरेर मुटु रोग विशेषज्ञले तपाईंलाई ३ दिनपछि विस्तृत जाँचको निंति संपर्क गर्न भन्नु भएको छ।"
चेक अप गरेर आएको भोलिपल्ट नै याउ मा तेइ क्लिनिकबाट मलाई फोन आयो ।
मनमा चिसो पस्यो तर मलाई के भने ढुक्क थियो भने उसको विस्तृत जाँचको नतिजा नेपाली विशेषज्ञको झैं नै हुनेछ ।
म आफूलाई निरोगी र अक्षयी स्वस्थको धनी मान्थें । यो धारणा कसरी विकास भयो म भन्न सक्तिनँ । सायद पहाडी जिल्ला खोटाङ्गमा जन्मेर त्यहाँको उकाली ओरालीहरुलाई वर्षेनी जस्तो छिचोलेको भएर होला । नभए "शरिर आत्माको दास हो, बलियो आत्मबलले जस्तै कठीनतम् कार्य पनि शरिरले सफल गर्छ" भन्ने मेरो मस्तिष्कमा गडेको विश्वासले हुन सक्छ ।
रचिदा आज १७ महिनाकी भई । यो समयावधीमा उनको शारिरीक र मानसिक विकास ले हामी अचम्भित भएका छौं । उनले बिना सहारा हिंड्न थाल्दा हामी खुबै खुशी भएका थियौं । दिनहुँ पार्कमा लगेर उनलाई अभ्यास गराउँदथ्यौं । आफू हिंड्न सकेकोमा उनी आफै गौरवान्वित भए झैं देखिन्थी । आज उनी दौडिन थालेकी छिन् । अहिले उनी खेल्न वा कुद् भन्दा खाइरहेका वा झोला भिरेका अपरिचितहरुका पछि लागेर हैरान पार्दछे । उनको आशे बानी देखेर हामी हाँस्नु न रिसाउनू !
उनको आगमन हाम्रो निंति ब्यग्र प्रतीक्षीत थियो । पहिलो गर्भाधान आकस्मिक रुपमा विफल भएपछि, रेनु र म धेरै दुखी भएका थियौं । "ज्वाईं सा'प, सानो मन नगर्नूस्। सकुशल जन्मेको पो सन्तान हुन्छ त, अहिले त केवल रगतको डल्ला हो । हामी पनि त्यो मोडबाट गुज्रिसकेका हौं । रेनुलाई सम्हाल्नुहोस् ।"
भोगेन दाइले फोनमा त्यसरी संझाउँदा केही राहत मिलेको थियो मनलाई । आफू त बाबु भइयो तै, रेनुलाई कसरी संझाउन सक्नू भनेर म त्यसै आतिन्थें ।