उनको आगमन हाम्रो निंति ब्यग्र प्रतीक्षीत थियो । पहिलो गर्भाधान आकस्मिक रुपमा विफल भएपछि, रेनु र म धेरै दुखी भएका थियौं ।
"ज्वाईं सा'प, सानो मन नगर्नूस्। सकुशल जन्मेको पो सन्तान हुन्छ त, अहिले त केवल रगतको डल्ला हो । हामी पनि त्यो मोडबाट गुज्रिसकेका हौं । रेनुलाई सम्हाल्नुहोस् ।"
भोगेन दाइले फोनमा त्यसरी संझाउँदा केही राहत मिलेको थियो मनलाई । आफू त बाबु भइयो तै, रेनुलाई कसरी संझाउन सक्नू भनेर म त्यसै आतिन्थें ।
"कतै अल्पसंख्यक जनजातिको संख्या नियन्त्रित गर्ने चीन सरकारको षड्यन्त्र त होइन? नत्र किन नेपालीहरुका बच्चा यति विघ्न अल्ट्रा साउन्डमा असफल सावित हुन्छन् त?"
अधिराज दाइले त्यसो भन्दा मनमा चिसो लागेर प्राइभेट नर्सिङ होममा समेत जाँच गरेका थियौं। तर पहिलो जाँच आशाजनक देखाए पनि दोस्रो जाँचमा डाक्टरले अनुवंशीय दोष रहेको निर्क्यौल गर्यो । हामी संसारका सबै भन्दा दुखी र दुर्भागी आत्मा भयौं।
ती दिनहरु भयावह सपना जस्तै थिए, तर एक अर्का प्रतिको माया र आड भरोसाले हामीले ती उच्छ्वासमय दिनहरु छिचोलेका थियौं केवल सुखद भोलिको कल्पनाले । र, उनी त्यही सुखद भोलिको पदचाप लिएर आई, हाम्रो विश्वास मुताबिक । उनको आगमन त्यसैले ब्यग्र प्रतीक्षीत थियो ।
उनको आगमनको तैयारीमा रेनुले विशेष त्याग र समर्पण गरी । पैसा र पेशाको मोह नगरी ब्यक्तिगत र पेटमा रहेकी रचिदा को स्वास्थ्यलाई पूर्ण स्याहार गरी । उनको स्वानुशासन र समर्पणप्रति म नतमस्तक छु , उनी एक पूर्ण आमा र पूर्ण पत्नी हुन ।
रचिदा जन्मिंदाको रात अझै याद आउँछ, राति अस्पतालमा फोन गर्दा रेनुको मोबाइल स्वीच अफ थियो, भोलिपल्ट बिहान भेट्न भनेर कुमारी छ्यामा र म जाँदा उनी प्रसुति कक्षमा रहेको जानकारी वार्डको नर्सले दिइन् । मुटु जोडले धड्किरहेको थियो, त्यहाँ गएर इन्टरकममा सोध्दा बच्ची र आमा सकुशल रहेको र सी २ कक्षमा सार्ने तैयारी भइरहेको जानकारी पाएर हर्षित भएको थिएँ । केही क्षण पछि , सानी छोरीलाई च्यापेर ट्रलीमा सुतेकी रेनु गुड्दै ल्याइन । म हर्ष विभोर हुँदै ट्रली सी २ मा नघुसे सम्म पछ्याएँ । बेलुकी भेटघाट गर्ने समयमा आउनू भनेर नर्सले त्यहाँबाट पठाई । बेलुकी भेट गर्ने समयमा कुमारी छ्यामा र म फेरि अस्पताल दगुर्यौं । छोरी कोक्रोमा सुताइएकी थिइन्, म
फोटो र भिडियो खिच्नमा ब्यस्त भएँ । सेप्टेम्बर ५ तारीखको त्यो साँझ नै भेट गर्न रेनुकी फिलिपिनो साथी ले पनि आएकी थिइन् ।
"रविन र रेनु दुवैको मिश्रण रहेछ, रचिदाको रुप " उनले भनिन्, मलाई भने छोरी ज्यादा रेनु जस्तो देखिई ।
रेनुले आफ्नो प्रसुतिको अनुभव हामीलाई सुनाई । गर्भवती रहेकी कुमारी छ्यामाको सातो गयो होला । त्यही रात मध्यरात तिर नेपाल बाट आइपुग्ने सासुलाई लिन एयरपोर्ट दौडिएँ ।
फोटोहरु
No comments:
Post a Comment