रचिदा आज १७ महिनाकी भई । यो समयावधीमा उनको शारिरीक र मानसिक विकास ले हामी अचम्भित भएका छौं । उनले बिना सहारा हिंड्न थाल्दा हामी खुबै खुशी भएका थियौं । दिनहुँ पार्कमा लगेर उनलाई अभ्यास गराउँदथ्यौं । आफू हिंड्न सकेकोमा उनी आफै गौरवान्वित भए झैं देखिन्थी । आज उनी दौडिन थालेकी छिन् । अहिले उनी खेल्न वा कुद् भन्दा खाइरहेका वा झोला भिरेका अपरिचितहरुका पछि लागेर हैरान पार्दछे । उनको आशे बानी देखेर हामी हाँस्नु न रिसाउनू !
उनी संगीतप्रेमी छिन् , मैले निर्माण गरेका म्युजिक भिडियोहरु युटुब मा लगाइदिंदा उनले निर्निमेष हेरेकी थिइन् रे । सायद अतीतमा कतै सुनेका धुन झैं लागेको पो हो कि? आखिर मैले ती उनी केही ३, ४ महिनाकी छँदा निर्माण गरेका हुँ । खाना खाँदा पनि टि भीमा च्यानल नम्बर ५०० (स्थानीय
संगीत च्यानल) लगाइदिएमा दंग पर्दछे । स्टार प्लसमा हिन्दी सिरियलहरुका शीर्षक गीतहरु आउँदा पनि उनी बिछट्टै रमाउँदथी । चाइनिज, अंग्रेजी,नेपाली, हिन्दी, जे सुकै भाषाको गीत भए पनि उनलाई मतलब हुँदैन । त्यसैले नै संगीतलाई शाश्वत भाषा भनिएको होला । आजकल त उनी नाच्न
पनि थालेकी छे । जब उनी अलिकति घुँडा खुम्च्याएर हात हल्लाउँदै उनी नाच्न थाल्छे, मलाई मेरी बहिनी दिनाले त्यस्तै उमेरमा डाँडाको मावल घरमा तिहारको बेला नाचेको संझना हुन्छ । बच्चालाई पनि अनुशासनमा राख्न खोज्ने आफ्नो मूर्खता त्यसबेलाको आफ्नो सोंच प्रति ग्लानि हुन्छ । आज म
रचिदाका सबै चकचकी हाँसेर सहन सक्छु तर रेनु हैरान हुन्छे, किन कि उनको बिगार रेनुले नै सपार्नु पर्छ । म भने केवल हाँसिरहन्छु, बाल कौतुहलता देखेर ।
रचिदा क्रमश आत्मनिर्भर बन्दैछे, उनी खाना पनि आफै खान थालेकी छे। आधा भन्दा बढी खाना छरे पनि चम्चाले आफै खान सकेकीमा उनी गौरव गरेकी झैं लाग्दछे । पानीको बोतल बोकेर ठमठम हिंड्दै, पिउँदै, पोख्दै हिंड्छे। फोन समातेर फोनमा बोलेको नक्कल गर्दछे । सबै कुराको नक्कल उतार्दछे । अब केवल उनको बोली फुट्ने दिनको प्रतीक्षामा हामी छौं । लाग्छ त्यो दिन पनि दूर छैन ।
यसरी हरेक सन्तान दिनहुँ आत्मनिर्भर बनेर एक दिन गुँड छोडेर जाने दिन आउँदछ,यो संसारको त्यो रित संझिँदा मन गह्रुङ्गो हुन्छ । एक दिन आज हाम्रो पूर्ण आश्रयमा रहेकी रचिदा पनि आफ्नो उद्देश्य प्राप्तिका लागि हामी बाट दूर हुनेछिन् , आफ्नै दुनियाँ बसाउनेछिन् । उनको त्यो दुनियाँमा हाम्रो लागि कति र कस्तो स्थान होला जब हामी परनिर्भर हुनेछौं ।
No comments:
Post a Comment