Wednesday, May 7, 2008

एउटा मिश्रित् दिन!

"प्रिय रबिन,
तपाईंको योग्यता हाम्रो आवश्यकताको नजिक भएर पनि हाम्रो छनोटमा तपाईं पर्न नसक्नु भएको जानकारी गराउँदछौं ।" यस्तै आशय थियो ई-मेलको । दिक्क लागेर आयो, अन्तर्वार्ता राम्रो भएको थियो, रातारात जागेर प्रोजेक्ट तैयार गरी आफ्नो क्षमताको परीक्षा पनि दिएको थिएँ । केही दिन अगाडि मात्र जानकारी माग्दा म दोस्रो चरणको परीक्षाको लागि छनोट भएको अनौपचारीक जानकारी पाएको थिएँ । मैले नरमाइलो मान्दै श्रीमतीलाई जानकारी गराएँ, उनी पनि निराश भई किन कि यो प्रथम पटक होइन यसरी सफलताको नजिकबाट खालि हात फर्काइएको । अब सेक्युरिटी गार्ड बन्नुको विकल्प रहेन सायद!

धेरै भयो निष्फल प्रतीक्षामा समय बिताएको । यस्तै सोंच्दै थिएँ, दिनेश दाइको याद आयो, फोन गरें ,भेट्न बोलाउनु भयो । दिनेश दाइलाई भेटेर कामनाको लागि एउटा लेख तैयार गर्ने सोंच गरेर दिरेकलाई ईमेल लेखें।
"प्रिय साथी,
विदेशमा योग्यतानुसारको रोजगारी पाउन कति कठीन छ भन्ने तिमीलाई भन्नु परोइन । के म कामना प्रकाशन समूहको हंगकंग सम्वाददाता बन्न सक्छु ? तिम्रो विवाह र एल्बमको विमोचन कस्तो रह्यो?"
खाना तताएर खाएँ, दिरेक अनलाइन रहेछ ,
"म तिमीलाई नै इमेल लेख्दै थिएँ , तिमी कामना प्रकाशनलाई सदा आफ्नो संझ । म तिम्रो प्रेश पासको बन्दोबस्त गरिदिन्छु ।"
म उत्साहित् भएँ । मन बिस्तारै उघ्रिन लाग्यो ।

संघाई स्ट्रीटको घर नं १८७ पहिल्याउँदै गएँ ।
चौथो तलामा दिनेश दाइले मलाई स्वागत गर्नुभयो । हाम्रो प्रथम भेट थियो यो, तर मलाई पुरानो चिनारु भेटे झैं भयो । मैले वहाँलाई पुरानो संझनामा धकेलें, वहाँको ख्यातिको कुरा कोट्याएँ । केही क्षण हामीले संगीतको कुरा गर्यौं , केही समय कम्प्युटर प्रविधिको । मिडि इन्टरफेस किन्न जान वहाँले मलाई सामसुइपो जाने प्रस्ताव गर्नुभयो । हामी या मा ते बाट एम टि आर चढ्यौं । रेडियो नेपालको संगीत प्रतियोगिता, कुबेर राई,रामकृष्ण ढकाल, एम बराल, शिव रंजनी रागको कुरा गर्दा गर्दै हामी त सामसुइपो कटेर चेंग स्या वान पो पुगेछौं । सामसुइपो फर्केर वहाँले मलाई कम्प्युटर र सफ्टवेर खरीद पसल हरु देखाउनु भयो ।

फर्किंदा बाटोमा चर्चित गायक नागेन्द्र श्रेष्ठ भेटिनु भयो । दिनेशदाइले चिनाइदिनुभयो । मैले त नचिनेको होइन वहाँलाई । दिनेश दाइको कम्प्युटरमा मिडि इन्टरफेस जोडेर सिन्थेसाइजरसँग सेटिंग गर्दै थियौं। मेरी बुडीको फोन आयो, फर्किने बेला भयो भनेर । दिनेश दाइसँग विदा लिएर म फेरी स्ट्रीटतिर लागें।
मन मनै दंग परें, संगीतका मूर्धन्य प्रतिभा -दिनेश दाइ , रामकृष्ण ढकाल, एम बरालका गड फादर दिनेश दाइसँग भेट्न पाउनु म जस्तो संगीतप्रेमीको लागि त एउटा सपनाको कुरा हो । त्यसमाथि कुनै समयका नामी गायक नागेन्द्र श्रेष्ठ पनि भेटिनु, कुनै संगीतप्रेमीको लागि इर्ष्याको विषय पक्कै हो भने मेरो लागि गौरवको कुरा । मेरी श्रीमती निराश थिइ आज, मेरो नियतिको कारण आफू भएको मानिछे । मैले संझाएँ , हरेक ढोका बन्द गर्दा ईश्वरले अर्को ढोका खोलिदिन्छन् रे ।

No comments: